‘धार्मिक राजा चाहिन्छ भन्ने माग गलत छैन’
राप्रपा र राप्रपा नेपालबीच साउनको अन्तिम साता झन्डैझन्डै पार्टी एकीकरण भएको थियो । यो अभियानमा पार्टी नेता लोकेन्द्रबहादुर चन्दको मुख्य भूमिका रहेको राप्रपाका नेताहरूको मूल्यँकन छ । चन्दले पशुपतिशमशेर राणालाई पार्टी नेतृत्व हस्तान्तरण गरेलगत्तै यो अभियान भाँडियो ।
एकता अभियान भाँडिए पनि पार्टी नेता चन्दलगायत चार दर्जन उक्त पार्टीका केन्द्रीय सदस्य त्यसलाई पूर्णता दिन नेतृत्वलाई दबाब दिने अभियानमा जुटेका छन् । यही सेरोफेरो र मुलुकको समसामयिक राजनीतिका विषयमा अन्नपूर्ण पोस्ट्का चिरञ्जीवी ढुंगाना र बालकुमार नेपालले चन्दसँग गरेको कुराकानी ।
तपाईं अध्यक्ष हुँदा राप्रपा नेपालसँग एकीकरण अभियान अगाडि बढेको थियो । तर तपाईंले नेतृत्व हस्तान्तरण गर्नेबित्तिकै त्यो किन भाँडियो नि ?
- किन भाँडियो कारणचाहिँ थाहा भएन । हामी एकताकै पक्षमा छौं । अन्तरिम विधानमा केही कुरा संशोधन हुनुपर्यो भनेर मसँग कुरा भइरहेको छ । छलफल त पछि पनि गर्न सकिन्थ्यो । त्यो त अन्तरिम विधानको मस्यौदामात्र थियो । त्यो अन्तरिम विधानमा दुवै केन्द्रीय समिति बसेर पारित गरेपछि निर्वाचन आयोगमा पठाउने हो ।
त्यसपछिमात्र संशोधन हुन नसक्ने हो । तर त्यो बीचमा त जुनसुकै बेला पनि संशोधन हुन सक्थ्यो । यसका लागि एकीकरण प्रक्रियालाई रोक्नुपर्ने थिएन । संशोधन होस्, एकताका पक्षमा नै छौं भनेर कुरा भइरहेको छ । तर एक्कासि के भएर एकीकरण रोकियो मैले पनि बुझ्नसकेको छैन ।
यो एकता रोकिनुमा राप्रपातिरकै बढी दोष छ भन्ने सुनिन्छ नि ?
- राप्रपामा सबैलाई समेट्नुपर्छ भनेर पनि केही ढिलाइ भएको होला । केही व्यक्तिको एकता गर्ने भित्री मनसाय थिएन । पशुपतिजीले उनीहरूलाई लिइहालौं, किन बाहिर जान दिऊँ भन्ने मनसाय लिएको पनि हुनसक्छ । त्यसको अन्तिम कुरा मकहाँ बसेर भएको हो । एक्कासि किन रोकियो मलाईचाहिँ थाहा छैन ।
एकता भाँडिनुमा भित्री मनसायको कुरा गर्नुभयो । बाह्य चलखेलचाहिँ भयो कि भएन ?
- बाहिरी चलखेलका कुनै प्रामाणिक कुरा छैनन् । त्यस्ता कुरा बिनाआधार बोल्नु हुँदैन । अरेका कुरा त अनेक हुन्छन् तर तिनका पछि लाग्नु हुँदैन ।
एकीकरण रोक्नमा कोही न कोही त जिम्मेवार होलान् नि ?
-एकीकरण रोकिएर राम्रो भएन । तर अब रोकिइहाल्यो, के गर्नु र ? हामी केही साथी मिलेर यो एकताप्रक्रिया अगाडि बढाउने पक्षमा छौं ।
तपाईंहरू एकीकरण अभियानमा हुनुहुन्छ तर तपाईंहरूले पार्टी अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा केन्द्रीय सदस्यको हस्ताक्षर संख्या हेर्दा त तपाईंहरू अल्पमतमा पर्नुभयो रे नि ?
- एकीकरणको कुरा कार्यसमितिले सर्वसम्मत पास गरिसकेको छ । कार्यसमितिले आधारपत्र र एकता गर्नुपर्छ भन्ने प्रस्ताव पास गरिसकेपछि अल्पमत र बहुमतको कुरा हुँदैन । कार्यसमितिले फेरि बैठक बोलाएर एकता गर्नु हुँदैन भनेर निर्णय नगरेसम्म अल्पमत र बहुमतको कुरा नै हुँदैन । साथीहरू धेरैजना बाहिर पनि हुनुहुन्छ । टाढा बस्नुहुन्छ । तर धेरैसँग कुरा पनि भइरहेको छ । दुईजनाले भए पनि सर्वसम्मत निर्णय कार्यान्वयन गर भन्दा हुन्छ । हामीले ज्ञापनपत्र दिएको भनेको केन्द्रीय समितिले एकताको निर्णय गरेको छ । त्यसलाई कार्यान्वयन गर्नुस् भनेरमात्र हो ।
एकता अचानक रोकिनुमा राप्रपा नेतृत्व कति जिम्मेवार छ ?
- रोकिनु हुने थिएन, रोकियो । हामी जुन भूमिकामा छौं यसको गल्ती उसको गल्ती भनेर जाने ठाँउ छैन । यो जनता कार्यकर्ताले छुट्ट्याउने कुरा हो । मिलाउने भनेर अगाडि बढेपछि यो दोषी, त्यो दोषी भन्नेतिर म जान चाहन्नँ ।
एकताको निर्णय सामूहिक भयो तर व्यक्तिले कार्यान्वयन गरिदिएनन् नि ?
- हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिले यही दिन एकीकरण गर त भनेको छैन । खाली एकीकरण गर्ने निर्णयमात्र गरेको हो । यही दिन एकीकरण गर्ने भनेर मिति नतोकेकाले एकीकरण गर्ने ठाउँ अझै खाली छ । जुन दिनसम्म केन्द्रीय कार्यसमिति बसेर एकीकरण नगर्ने भनेर निर्णय हुँदैन त्यस दिनसम्म एकताको सम्भावना रहिरहन्छ ।
राप्रपा सरकारमा छ । एकता गर्ने अर्को पक्ष सरकारको विपक्षमा छ । अनि सैद्धान्तिक रूपमा नै भिन्न भएको पार्टीबीच कसरी एकता हुन्छ ?
- सैद्धान्तिक भिन्नताचाहिँ होइन । व्याववहारिक कठिनाइ हो । त्यो पनि एउटा कठिनाइ छ । त्यो पनि नहोस् भन्ने सोचाइ हामीले राखेको हो । तर गर्दागर्दै आइलाग्यो । यसलाई कसरी सल्टाउने भनेर दुवैतिरका साथीहरूसँग कुरा गरेर केही निस्कन्छ कि भन्ने आशा जीवितै छ । तर अहिलेको सबैभन्दा ठूलो व्यावहारिक कठिनाइ यो नै हो ।
२५ गते एकता घोषणा गर्ने कार्यक्रम थियो तर राप्रपा २४ गते सरकारमा गयो । २६ गते गएको भए पनि हुन्थ्यो, यति हतारचाहिँ किन पर्यो ?
- किन त्यसो भयो त्यो पनि मलाई थाहा छैन । एकतापछि सरकारमा पठाएको भए पनि हुनथ्यो । फेरि एकताप्रक्रियाका लागि आठ दस दिन पर्खनेसम्म पनि भनेको थियो । तर त्यस्तै भइपरी आयो ।
पार्टीको निर्णय कार्यान्वयन नहुने सुरुआतचाहिँ कताबाट भयो ?
- एकता नगर्ने, पार्टी निर्णय कार्यान्वयन नगर्ने भनेर कसैले पनि भनेको छैन ।
तपाईंले पार्टी एकताको वातावरण बनाउनुभयो तर तपाईंहरूको पार्टीमा नेतृत्व फेरिएपछि त्यो वातावरण बिथोलिएको कुरा त स्वीकार गर्नुहुन्छ होला नि ?
- त्यो कुरा त हो नै ।
पार्टी एकीकरण नभएपछि विदेशीको चलखेलले काम गर्यो भनियो । ती को र कस्ता विदेशी हुन् ? त्यो चलखेलले नै नेपालमा पार्टी सिध्याउन पो खोजेको हो कि ?
- यस्तो विषयमा अरेको कुरा नगरौं । मलाई थाहा छैन । थाहा भएको भए म भन्थें । म जहिले पनि हाम्रो आन्तरिक मामलामा बाहिरको हस्तक्षेप हुनु हुँदैन भन्ने मान्छे हुँ । त्यसैले थाहा पाएको भए म ती कुरा खोल्थें । तर अरेको भरमा भन्नु हुँदैन ।
तपाईंले त धेरैपटक मुलुकको नेतृत्व गर्ने मौका पाउनुभएको छ । नेपालमा बाह्य हस्तक्षेपचाहिँ कत्तिको महसुस गर्नुभएको छ ?
- बाह्य हस्तक्षेप हुनु हुँदैन । आज संसार नै एकजस्तो भएको छ । एकले अर्कोलाई सल्लाह सुझाव दिने, एकले अर्कोसँग आफ्ना कुराहरू राख्ने, स्वाभाविक जस्तो भएको छ । अब सुरक्षाका कुरा गर्दा चीनले पनि, भारतले पनि राख्छन् । तर हाम्रो आन्तरिक मामिलामा जतिजति बाह्य हस्तक्षेप हुन्छ त्यति त्यति यहाँ उनीहरूका विरुद्ध वातावरण बन्छ । मैले यो कुरालाई पार्टी एकताको सन्दर्भमा जोडेको भने होइन । हाम्रोमा एउटा समस्या छ, हामी आफैं हस्तक्षेप निम्त्याउँछौं ।
कार्यकारी अध्यक्ष पनि राप्रपा नेपाललाई, चुनाव चिह्न पनि उसैलाई अनि एकता भएको भए टिक्थ्योजस्तो लाग्छ तपाईलाई ?
- अहिले यस विषयमा गलत प्रचार भएको छ । राष्ट्रिय अध्यक्षको मर्यादा सबैभन्दा माथि हुन्छ । त्यो राष्ट्रिय अध्यक्ष आलंकारिक पनि होइन । कार्यसमितिले पास गरेको आधारपत्रमा राष्ट्रिय अध्यक्षको अध्यक्षतामा निर्देशन समिति बन्ने लेखेको छ । हरेक नीतिगत कुरा स्वीकृत गरेपछि मात्र अध्यक्षले लागू गर्ने व्यवस्था छ ।
उताबाट राप्रपा नेपालको नाम दिनुस् भन्ने प्रस्ताव आएको थियो । त्यो हामीले मानेनौं । किनभने सबैभन्दा ठूलो कुरा नै नाम हो । राप्रपा नेपाल नाम राखेको भए त हामी विलय भएको जस्तो देखिन्थ्यो । उहाँहरू पनि राप्रपाबाट जानुभएकाले यो समस्या उहाँहरूलाई थिएन । चिह्न पनि हलो नै रहन्थ्यो । एउटा झन्डा चाहिँ उहाँहरूको राख्ने सहमति भएको हो ।
भर्खरैमात्र चार दर्जन केन्द्रीय सदस्यले अध्यक्षलाई एकताका लागि ज्ञापनपत्र दिए । यसको अर्थचाहिँ के होला ?
- मेरो कमलजी र पशुपतिजी दुवैसँग कुरा भइरहेको छ । कार्यसमितिले पास गरेको कुरा कार्यान्वयन हुनुपर्छ भनेका छौं ।
पुष्पकमल दाहालको नेतृत्वमा तपाईंहरू पनि सरकारमा सहभागी हुनुभएको छ । यो नेतृत्व कत्तिको भरलाग्दो लाग्छ ?
- विश्वास भन्ने कुरा बडो गाह्रो पर्दै गएको छ । दाहालजीमात्र होइन, अरू पनि कसलाई विश्वास गर्ने ? राजनीतिमा हामी सबै बिहान एउटा बेलुका अर्को कुरा गर्छौं । अब कसको के कुरा पत्याउने ? पार्टीहरूको नेतृत्वलाई कति पत्याउने भन्ने प्रश्न उठ्दै गएको छ । यसमा म कुनै एउटा व्यक्तिलाई भन्दिनँ, वातावरण नै यस्तो भएको छ ।
वामपन्थी र दक्षिणपन्थी शक्तिबीच एकता र सहकार्यचाहिँ कसरी जन्मियो ?
- यो सुविधाको विषय हो । यसैका लागि गठबन्धन हो । यो सत्तामा जानका लागि नै हो । यो पनि एउटा प्रयोग हो । सफल भयो भने बहुत राम्रो ।
तपाईंहरूसहित सहभागी सरकारले पहिलो काम महेन्द्र मञ्जिलमा बत्तीको लाइन काटेर पो सुरु गर्यो त ?
- मैले त्यो कामको विरोध गरेको छु । त्यसको विरोधमा ट्विट नै गरे । त्यो एकदम गलत काम भयो । फेरि सरकार र दरबारबीच सहमति नै भएको हो । फेरि व्यक्तिगत रूपमा पनि उहाँप्रति सबै आस्थावान् र श्रद्धावान् छन् । यो बेला यस्तो काम गर्नु हुँदैनथ्यो सरकारले ।
कट्टर गणतन्त्रवादी, संघीयता र धर्मनिरपेक्षताको पक्षधरसँग मिलेर राजावादी, हिन्दुवादी राप्रपा कसरी सरकारमा गयो ?
- अहिले मैले सिद्धान्त भन्ने कुरा कतै देखेको छैन । नेपालका कम्युनिस्टहरू साँच्चै कम्युनिस्ट हुन् त ? के कांग्रेस समाजवादी हो त ? यस विषयमा म बहस गर्न तयार छु । सिद्धान्त केही होइन । अहिले सुविधा नै यो भएको छ । सिद्धान्तका कसैलाई कुनै बन्धन छैन । अहिले सिद्धान्त सत्तासँग साटिएको छ ।
त्यसो भए राप्रपाभित्रको झगडा पनि नेतृत्वमा नै हो त ?
- नेतृत्वमा होइन । यो समझादरीको कुरा हो त्यो हामी कायम गर्ने प्रयासमा छौं ।
एकथरी मानिसहरूचाहिँ ०४७ सालको संविधान पुनस्र्थापना गर्नुपर्छ भनेर लागेका छन्, तपाईंलाई कस्तो लाग्छ ?
- अहिले यता आएर केही कुरा पनि स्थिर हुनसकेको छैन । त्यही भएर यो कुरा उठेको छ । जता पनि अस्थिरता छ । केही कुराले पनि जनताको विश्वास आर्जन गर्नसकेको छैन । प्रजातन्त्रमा आधिकारको कुरा हो । आफूलाई लागेको कुरा उठाउँछन् ।
पार्टीका शीर्ष नेताभन्दा बाहेक अरूले प्रजातन्त्र उपभोग गर्न पाएका छैनन्, यस्तो अवस्थामा राजतन्त्र स्थापनाको कति औचित्य देख्नुहुन्छ ?
- जनताले चाहे भने जहाँ पनि जे पनि हुनसक्छ । जुन देशका जनताले जे चाह्यो त्यो हुनसक्छ ।
धार्मिक राजा भए पनि चाहिन्छ भनेर माग उठिरहेको छ नि ?
- त्यसलाई म गलत भन्दिनँ । किनकि त्यसको पछाडि पनि तर्कहरू छन् । यी तर्क पक्षविपक्षमा दुवैका हुन सक्छन् ।
अहिलेको सरकारका बारेमा तपाईंको धारणा के हो ? यो सरकार टिकाउ होला त ?
- बहुमत भएपछि त टिकाउ हुने नै भयो । प्रशासनिक राजनीतिक काम पनि यसले गर्ला तर संविधानलाई यसले अहिले छुन सक्दैन । त्यसैले संशोधनको विषय काठन छ । किनकि यसका लागि दुईतिहाइ चाहिन्छ । यसले तोकेको अवधिसम्म त टिक्ला नै । तर यो सरकारले ठूलो परिवर्तन ल्याउन सक्दैन ।
तीन तहको निर्वाचनको गृहकार्य कसरी भइरहेको छ ?
- पहिला प्रदेश बन्नुपर्यो नि ।
तपाईं नेपालको राजनीतिमा जेन्टलम्यानका रूपमा चिनिनुहुन्छ । मुलुकलाई निकास दिन केही गृहकार्य गर्नुभएको छ ?
- म के नै गर्न सक्छु र ? तर मेरो चाहनाचाहिँ यहाँ शान्ति होस्, एउटा राम्रो वातावरण होस् भन्ने छ । जनताको विश्वास आर्जन गर्नसक्ने राजनीति होस् भन्नेचाहिँ छ ।
पूर्वराजासँग यहाँको भेट, विचारविमर्शचाहिँ कतिको हुने गरेको छ ?
- हिजोआज धेरै भयो भेट नभएको । लगभग एक वर्षभन्दा बढी भइसक्यो भेट नभएको ।