दसैमा सुपथ मूल्य पसल
काठमाडौंः सरकारले आम उपभोक्तालाई राहत दिन दसैंतिहारमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । आगामी असोज १ गतेदेखि २१ गतेसम्म यस्ता पसल सञ्चालनमा आउनेछन् ।
आपूर्ति मन्त्री दीपक बोहोराको अध्यक्षतामा आइतबार बसेको बैठकले सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो । आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीका अनुसार यस्ता पसलबाट उपभोक्तालाई सस्तोमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइनेछ । ‘चाडवाडको समयमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले यो वर्ष पनि केही दैनिक उपभोग्यमा छुट दिएर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने निर्णय गरेका छौं’, रेग्मीले भने ।
सुपथ मूल्य पसलबाट उपभोक्ताले सुलभ मूल्यमा दाल, चामल, घिउ, तेल, नून, चिनी, पनीर, खसीबोका, च्याङग्रा र खाना पकाउने ग्यास खरिद गर्न पाउने व्यवस्था गरिएको छ । प्रवक्ता रेग्मीका अनुसार यस्ता पसलमार्फत नेपाल खाद्य संस्थानले १५ प्रकारका चामल, फापर र सिमी बिक्री गर्ने तयारी गरेको छ । चामल, फापर र सिमीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ ।
यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनले चिनीमा प्रतिकिलो पाँच रुपैयाँ र नूनमा दुई रुपैयाँ छुट दिएर बिक्री गर्ने तयारी गरेको छ । सरकारले पहिलो पटक सुपथ मूल्य पसलबाट खाना पकाउने ग्यास बिक्री गर्ने तयारी गरेको छ । यसका लागि नेपाल आयल निगमले सुपथ मूल्य पसलबाट खाना पकाउने ग्यास सिलिन्डर खरिद गर्दा प्रतिसिलिन्डर ५० रुपैयाँ छुट दिने व्यवस्था गरेको छ । त्यसैगरी मट्टीतेलमा पनि छुट दिन तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
सुपथ मूल्य पसलबाट उपभोक्ताले सुलभ मूल्यमा दाल, चामल, घिउ, तेल, नून, चिनी, पनीर, खसीबोका, च्याङग्रा र खाना पकाउने ग्यास खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
सुपथ मूल्य पसलमार्फत दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो १० रुपैयाँ छुट दिने भएको छ । सुपथ मूल्य पसल सञ्चालन गर्न यसअघिका वर्षमा दिइएको छुट वापतको रकम शोधभर्नाका लागि अर्थमन्त्रालयको ध्यानाकर्षण गराउने पनि बैठकले निर्णय गरेको छ । दसैंलाई लक्ष्य गरी करिब दुई हजार पाँच सयको संख्यामा खसी, बोका र च्याङग्रा पनि बजारभन्दा सुलभ मूल्यमा बिक्री गर्ने सरकारले तयारी गरेको छ ।
सुपथ मूल्य पसल सञ्चालन गर्ने स्थानका विषयमा सुझाव दिन मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले स्थानछनोट गरेपछि सोही स्थानमा यस्ता पसल सञ्चालनमा ल्याइनेछ ।
बर्सेनि उपत्यकाका ११ स्थानमा यस्ता पसल सञ्चालन भए पनि यस पटक भने छलफलको क्रममा निजी क्षेत्रका किराना व्यवसायीले उपत्यकाभर पाँच सयको संख्यामा सञ्चालनमा ल्याउन सुझाव दिएका छन् ।
मन्त्रालयले उपत्यकाका ठूला डिपार्टमेन्ट स्टोरलाई पनि चाडवाडको समयमा सहुलियत मूल्यमा उपभोक्तालाई दैनिक उपभोग्यका वस्तु उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने गृहकार्य सुरु गरेको रेग्मीले जानकारी दिए ।