सेल्फीले आकाशियो मोबाइल व्यापार
काठमाडौं: सेल्फी खिच्ने र सामाजिक सञ्जालमा अपलोड गर्ने बढ्दो प्रचलनले मोबाइलको व्यापारमा बढेको छ । सामाजिक सञ्जालमा अरुले राखेको सेल्फी फोटो देखेर आकर्षित हुने बढ्दो क्रमले मोबाइल व्यापारमा पनि राम्रो प्रभाव परेको स्टार्क ट्रेडिङ प्रालिका मोबाइल डिभिजन म्यानेजर कुमारप्रसाद घिमिरेले बताउँछन् ।
स्टार्क ट्रेडिङ प्रालिले नेपालमा अमेरिकी ब्रान्ड ओबी वल्र्डफोनको बिक्री गर्दै आएको छ । उनका अनुसार सेल्फीको बढ्दो प्रचलनसँगै मोबाइलको बजारमा ३० प्रतिशतसम्म वृद्धि भएको छ । मोबाइलमा विशेषगरी स्मार्टफोनको बजार राम्रो भएको उनी बताउँछन् ।
सेल्फीको आकर्षणले बारफोन प्रयोगबाट स्मार्टफोन प्रयोग गर्नेको संख्या बढेको छ । यसको फलस्वरुप मोबाइल बजारमा हुने आर्थिक कारोबार पनि झन्डै पाँच करोड हाराहारीमा बढ्न गएको इभोलुसन इन्टरनेसनल प्रालिका प्रबन्धक निर्देशक विशाल आचार्यले बताए । इभोलुसन इन्टरनेसनल प्रालिले नेपालमा 'जेटीई' ब्रान्डको स्मार्टफोन व्यापार गर्दै आएको छ ।
उनका अनुसार १५ सयदेखि पाँच हजारको बारफोनबाट ६ हजारदेखि माथिको साधारण स्मार्टफोनमा मानिस परिर्वतन हुँदा मोबाइल बजारमा कारोबारको हिसाब ठूलो देखिएको हो । आम्दानीको अनुपातमा मोबाइल बिक्री भने नबढेको उनी बताउँछन् । आचार्यका अनुसार सेल्फीका लागि स्मार्टफोन जरुरी भएकाले मानिस स्मार्टफोनमा परिर्वतन भएका छन् । तर, स्मार्टफोन व्यापार बढ्नुको कारण सेल्फीमात्र नभएर सामाजिक सञ्जालप्रति मानिसको आकर्षण पनि भएको उनको ठम्याइ छ ।
सेल्फीले मोबाइल व्यापारमा ल्याएको सकारात्मक प्रभावले मोबाइल निर्माता कम्पनीलाई पनि आफ्नो स्मार्टफोनको सेल्फी क्यामेरामा ध्यान दिनुपर्नेस्थिति सिर्जना गरिदिएको छ । पछिल्लो पाँच वर्षको अन्तरालमा त्यसको प्रभाव मोबाइल कम्पनीले उत्पादन गरको स्मार्टफोनमा पनि देखिन थालेको छ । सामसुङको एस फोरसम्म प्रयोग गरिएको सेल्फी क्यामेरा खासै राम्रो थिएन ।
तर, कम्पनीले एस फाइभमा आउँदा सेल्फी क्यामेरालाई प्राथामिकता दिएर निमार्ण गरेर बजारमा आएको सन मोबाइल कोटेश्वरका सञ्चालक सुरेश बाँनियाले बताएका छन् । उनका अनुसार सेल्फीका लागि ग्राहक स्मार्टफोनमा परिर्वतन हुँदा आम्दानीको हिसाबले व्यापार फस्टाएको छ । नम्बरको हिसाबले पनि स्मार्टफोनको बिक्री बढ्दो क्रममा छ ।
सेल्फीले मोबाइल व्यापारमा ल्याएको सकारात्मक प्रभावले मोबाइल निर्माता कम्पनीलाई पनि आफ्नो स्मार्टफोनको सेल्फी क्यामेरामा ध्यान दिनुपर्नेस्थिति सिर्जना गरिदिएको छ ।
बजारमा उपलब्ध सबै कम्पनीले पछिल्लो समयमा आफ्नो स्मार्टफोनको सेल्फी क्यामरालाई प्राथामिकता लिएका छन् । 'बजारमा कतिपय कम्पनिले 'सेल्फी' फोन नाम दिएर पनि स्मार्टफोन ल्याएका छन् । यसरी सेल्फी नाम दिएर बजारमा स्मार्टफोन ल्याउनु पनि सेल्फीले पारेको प्रभाव हो', स्टार्क ट्रेडिङ प्रालिका मोबाइल डिभिजन म्यानेजर घिमिरेले बताए ।
'स्मार्टफोनको व्यापार यसरी बढिरहँदा अहिले बारफोनको बिक्री झन्डै ४० प्रतिशतले घटेको छ । मान्छे दुई हजारमा बारफोन किन्नुभन्दा पाँच हजार हालेर स्मार्टफोन किन्न रुचाउँछन्', सन् मोबाइलका बाँनियाले भने । मोबाइल किन्न आउँदा ग्राहकले पनि स्मार्टफोनको अन्य फिचरका साथै सेल्फी क्यामेरालाई प्राथामिकता दिएर नियालेका हुन्छन् ।
पछिल्लो समय प्रत्येक ग्राहकले पसलमा आएर मोबाइल फोन लिएपछि सुरुमा सेल्फी क्यामरा खोलेर फोटो खिच्ने गरेका छन् ।
विश्व पनि सेल्फीको क्रेज ठूलो छ । एन्ड्रोएड सम्बन्धी रिसर्चर गर्ने कम्पनी 'प्यानड्रोइड'ले सन २०१६ फेब्ररीमा जारी गरेको रिपोर्टअनुसार विश्वमा औसतमा दैनिक तीन करोड ९० लाख सेल्फी लिने गरिएको छ । यसमा पनि ३० प्रतिशत सेल्फी १८ देखि २४ वर्ष उमेरसम्मका मानिसले लिने गरेको डिजिटल ट्रेन्डले उल्लेख गरेको छ । अहिलेसम्म सेल्फी खिच्ने क्रममा मर्ने मानिसको संख्या पनि विश्वमा ४९ पुगिसेकेको छ । गुगलको तथ्यांकअनुसार सन् २०१५ मा २४ सय करोड सेल्फी फोटो गुगलमा अपलोड गरिएको थियो ।
यसरी सेल्फीप्रति ग्राहकको बढ्दो चासोले बजारमा पनि शक्तिशाली सेल्फी क्यामेराका लागि स्मार्टफोनको प्रतिस्पर्धानै चलेको छ । विश्व स्मार्टफोनको बजारमा १३ देखि १८ मेगापिक्सेलका सेल्फी क्यामेरा भएका स्मार्टफोन आइसकेको छ । तर, नेपालमा चलेका ब्रान्ड सबैले ८ मेगापिक्सेलसम्मको सेल्फी क्यामेरा भित्र्याएका छन् । र, आउने क्रम पनि जारी छ ।
मेगापिक्सेललाई मात्र नभएर क्यामरालाई उत्कृष्ट बनाउन त्यसको जुमिङ सिस्टम, अपाचर, फोकस सिस्टममा पनि परिर्वतन आएको छ । भने सेल्फीका लागि अगाडिसमेत फ्ल्यास राख्ने क्रम अनिवार्य जस्तै भएको छ ।