जनताको फाटेको मन कसले टाल्ने ?

जनताको फाटेको मन कसले टाल्ने ?

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि पाँचदिने भारत भ्रमण पूरा गरेर फर्कनुभयो र आफ्नो भ्रमण सफल भएको समेत दाबी गर्नुभयो । उहाँको दाबी व्यवहारमा नै सफल देखियोस् सम्पूर्ण नेपाली जनताको कामना छ । मन्त्री निधिका अनुसार यही भदौ ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल भारत जाने र त्यसलगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण हुनेछ र ओली सरकारका पालामा रोकिएको नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण गर्ने सहमति भएको छ ।

नेपाल र भारतबीचको सदियौंदेखिको सौहार्दपूर्ण सम्बन्धमा भारतले अचानक लगाएको नाकाबन्दीले कालो बादल लागेको थियो । नेपाल र भारतका उच्च स्तरका नेताहरूको भ्रमणले त्यो कालो बादल हट्ने आशा नेपाली जनताले राखेका छन् ।

गणतन्त्र नेपाल र गणतन्त्र भारतका बीचको सम्बन्धमा नयाँ युगको सूत्रपात हुने विश्वास राख्नु अन्यथा हुने छैन । मन्त्री निधिले दाबी गरेजस्तै असमझदारी हटेको हो र सीमा नाकाबन्दी लगाएर उसप्रति कहिल्यै कुभलो नचिताउने सदा शुभेच्छा राख्ने नेपालीको मन दुखेकोमा भारतले हृदयतः 'रियलाइजेसन' गरेको हो भने निश्चित रूपमा नेपाल भारत सम्बन्धमा नयाँ युग सुरु हुनेछ ।

नेपाल र भारतका बीच अचानक सम्बन्ध खराब हुनुमा नेपालको कुनै गल्ती थिएन । ७० वर्षदेखि आफ्ना प्रतिनिधिले बनाएको संविधानद्वारा शासन सञ्चालन गर्ने नेपाली जनताको चाहनालाई मूर्तरूप दिन संविधानसभाले संविधान जारी गर्दा भारतले नेपाली जनतालाई यति ठूलो दण्ड दिनु आवश्यक थिएन ।

हो, संविधान जारी गर्दा सबै पक्षको चित्त बुझेको थिएन तर त्यसलाई सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया सुरु भइसकेको थियो । संविधान गीता, कुरान र बाइबल होइन जो एकपटक लेखियो तर कहिल्यै संशोधन नहुने । भारतकै अनुभवले के भनिरहेको छ भने संविधान भनेको समयसापेक्ष सुधार हँदै जाने हो ।

नेपालीमा भनिन्छ, सोझाको मन हतपत दुख्दैन तर दुखेपछि चाँडै टालिँदैन पनि । पहिलोपटक प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा के सहर, के तराई, के पहाड सबै क्षेत्र तह र तप्काका नेपाली जनताको मन जितेका थिए । वाह ! मोदी भन्दै सम्पूर्ण नेपाली जनताको सम्मान पाएका थिए । संविधान जारी गर्दा तिनै मोदीले उनका कुरा सुनिएन भनेर यति कठोर दण्ड दिएकी त्यसबाट नेपाली जनताको मन नै फाटेको छ ।

नाकाबन्दी जस्तो अमानवीय काम भएकोमा भारतले गल्ती महसुस गरेको हो भने र नेपाली जनताको फाटेको मन टाल्ने नै हो भने २० वर्षअघि दुवै राष्ट्रबीच सम्झौता भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा समय तोकेर काम सुरु हुनु पर्‌यो, तराईका जनतालाई भन्ने तर कहिल्यै कार्यान्वयन नगर्ने महारोगबाट ग्रस्त हुलाकी राजमार्गको यति वर्षभित्र सम्पन्न गर्ने भनी किटानीसाथ निर्माण काम सुरु हुनुपर्‌यो ।

यसैगरी प्रधानमन्त्री मोदीको प्रथम नेपाल भ्रमणमा घोषणा भएको पनौतीमा निर्माण हुने प्रहरी प्रतिष्ठानको काम थालनी गर्ने र पूर्व–पश्चिम रेलमार्ग निर्माणलाई अघि बढाउने । यी काम सुरु भएपछि निश्चित रूपमा नेपाली जनताको फाटेको मन टालिनेछ । नेपाली र भारतीय जनता सदियौंदेखि एकअर्काको सुखदुःखमा साथ दिँदै भाइभाइ भनेर रहेका हुन् । अब पनि त्यो अवस्था आउन सक्छ ।

जबसम्म भारतले व्यवहारमै गरेर देखाउँदैन नेपाल र भारतको सम्बन्धलाई भारतका प्रथम प्रधानमन्त्री पं. जवाहरलाल नेहरूले भने झैं 'अनुपम' सम्बन्ध सार्थक हुन सक्दैन । कतिपयलाई लाग्न सक्छ, ताली दुई हातले मात्र बझ्छ, सम्बन्ध सुधारमा पनि दुवैको प्रयत्न हुनुपर्छ । नेपालले आफ्नो सामथ्र्य र क्षमताले भ्याएसम्म भारतको सहयोग र समर्थन गरेको छ । कोशी र गण्डक आयोजना मात्र होइन, नेपालका सबभन्दा ठूला विद्युत् आयोजना कर्णाली, अपर कर्णाली, अरुण जस्ता विशाल परियोजनाको निर्माण भारतीय कम्पनीलाई दिएको छ ।

बीसौं वर्ष भयो यी आयोजना भारतले बनाउने भनेको तर अहिलेसम्म काम सुरु गरेको छैन । आर्थिक विकासमा तीव्र गतिमा अघि बढेको भारतका निम्ति विद्युत्को ठूलो आवश्यकता छ । भारत नेपालका यी आयोजना ओगटेर बसेको छ । यसबाट लागत मात्र बढी रहेछ ।

बंगालको खाडीबाट उठेको तातो हावा हिमालयमा ठोकिएपछि नै मनसुन सुरु हुने हो । प्रकृतिको यो चक्र सदियौंदेखि चलिरहेछ । हालै आएको बाढीले नेपाल र भारत दुवैतर्फ ठूलो क्षति पुर्‌यायो । लाखौं लाख जनता विस्थापित भए । प्राकृतिक विपत्तिले दुवै देशलाई विनाश बाँडिरहेको छ । नेपालमा रहेको अपार जलस्रोतको विकास हुन सकेको भए विनाशको सट्टा हामी समृद्धि बाँड्न सक्थ्यौं ।

भनिन्छ, अहिल्यै भारतमा ३०÷३५ करोड जनताको निम्ति खानेपानीको समस्या भइसकेको छ । नेपालमा पनि खानेपानीको समस्या गम्भीर रूपमा आउन थालेको छ । किन दुवै देश मिलेर यसमा काम नगर्ने ? भारतले हृदयदेखि नै नेपालसँगको सम्बन्ध सुधार गर्ने महसुस गरेको हो भने दुवै देश समृद्धिको युगमा प्रवेश गर्न सक्छन् । पहिल्यै घोषणा भएका तर नबनेका योजनाको काम सुरु गरेर भारतले नेपालसँग बिग्रेको सम्बन्धको ड्यामेज कन्ट्रोल गर्न सकिन्छ ।

भारतको अलिकति मात्र आलोचना भयो भने पनि त्यसलाई चीनसँग जोडिन्छ । जबकि भारत र चीनका बीचको व्यापार नै एक खर्ब डलरबराबर पुगिसकेको छ । आगामी वर्ष यो अरू बढ्नेछ । यो वास्तविकतालाई उपेक्षा गरेर भारतीय संस्थापन र मिडिया चिनियाँ फोबियाबाट ग्रस्त छन् । नाकाबन्दीलाई लिएर नेपालमा जेजति भारतको आलोचना भयो, यसका पछाडि चीनलाई मात्र देखे, उनीहरूले नेपाली जनताको भावनामा परेको आघातलाई आफूतिर फर्केर हेरेनन् ।

नेपाली जनता भारतविरोधी र भारतीय जनता नेपालविरोधी हुन सक्दैनन् । जनताजनताका बीचमा रोटीबेटीको सम्बन्ध मात्र होइन, नेहरूले भनेजस्तो नेपाल र भारतबीचको विद्यमान अनुपम सम्बन्ध कस्ने सूत्र भनेको दुवै देशका हिन्दु र बौद्ध धर्मावलम्बीबीच रहेको भावनात्मक सम्बन्ध हो । नेपाली हिन्दुले जबसम्म वनारस गएर गंगाजीको स्नान गरी विश्वनाथको दर्शन गर्दैन तबसम्म जतिसुकै धार्मिक विधिविधान पूरा गरे पनि आफ्ना पितृमोक्ष भए भन्ने विश्वास हुँदैन ।

त्यसैगरी भारतीय हिन्दु पनि पशुपतिनाथको दर्शन नगरे आफ्नो जीवन सार्थक भएको ठान्दैनन् । हिन्दु मात्र होइन, नेपालका बौद्ध धर्मावलम्बी पनि पनि त्यही मान्यता राख्छन् । सोलुखुम्बुको शेर्पा, हुमलाको भोटे, काभ्रे–मकवानपुरको तामाङ पनि जबसम्म भारतको सारनाथ र बोधगयाको दर्शन गर्दैनन् तबसम्म आफ्नो धार्मिक आस्था पुरा भएको महसुस हुँदैन । नेपालमा ९१ प्रतिशत जनता हिन्दु र बौद्ध धर्मावलम्बी छन् भने ती कसरी भारतविरोधी हुन सक्छन् ?

नेपालका परजीवी नेताहरूको चस्माले जबसम्म भारतीय संस्थापनले नेपाललाई हेर्न छोड्दैन तबसम्म उसले नेपालमा चीन मात्र देख्छ । बीपीले भनेजस्तै भारत जति विशाल छ उसको हृदय त्यतिकै सानो छ । जुन दिन उसले आफ्नो आकारअनुसार छिमेकीलाई पनि विशाल चित्तले हेर्नेछ, त्यो दिनदेखि उससँगको सम्बन्धमा कुनै पनि समस्या आउने छैन ।

भारतले हृदयदेखि नै नेपालसँगको सम्बन्ध सुधार गर्ने महसुस गरेको हो भने दुवै देश समृद्धिको युगमा प्रवेश गर्न सक्छन् । पहिल्यै घोषणा भएका तर नबनेका योजनाको काम सुरु गरेर भारतले नेपालसँग बिग्रेको सम्बन्धको ड्यामेज कन्ट्रोल गर्न सकिन्छ ।

कांग्रेसका नेतासमेत रहेका उपप्रधानमन्त्री निधिलाई भारतले जुन महत्त्व दियो, यो नेपालसँग चिसिएको सम्बन्ध सुधार गर्ने संकेत पनि हुन सक्छ । राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र र गृहमन्त्री, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार, 'रअ' का प्रमुख, सत्ताधारी दल भारतीय जनता पार्टीका अध्यक्ष र प्रतिपक्ष राष्ट्रिय कांग्रेसका नेताले भेटेर नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको सन्देश दिए ।

भारतसँग कांग्रेसको सम्बन्ध पुरानो र पटकपटकका उथलपुथलबाट गुज्रँदै इतिहासमा परीक्षण भएको सम्बन्ध हो । बीपीलगायत पहिलो पुस्ताका सबै नेताहरूको शिक्षादीक्षा भारतमै भएको हो । जब सिक्किमलाई भारतमा गाभियो त्यसपछि मात्र बीपी त्यसको विरोध गर्दै राष्ट्रियता बचाउने सवालमा राजा र प्रजातन्त्रवादी शक्ति एक ठाउँमा उभिनुपर्छ भनेर ०३३ सालमा नेपाल फर्कनुभएको हो र तत्कालीन भारतीय संस्थापनको छिमेकीप्रतिको नीतिको आलोचना गर्नुभयो, तर पनि बीपीले यो भन्न छोड्नुभएन– मेरो दोस्रो घर भारत हो र नेपालमा त मेरा कि अनुयायी छन्, कि विरोधी, मित्र खोज्न भारत नै जानुपर्छ ।

भारतले नेपालविरुद्ध जुन नाकाबन्दी लगायो त्यसको औचित्य अन्तर्राष्ट्रिय समुदायसमक्ष मात्र होइन, भारतीय जनता र प्रतिपक्षबीच पनि प्रमाणित गर्न सकेन । 'छिमेकी पहिलो प्राथमिकता' भन्ने नारा दिएर प्रधानमन्त्रीको शपथ खाएका मोदीको छिमेकी कसैसँग पनि सम्बन्ध सुधार हुन सकेन । अहिले सम्बन्ध झन् खराब हुँदै गएको छ । भारतका छिमेकी राष्ट्रमध्ये नेपाल नै यस्तो मुलुक हो, उसका कतिपय गलत नीतिप्रति पनि नेपाल सार्वजनिक रूपमा विरोधमा उत्रिएन । भारतको सदासर्वदा हित चिताउने नेपालीको यसपटक साह्रै नराम्रोसँग चित्त दुखेको छ ।

भारत यो क्षेत्रको शक्तिराष्ट्र हो, नेपाल जस्तो सानो राष्ट्रसमक्ष आफूले पहिले गरेको गल्ती स्वीकार गर्न अप्ठ्यारो महसुस गरेको हो भने अहिलेको सत्ता परिवर्तनबाट पुरानो तीक्तता बिर्सेर नेपालसँग विश्वासिलो र भरपर्दो सम्बन्ध कायय गर्ने अवसर उसलाई मिलेको छ ।

होइन उत्तरबाट आउने तेल र रेल रोक्न निधिको स्वागतमा खातिरदारी गरेको र पु्ष्पकमल दाहाललाई बोलाएर फस्ल्याङ फुस्लुङ पार्ने नीति हो भने यो उसको लागि प्रत्युत्पादक बन्नेछ । ड्र्यागन उठी सकेको छ र सुस्तरी नै सही उसको गति दक्षिणतिर बढ्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.