रोनाल्डोले भन्छन्,‘चोटमुक्त भइसके, छिट्टै खेलमा फर्किन्छु’
काठमाडौंः घुँडाको चोटका कारण रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो मैदान बाहिर रहेको झन्डै दुई महिना भएको छ। फ्रान्समा भएको युरोकप फुटबलको फाइनल खेलमा घाइते हुँदै मैदान छोडेका रोनाल्डो त्यसयता मैदानमा उत्रिन सकेका छैनन्।
आराम गरिरहेका रोनाल्डो केही दिन अघिमात्रै स्पेन आएका हुन् र अहिले उनी आफूलाई खेलका लागि तयार पार्न अभ्यासरत छन्। घुँडाको चोट निको भइसकेको छ र उनी पूर्ण रुपमा फिट हुन मैदानमा अभ्यासका लागि उपस्थित भइरहेका छन्।
रोनाल्डोले आफू मैदानमा उत्रिएको देख्न आतुर रहेका फुटबल समर्थकहरुलाई आफू छिट्टै खेलमा फर्किने बताएका छन्। केही समय यता अभ्यासमा व्यस्त रहेका रोनाल्डोले युरोपको उत्कृष्ट खेलाडीको अवार्ड जितेपछि आफू चोटमुक्त भएको र खेलका लागि तयार रहन भरपूर प्रयार गरिरहेकाले छिट्टै मैदान उत्रिने बताएका हुन्।
रोनाल्डोले भनेका छन्,‘म निकै उत्साहित छु र खेलमा फर्कन आतुर छु। म अझै धेरै उपाधि उचाल्न चाहन्छु। मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’ रोनाल्डोले आफू खेलका लागि फिट हुन अभ्यास गरिरहेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन्,‘अब म छिट्टै मैदान उत्रिनेछु।’
रोनाल्डोले युरोपको उत्कृष्ट खेलाडीको अवार्ड दोस्रो पटक जित्न सहयोग गर्ने सवैलाई धन्यवाद पनि दिएका छन्।