गाैराकाे धार्मिक, सांस्कृतिक र सामाजिक महत्व
डोटेली संस्कृतिको विशाल र विस्तृत फाँटमा यहाँको लोकजीवनले मनाउँदै आएका अनेकौं चाडपर्वले यहाँको लोकजीवनलाई खुसी, मनोरञ्जन, ज्ञान र आनन्द प्रदान गर्दै आएका छन् । कतिपय चाडपर्वहरू देशका अन्य भेगका लोकजीवनले मनाए झै डोटेली लोकजीवनले पनि मनाउँछन् भने कतिपय चाडपर्वहरू भने छुट्टै मौलिक र विशिष्ट प्रकृतिका रहेका छन् ।
यहाँका पृथक् र मौलिक चाडपर्वमध्ये ओल्के, पुसेपन्द्र, भुवो, गौरापर्व प्रमुख हुन् । यीमध्ये गौरापर्व सबैभन्दा महŒवपूर्ण र धार्मिक अनुष्ठानका रूपमा लिइन्छ । यस अनुष्ठानलाई मूलतः ब्राह्मण र क्षेत्री जातिका विवाहित महिला शुद्घ चोखो भई व्रत बसेर देवी गौरीको पूजाअर्चना गर्दछन् । त्यसो भए यो पर्व ब्राह्मण र क्षेत्री जातिका महिलाको मात्र हो कि भन्ने अर्थ पनि लाग्न सक्छ, जुन स्वाभाविक पनि हो तर उक्त जातिका महिलाले व्रत बसी पूजाअर्चना गरे पनि पर्वलाई उल्लासमय बनाउन सबै जातजातिका महिला, पुरुष, बालबालिका र युवायुवती सबैको उत्तिकै भूमिका पाइन्छ । यस पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ ।
गौरा व्रतका सम्बन्धमा श्रीमद् देवीभागवत्को छैटौं स्कन्धको सयौं अध्यायमा भनिएको छ- हैहेयीवंशका राजाले भागर्ववंशी ब्राह्मणहरूलाई दिएको दान फिर्ता माग्दछन् । आफूहरूले पाएको दान फिर्ता नगरेपछि राजा कुद्घ भई ब्राह्मणहरूलाई मार्न थाल्छन् । यस्तो अत्याचारबाट प्राण बचाउन भनी ब्राह्मणपत्नीहरू हिमालयको कन्दरामा गई लुक्छन् । त्यहाँ देवी गौरीको आराधना गर्छन् । यसरी लामो समयसम्म उपवास बसी विश्वासका साथ विधिविधानपूर्वक गरिएको पूजाअर्चनाबाट देवी प्रसन्न भई तिनीहरूमध्येबाट एकजनाको जंघाबाट पैदा हुने शक्तिले अत्याचारी राजाको नास गर्नेछ । तिम्रा सन्तान सुखी भइरहने छन् भन्ने वरदान दिन्छन् ।
व्रतको प्रभावबाट केही समयपछि अत्याचारी र पापी राजाको नास भई ब्राह्मण पत्नीहरू सुखशान्तिपूर्वक बस्दछन् । यसै पौराणिक कथाबाट प्रभावित डोटेली विवाहित नारीहरू विधिपूर्वक उपवास बसी देवी गौरीको पूजा अर्चना गर्दछन् । यस व्रतको प्रभावले अटल सौभाग्य र सन्तानहरू सुखी, दीर्घायु हुन्छन् भन्ने विश्वास रहिआएको पाइन्छ । पार्वतीले यसै व्रतको प्रभावबाट महादेव पति पाएको उल्लेख गरिएको छ । देवकीका सातवटा सन्तानलाई कंशले मारेपछि यही व्रतको प्रभावबाट भगवान् श्रीकृष्णले देवकीको गर्भबाट जन्म लिनुपरेको कुरा पनि व्रतराजमा उल्लेख गरिएको छ ।
भाद्र शुक्ल वा कहिले कृष्णपक्षको अमुक्तामरण सप्तमीका दिन व्रतालु महिलाहरू र कन्याहरू बाजागाजाका साथ खेतमा गई सामा, तील, बलु, काँस र कुशका बोटहरू उखेली रेशमी पछ्यौरीमा राख्दछन् । त्यसपछि फूलअक्षताले पूजा गरी डालोमा राखेर बाजागाजाका साथ गौरादेवीको मन्दिर वा गौराघरमा ल्याइन्छ । खेतबाट ल्याएको पाँच वनस्पतिबाट देवीको प्रतिमा बनाइन्छ । अरू प्रतिमालाई रेशमी वस्त्र, रुद्राक्षमाला, पुराना चाँदीका रुपैयाँको कम्पनी वा चवन्नी माला, गरगहना र फूलमाला पहिराई सुन्दर बनाइएको देवीको प्रतिमूर्तिलाई पूजा गरिन्छ ।
सप्तमीका दिन दूबोसहित दूबो धागो देवीको प्रतिमासँगै डालोमा राखेर पूजा गर्ने प्रचलन छ । अष्टमीका दिन कन्या केटीहरू खेतमा गई पछ्यौरामा पहिलेकै दिन जस्तै सञ्जा गौरा ल्याई एउटैमा मिसाउँछन् । ब्राह्मणद्वारा पञ्चायन देवताको पूजासहित देवी गौराको विधिवत् पूजा गरिन्छ । पूजाका क्रममा व्रतालु महिलाहरूले अठवाली गाउँदै अष्टाङ्ग पूजा गर्दछन् । पूजा गरेपछि पञ्च बिरुडा (भिजाएर उमारिएका गेडागुडी) लाई प्रसादका रूपमा वितरण गरिन्छ । बिरुडा पञ्चमीका दिन भिजाएर षष्ठीका दिन पँधेरा वा धारामा गई पखाल्ने र त्यसैबेला पधेराकी गौरा अर्थात् जलदेवीको पूजा गर्ने प्रचलन छ ।
गौरा विशुद्घ धार्मिक पर्वमात्र नभएर सामाजिक सद्भावसँग पनि जोडिएको छ । पर्वका अवसरमा चेलीबेटी र इष्टमित्रहरू गौरा हेर्न आउँछन् । आपसी भेटघाट सुखदुःखका कुरा हुन्छन् । अरू बेला एकअर्कासँग द्वेषभाव राख्ने मानिस पनि यस पर्वमा सहभागी भई हातमा हात जोडेर विभिन्न गीतगाथाहरू गाउँछन् र रमाइलोमा चार चाँद लगाउँछन् ।
पञ्चमीदेखि अष्टमीसम्म गरिने कर्महरू धार्मिक अनुष्ठानसँग सम्बन्धित हुन्छन् । गौरा व्रतको अनुष्ठान पनि अष्टमीसम्म नै मानिन्छ । त्यसपछि रमाइलो गर्न समाजको सल्लाहअनुसार दुई÷चार दिन गौरालाई राखिन्छ । यस अवधिमा व्रतालु नारीद्वारा देवीको सामान्य पूजा गर्ने सूर्यलाई अर्घ दिने र दिउँसो व्रतालु वा कन्या केटीहरूले कही महेश्वरलाई र कहीँ देवी गौरालाई पनि बाहिर आँगनमा ल्याई नचाइन्छ । पाका उमेरका पुरुषहरू खुला चौरमा एकत्रित भई चैत, धमारी, ढुस्को, भोलाउलो आदिको वाचन गर्दछन् । युवाहरू डेउडा खेलमा रमाउँछन् ।
केटाकेटीहरू र महिलाहरू पनि थरीथरीका खेल खेल्दै गीत गाउँछन् । सप्ताहव्यापी मनाइने यस पर्वका अवसरमा यहाँको लोकसाहित्यका धेरैजसो विधाहरूको प्रस्तुति हुन्छ । विभिन्न वीरवीरांगनाका गौरवगाथा, देवीदेवताका प्रार्थनामूलक गीतगाथा, रामायण कृष्णचरित्र र महाभारतमा आधारित आख्यानलाई मौलिकता दिई वाचन गरिन्छन् ।
चैत, धमारी, ढुस्को, भोलाउलो, सञ्जेवाली र गौराका चरित्रमा आधारित गीत गाथाहरूका साथै लोकप्रिय डेउडा गीतका विभिन्न भाका घन्काउँदै श्रोता दर्शकलाई आनन्द र मनोरञ्जन दिने वातावरण सिर्जना गरेका हुन्छन् । आफ्नो जातीय इतिहास वीरपुर्खाहरूको स्मरण र धार्मिक तथा नैतिक भावनाको विकासमा टेवा पुर्याउने यी गीतगाथाहरूले समाजमा मनोरञ्जन र ज्ञान दिँदै आएका छन् ।
युवायुवतीहरू भिन्नाभिन्नै समूहमा कुममा कुम जोडेर एकअर्काको पाखुरो समातेर डेउडाका विभिन्न भाकाहरू सुसेल्दै सवालजवाफपूर्ण गीतमा रात बिताउँछन् । दर्शक श्रोता खेलको घेराभित्र र बाहिर बसेर ध्यानपूर्वक डेउडा सुन्छन् । कुन गिदारुले उपयुक्त र चोटिलो उत्तर दिन सके तिनको प्रशंसा गरिन्छ । सप्ताहभरि पर्वमा समर्पित लोकजीवन निद्राभोक नभनी पर्वलाई उल्लासमय बनाउन व्यस्त देखिन्छन् ।
गौरा विशुद्घ धार्मिक पर्वमात्र नभएर सामाजिक सद्भावसँग पनि जोडिएको छ । पर्वका अवसरमा चेलीबेटी र इष्टमित्रहरू गौरा हेर्न आउँछन् । आपसी भेटघाट सुखदुःखका कुरा हुन्छन् । अरू बेला एकअर्कासँग द्वेषभाव राख्ने मानिस पनि यस पर्वमा सहभागी भई हातमा हात जोडेर विभिन्न गीतगाथाहरू गाउँछन् ।
असार, साउन महिनामा खेतीपातीको कामको चटारोबाट मुक्त भएको समाज मानसिक र शारीरिक थकानलाई समेत वि श्राम दिएर शरीर र मनलाई पुनर्ताजगी दिन्छन् । नयाँनयाँ लुगा लगाई चिटिक्क पर्ने पुरुषवर्ग र गरगहनामा सजिएर धपक्क बलेकी महिलालाई देखेर डोटेली संस्कृतिको वर्तमान अवस्थासमेत हेर्न पाइन्छ ।
लोकजीवनले धार्मिक पर्व हो भनेर सात्विक भोजन गर्दछन् । मनोवैज्ञानिक दृष्टिले समेत पर्वको महत्व रहिआएको छ । गौरा पर्वको आगमनसँगै आफन्तसँग भेटघाट हुने, हाँसोठट्टा गरिने जस्ता विषयले मन प्रफुल्ल भई सकारात्मक प्रभाव पार्दछ । सामूहिक पर्व भएकोले यस बेला धनी, गरिब, उँच, निच र जातीय भेदभावमुक्त समाजको चित्र देखिन्छ । सबै जातजातिका मानिसहरू खेलमा समान रूपमा सहभागी हुन्छन् ।
जातीय भेदभाव भएको यस समाजमा यस प्रकारका गतिविधिमा सहभागी हुनु, सबैलाई समान व्यवहार गर्नुले परस्पर सद्भाव र एकताको सन्देश दिएको पाइन्छ । यस्तो महत्वपूर्ण पर्व भएकोले नै लोकजीवनले गौरा विसर्जन गर्दाको अवसरमा गमराको चैतका नामले परिचित लोककाव्यमा भनिएको छ- ‘हे गौरा देवी ! तिमी जे दाइजो माग्छौं हामी दिन्छौं ।’ बर्सेनि यिनै पक्ष र महिनामा आउँदै गर्नू भन्ने आशय बोकेको चैतद्वारा भनिन्छ– ‘ए, फिरी माइत आइजाया गमरा माताऊ ।’