आठ महिनामा के हुन्छ ?

आठ महिनामा के हुन्छ ?

'मैले विगतमा राम्रा मात्रै हैन, थुप्रै गल्तीसम्म गर्न पुगेँ, त्यसको मूल्य देशले समेत चुकाउन पुग्यो', गणतन्त्रपछि दोस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहालका भनाइ हुन् यी । देशका शीर्ष नेताले आफ्नो गल्ती स्विकारेर सार्वजनिक रूपमै आफूलाई प्रस्तुत गर्नु नेतृत्वका उच्चस्तरका गुणहरूमध्ये मानिन्छ ।

अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनले आफू राष्ट्रपति भएपछि सार्वजनिक रूपमा देखिँदा अमेरिकन जनताले प्रश्न राखेका थिए, 'लिंकन, तिमी झूटा रहेछौ, तिमीले चुनावअगाडि राखेका कुरा र वाचा पूरा गरेनौ ।' यसरी सोध्दा लिंकनले सार्वजनिक रूपमै माफी माग्दै भनेका थिए, 'चुनावको बेला मैले भनेका वाचा र कबोलहरू राष्ट्रपति भएपछि पूरा गर्न खोजेँ । त्यहाँ पुगेपछि त मैले मात्रै गर्न नसक्ने रहेछु । म फेरि तपाईंहरूसँग माफी माग्दै अब यस्ता वाचा र कबोल गर्दा तपाईंहरूसँग बसेर तपाईंहरूकै सल्लाह र भावनाअनुरूप अमेरिकाको समग्र विकासमा नेतृत्व लिई अगाडि बढ्नेछु ।'

प्रधानमन्त्री दाहालले पनि विगतका गल्ती स्विकारेर अब भविष्यमा गल्ती नगर्ने र नेपाली जनताको चाहना र भावनाअनुसार काम गर्छु भनेर माफी माग्नुपर्छ । विगत दस वर्षको जनआन्दोलनमा दाहालका सहपाठी हिसिला यमीको एक लेखमा ढुलमुले राजनीतिले दाहाल नेपाललाई अस्थिरतामा राखिराख्न चाहने विदेशी शक्तिको प्यारो गोटी मात्र हुन खोजेको उल्लेख गरेकी छन् । यो कुरा सत्य हो भने उनले नेपाललाई कहाँ पुर्‌याउलान् ?

प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेकै दिनको गतिविधि हेर्दा विगतका गल्ती स्विकारेको जस्तो देखिएन । पहिलो शपथ ग्रहणमै आराध्यदेव पशुपतिनाथको देशका प्रधानमन्त्रीले ईश्वरको नामै लिएनन् । दोस्रो संसारका कुनै कुनामा दौरा, सुरुवाल, कोट र टोपी लगाएर जोकोही मानिस उभियो पनि त्यो नेपाली नै हुनेछ । त्यसैले दाहालले आफ्नो चिनारी मानिएको मौलिक पोसाक दौरासुरुवाल शपथ ग्रहण कार्यक्रममा लगाएको भए त्यसले उच्च प्राथमिकता पाउँथ्यो ।

प्रधानमन्त्री भएलगत्तै दाहाल सहिदको सम्झनामा लैनचौर, कीर्तिपुर जानुका साथै सहिद गेट जानुपर्ने थियो र गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज नेपालका सहिदको सम्मान गर्नुपथ्र्यो ।

नयाँ सरकारको आयु आठ महिना मात्र छ । यस सरकारले यति समयमा के काम गर्ला र ? आठ महिनामा बच्चा पनि जन्मिदैन ।

दाहाल पहिलोपटक प्रधानमन्त्री भएका बखत पशुपतिनाथका मूल पूजारी परिवर्तन प्रकरण उत्कर्षमा पुगेको थियो, जसलाई त्यतिबेलाका अधिकांश नेपाली जनताले गलत भनेका थिए । यसै घटनाले पशुपतिनाथको नित्य पूजा एक हप्तासम्म हुन सकेन । यसको क्षमास्वरूप प्रधानमन्त्री दाहालले पशुपतिनाथको पूजा गरेका भए त्यसले उनलाई भलाइ गथ्र्यो ।

अझ शपथ ग्रहण गरेको दिन साउन महिना परेकाले पशुपतिनाथको दर्शन गर्न गएको भए कति राम्रो हुनेथ्यो ? दाहालका कमजोरीबारे औँल्याउँदै भारतीय पूर्व राजदूतले आफ्ना एक आलेखमा भनेका थिए, दाहाल सन् २००८÷०९ तिरका जस्ता छैनन्, धेरै सुध्रिसकेका छन् । उनले भनेका कुर अहिले पत्याउन गाह्रो परे पनि भविष्यमा पत्याउन पाइयोस् । अब नेपाललाई कुन दिशा दिने भन्ने स्पष्ट सोच दाहाल नेतृत्वले गर्नेछ ।

०६२/६३ को आन्दोलनपछि नेपालको राजनीति परिवर्तन भयो । मुलुक गणतन्त्रमा प्रवेश गरेपछि मुलुकमा बाह्य हस्तक्षेप बढ्यो । प्रजातान्त्रिक मूल्य र मान्यताअनुरूपभन्दा जबर्जस्ती रूपमा अवसरवादको जालझेल सुरु भयो । यसलाई प्रमुख राजनीतिक दलका शीर्षस्थ नेतृत्वहरू नै भित्र्याएका थिए । संविधानसभामार्फत मुलुकका तमाम समस्या किनारा लगाउने भनियो । पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन, अन्ततः विघटन हुन पुग्यो ।

तत्कालीन बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अवैधानिक तवरले कार्यकारिणी प्रमुख बनाइयो र उनकै नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचन भयो । यसै संविधानसभाले संविधान जारी त गर्‌यो, तर मुलुकले ठूलो क्षति व्यहोर्नुपर्‌यो । जबर्जस्ती प्रक्रियाबाटै २०७२ को संविधान ल्याइयो, तर कार्यान्वयन गर्न–गराउन फलामको चिउरासरह भइरहेको छ ।

संघीयता, धर्म निरप्रेक्षता र गणतन्त्रका कुरा प्रजातान्त्रिक मूल्य र मान्यताअनुरूप नभएकाले नै नयाँ संविधान आएपछि बनेको सरकारभित्रैका दल र जिम्मेवार मन्त्रीहरूबाटै विरोध र धर्ना भइरहेका थिए । अहिलेको रूपान्तरित संसद्को चौथो ठूलो दल र अन्य दलका सांसद्हरूबाट पनि यसमा विरोधका कार्यक्रम भइरहेका छन् ।

संघीयताको बारेमा त निवर्तमान प्रधानमन्त्री तथा एमालेका पार्टी सभापतिले नै नेपालमा संघीयता बोकाको टाउकोमा भैंसीको सिङ हुने भयो भनिसकेका छन । नेपाली कांग्रेसका सांसदमध्येका एक राजनीतिक खेलाडी मानिएकाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममै भारतको विहार राज्यको उदाहरण दिँदै नेपालमा संघीयता हुँदै हुन्न भन्दै विगतको गल्ती स्विकारिसकेका छन् ।

कांग्रेस र माओवादी एकता केन्द्रको मिलिजुली नौ–नौमहिने सरकार पनि जबर्जस्ती बनेको देखिन्छ । यो सरकारले रूपान्तरित संसद्लाई बन्धक बनाएको छ । कहाँ छ सांसद्को भूमिका सरकारलाई नियन्त्रण गर्ने ? ठूला पार्टी मिलेर जे गरे पनि हुने भएपछि किन चाहियो सांसद् ? यी प्रश्नको उत्तर अब नेपाली जनताले नयाँ सरकारबाट खोज्नेछन् ।

नयाँ नेतृत्वको सरकारले नेपालको बाह्य सम्बन्ध विशेषगरी छिमेकीहरूसँगको सम्बन्ध स्पष्ट पार्न प्रधानमन्त्रीका विशेष दूतको रूपमा दुवै उपप्रधानमन्त्रीहरूलाई पठाइनु सकारात्मक र सराहनीय कदम मानिन्छ । अहिले देखिएको मुख्य चुनौतीमध्ये विनाशकारी भूकम्पपछिको पुनर्निर्माण, मधेसको सवाल र आर्थिक विकृतिको सुधार नै हो ।

तर यसभन्दा पनि जटिल समस्या त नयाँ संविधान कार्यान्वयन नै हो । संविधानको गर्भबाटै मधेस समस्या उत्पत्ति भयो र कैयन् अन्य समस्याको पनि वीजारोपण भइसकेको छ । यसको मूल कारण माथि उल्लेख भएबमोजिम अग्रगामी राजनीतिक निर्णयहरू प्रचलित प्रजातान्त्रिक मूल्य र मान्यताअनुरूप नभई जबर्जस्ती प्रक्रियाबाट भएरै हो भन्नेमा अब कुनै शंका रहेन । अबको सरकारले के तल उल्लेख भएका कुराहरूलाई साहसिक ढंगबाट नेपालको समग्र विकासको लागि अगाडि बढाउन सक्ला ?

१. रूपान्तरित संसद्भित्रै र बाहिर पनि संविधानमा उल्लेख भएका मुख्य बुँदा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको विषयमा विरोध र धर्ना भइरहेका छन् । अब सर्वपक्षीय सहमति वा प्रचलित प्रजातान्त्रिक मूल्य र मान्यताअनुरूप जनतालाई निर्णय गर्न दिने कदम चाली संविधान संशोधन गर्ने विधिअघि सारिन्छ कि सारिन्न ?

२. २०७२ को संविधानले कहिल्यै पनि बहुमतको सरकार बन्ने सम्भावना नदेखिएबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रमुख र तल्लो सदनमा प्रत्यक्ष निर्वाचित सदस्य र माथिल्लो सदनमा समावेशीको सिद्धान्तअनुरूपको सदस्यको लागि संविधान संशोधन गर्नेतर्फ अगाडि बढ्छ कि बढ्दैन ?

३. विभिन्न संघसंस्थाका ट्रेड युनियनहरू नेपालको समानान्तर सरकारजस्तो देखिएको छ र हुलदंगा, हडताल, तोडफोडजस्ता कार्यविधिले सरकारलाई निरीह पारेको कैयन् उहाहरण छन् । केही पहिला राष्ट्रसेवक भनिएका कर्मचारीहरूले नै सिंहदरबारभित्रै आफ्नै कार्यालय तोडफोड गरेको पनि सुनियो । के अब नयाँ नेतृत्वले यस्ता विकृति निर्मूल पार्न देशको राजनीतिले सही दिशा नलिएसम्मको लागि सबै ट्रेड युनियनहरू निलम्बन गर्न सकिन्छ कि ?

४. कुनै पनि सेवाग्राही निकायहरू जस्तै– माल, भूमिसुधार, यातायात विभाग, वैदेशिक रोजगारलगायत अन्य निकायहरूमा बिचौलियाहरूको बिगबिगी नियन्त्रण गर्न कुनै पहलता लिइन्छ कि ?

नयाँ सरकारको आयु आठ महिना मात्र छ । यस सरकारले यति समयमा के काम गर्ला र ? आठ महिनामा बच्चा पनि जन्मिदैन । विदेशमा हो भने यतिका समयमा धेरै काम हुन्छ, तर हामीकहाँ पाँच वर्षमा पनि केही काम भएको छैन । सिंहदरबारमा प्रधानमन्त्रीको तस्बिर झुन्ड्याउने लाइनमा दाहालको तस्बिर मात्र थपिनेछ । दाहालले बाह्य शक्तिको आडमा ओली सरकारमाथि लात हानेर गम्भीर घात त गरे नै, आफूमाथि पनि घात गरे । यो कुरा उनले ढिलोचाँडो महसुस गर्नेछन् ।
–धमला नेपाली सेनाका अवकाश प्राप्त उपरथी हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.