बजारमा कम तौलको सिलिन्डर छयाप्छयाप्ती

बजारमा कम तौलको सिलिन्डर छयाप्छयाप्ती

काठमाडौं: खाना पकाउने ग्यास बेच्ने उद्योगीले मापदण्डभन्दा कम तौलका सिलिन्डर बजारमा पठाउँदै आएका छन् । उपभोक्ताले पूर्ण तौलको सिलिन्डरको रकम बुझाए पनि उद्योगीले कम तौल भएको सिलिन्डर भिडाएर उपभोक्तालाई ठग्दै आएका छन् ।

उद्योगीले सिलिन्डरमा कम परिमाणमा ग्यास भरी उपभोक्तालाई उपलब्ध गराउँदै आएको फेला परेको छ । आपूर्ति मन्त्रालयअन्तर्गतको संयुक्त अनुगमन टोलीमा सहभागी नेपाल गुणस्तर तथा नापतौल विभागले बजारमा यस्तो बेथिति भेटेको हो । तीन दिन गरिएको अनुगमनमा चार कम्पनीका सिलिन्डर तोकिएको मापदण्डभन्दा कम तौलका भेटिएका हुन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार श्रीकृष्ण, नारायणी, मेट्रो र सगरमाथा ब्रान्डको सिलिन्डरमा कम तौल भेटिएको हो । ती ब्रान्डका सिलिन्डरमा दुई सय ५० ग्रामसम्म कम परिमाणमा ग्यास भरिएको पाइएको छ । 'चारवटा उद्योगले उत्पादन गरेको केही सिलिन्डरमा मापदण्डभन्दा कम परिमाणमा ग्यास भरिएको फेला परेको छ,' महानिर्देशक पुडासैनीले भने, 'मापदण्डभन्दा कम परिमाणमा ग्यास भरिएका सिलिन्डर बजारमा पठाउने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका छौं । कम तौल भेटिएका सिलिन्डर बरामद गरी सिलबन्दीसमेत गरिएको छ ।'

विभागका अनुसार गत बुधबार कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योगबाट तोकिएको मापदण्डभन्दा कम परिमाणमा ग्यास भरिएको अवस्थामा तीन थान सिलिनडर बरामद गरिएको थियो । यसैगरी सोही दिन कलंकीस्थित नारायणी ग्यास उद्योगबाट पनि मापदण्डभन्दा कम परिमाणमा ग्यास भरिएको अवस्थामा एक थान सिलिन्डर बरामद गरिएको थियो । विभागको टोलीले शुक्रबार कोटेश्वरस्थित मेट्रो ग्यास उद्योग र पेप्सीकोलास्थित सगरमाथा ग्यास उद्योगबाट कम तौल भएको सिलिन्डर बरामद गरेको थियो ।

श्रीकृष्ण, नारायणी, मेट्रो र सगरमाथा ब्रान्डको सिलिन्डरमा कम तौल भेटिएको छ ।

पुडासैनीका अनुसार भरिएका सिलिन्डरमा १४.२ किलो ग्यास हुनुपर्छ । तर बरामद सिलिन्डरमा दुई सय ५० ग्रामसम्म कम ग्यास भेटिएको छ । विभागले भरिएका थुप्रै सिलिन्डरमध्ये कुनै एकमा ८० देखि एक सय ५० ग्रामसम्म कम तौल भेटिए त्यसलाई क्षम्य (टोलेरेन्स) भित्र राखेको छ । 'तर धेरै सिलिन्डरमा ८० ग्रामदेखि दुई सय ५० ग्रामसम्म कम ग्यास भरिएको भेटिएमा त्यो उद्योगीले फट्याइँ गरेको बुझ्नुपर्छ', पुडासैनीले भने, 'सय सिलिन्डरमध्ये एउटामा ८० देखि एक सय ५० ग्राम कम भेटियो भने मात्रै टोलरेन्स सुविधाअन्तर्गत राख्न मिल्छ ।'

आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीका अनुसार अनुगमन टोलीले अनुगमनकै क्रममा तोकिएको मापदण्डभन्दा बढी तौलको खाली सिलिन्डर पनि बजारबाट बरामद गरेको छ । कोटेश्वरस्थित त्रिवेणी ग्यास संकलन केन्द्रबाट मापदण्डभन्दा बढी तौल भएका त्रिवेणी ब्रान्डका आठवटा सिलिन्डर बरामद गरिएको छ ।

त्यस्तै बालकुमारीस्थित सिद्धार्थ ग्यास संकलन केन्द्रबाट पनि सिद्धार्थ ब्रान्डका तीनवटा र ललितपुरस्थित इनर्जेटिक ट्रेडिङ हाउसबाट बढी तौल भएका लुम्बिनी ब्रान्डको आठवटा खाली सिलिन्डर बरामद गरिएको छ । विभागका अनुसार खाली सिलिन्डरमा लेदो जमेको अवस्थामा तौल बढी देखिन्छ भने खिइएर निक्कै पुरानो खाली सिलिन्डरको तौल मापदण्डभन्दा कम अवस्थामा भेटिन्छ । मापदण्डभन्दा बढी तौलको सिलिन्डरलाई पनि सिलबन्दीको दायरामा ल्याएर कारबाही अघि बढाएको नापतौल विभागले जनाएको छ ।

खान अयोग्य माछा नष्ट

अनुगमन टोलीले शुक्रबार कालीमाटीस्थित ताजा माछा पसलबाट खान अयोग्य ४७ किलो र सानेपास्थित सत्री कोल्ड स्टोरबाट ७६ किलो माछा बरामद गरी नष्ट गरेको छ । यस्तै बागबजारस्थित विमला स्विट एन्ड चाट हाउसबाट म्याद नाघेको र सडेको अवस्थाको १५ किलो गुदपाक, कीरा परेको सयवटा रसवरी, लड्डु एक किलो, खुवा चार किलो नष्ट गरेको छ । यसैगरी शान्तिनगरस्थित स्टार इन्टरप्राइजेज, भक्तपुरस्थित हाम्रो खाजा घर, कटुञ्जेस्थित मनिल फुड इन्डस्ट्रिजको सञ्चालनमा रोक लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.