'बुहारी' नायिका
'नारी पुरुष समान हुन्', अहिले पनि नारा बनिरहेकै छ । व्यवहारमा पूर्ण लागू भएको छैन । अझै प्रतिशतमा चित्त बुझाउनुपर्ने अवस्था नारीको छ । हरेक क्षेत्रमा आवश्यकताअनुसार योग्य र विज्ञ नारीको उपलब्धता नभएको भोगाइ छ । यसो हुनुमा 'छोरीचेली घरबाहिर निस्कन हुँदैन' भन्ने पुरानो मान्यता कहीँ न कतै कारक तत्त्व होइन भन्ने आधार पाइँदैन ।
अहिले पनि हरेक क्षेत्रमा अवसरका लागि घरबाहिर निस्कन छोरालाई जति सजिलो छोरीलाई छैन । सामाजिक, शारीरिक, मानसिक कारणले पनि छोरासरह छोरीहरू संघर्षमा निस्कने संख्यात्मक घटना कमै छन् । पछिल्लो समय हरेक क्षेत्रमा उदाउँदै गरेका महिलाहरू कलाकारितामा एकपछि अर्को थपिएका देखिनु सामान्य हो । कलाकारिता गर्न त्यति सजिलो भने नभएको अनुभव कलाकारितामै लागेका छोरीहरूको स्वीकारोक्ति हो ।
छोरीहरूलाई नै गाह्रोगाह्रो पर्ने समाजमा एउटी बुहारीलाई झन् कति अप्ठ्यारो पर्ला ? यस्तै अप्ठ्यारो यात्रामा छिन्, नायिका पूजा रिजाल । 'राजधानीमा भएको भए पनि केही सजिलो हुन्थ्यो कि !', नायिका पूजाले भनिन्, 'म त दाङमा बसेर मूलधारको कलाकारिता गर्दैछु, कठिन त हुने नै भयो ।'
पूजा कलाकारिता गर्न निस्केकी बुहारी हुन् । 'बुहारी' भएका कारण उनलाई थप कठिन छ । मोफसलमा बसेर गर्न झन् गाह्रो । 'सानो सानो विषय पनि ठूलो हुन्छ, गाउँघरमा', उनले भनिन्, 'म त घर गरेर खाइरहेकी बुहारी, हिरोनी बन्न निस्केपछि नानाथरी टेन्सन त हुने नै भए ।'
तमाम समस्या झेलेर पनि किन बन्न चाहिन् त पूजा कलाकार ?
२७ वर्षअघि भारतको चेन्नईमा जन्मिएकी पूजाले त्यहीँको रजनीकान्त मेमोरियल कलेजबाट इन्टरसम्म पढिन् । बुबा छविराम गौतम चेन्नईमा कलाकारिता गर्थे । बुबासँगै पूजाले सानैमा भारतीय चर्चित कलाकार रजनीकान्तसँग भेटेकी थिइन् । रजनीकान्तले 'नानी तिमी राम्रो कलाकार बन्न सक्छौ' भनेका रहेछन् । उनी नेपाल आएको १०–११ वर्ष भयो । दाङ घोराई रजेनाका मानदेव रिजालसँग उनी विवाहबन्धनमा बाँधिइन् । 'मभित्रको कलाकारिता दमित थियो । गाउँमै फिल्म खेल्ने अफर आयो', पूजाले भनिन्, 'मैले मौका चुकाउन चाहिनँ ।'
'जीवनमा पहिलोपटक म 'उहिले बाजेको पालामा' चलचित्रको लिड रोलमा उभिएँ', पूजाले भनिन्, 'त्यहाँसम्म पुग्नभन्दा मलाई घरबाटै निस्कन गाह्रो थियो, छोरी भए केही सहज हुन्थ्यो होला, म बुहारी थिएँ ।' उनी बिहान सुटिङका लागि निस्कँदा १० वर्षकी छोरी समीक्षालाई स्कुलको तयारी गराएर निस्कन्थिन्, साँझ घरमा खाना पकाउन आइपुग्थिन् ।
'क्यामेरापछाडि आफू रोए पनि क्यामेराअगाडि हाँस्नुपथ्र्यो', पूजाले अनुभव सुनाइन्, 'म बुहारी हुँ भन्ने मैले बिर्सन हुँदैन थियो, घरका मानिसको मन जित्नु थियो, मैले रातसाँझ गरेर पनि घरकालाई समय दिएँ ।' एकातिर घरका मानिसको मन जित्नुपर्ने अर्कातिर दाङमा बसेर राजधानीको कलाकारितासँग प्रतिस्पर्धा गर्नु पूजाका लागि चानचुने विषय थिएन । 'च्यारिटीमा मलाई गरेको सम्मान घरपरिवारले देखेपछि भने परिवारको सहयोग पाएकी छु', पूजाले भनिन्, 'परिवार र समाजका लागि भए पनि म ग्ल्यामरस भने बन्न सक्दिनँ ।'
उहिले बाजेको पालामा निर्वाह गरेको एकल नारीको भूमिकाले उनलाई धेरैको आँखामा स्थापित गरिदियो । त्यसपछि उनलाई तमाम अफर आए, कतिपय गर्न सकिनन् । 'रंगेली' सर्ट मुभी गरिन्, छोरीलाई गर्भपतन गराउन हुँदैन भन्ने सन्देश बोकेको 'किन' भन्ने मुभी गरिन् ।
उनले अहिले सौगात मल्ल र गणेश बेलवासे 'प्रेम रक्षक'मा मुख्य भूमिका निर्वाह गरेकी छन् । एक वर्षमै उनी दाङकी पूजाबाट चलचित्रकी पूजा भनेर चिनिएकी छन् । यति बेला उनी दीपेश पाण्डेको 'भावना' र गणेश गिरीको 'पञ्चायत' चलचित्रका लागि अनुबन्धित भएकी छन् । नायिका पूजाले भनिन्, 'भित्रैदेखि म यो सक्छु र गर्छु भन्ने छ भने तगाराहरू पन्छिँदै जाँदा रहेछन् ।'