स्टर्लिङको दुई गोलको मदतमा म्यानचेस्टर सिटीको तेस्रो जित
काठमाडौंः स्टर्लिङको दुई गोलको मदतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित हात पारेको छ।
इतिहाद स्टेडियममा गएराति भएको खेलमा वेष्ट ह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले लिगमा लगातार तेस्रो जित हात पार्यो।
म्यानचेस्टर सिटीको जितमा राहिम स्टर्लिङ नायक बने। खेलको सातौं मिनेटमै गोल गर्दै स्टर्लिङले सुरुवाती अग्रता दिलाए। यस्तै खेलको १८ औं मिनेटमा फर्नान्डिनोले गोल गर्दै म्यानचेस्टर सिटीको अग्रता दोब्बर पारे।
सिटीले पहिलो हाफमै २–० को अग्रता लिन सफल भयो। खेलको ५८ औं मिनेटमा वेष्ट ह्याम युनाइटेडका लागि एन्टोनीयोले गोल गर्दै अग्रता २–१ मा झारे। तर, इन्जुरी समयमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानचेस्टर सिटी ३–१ को जित निकाल्न सफल भयो।
जितपछि सिटी तीन खेलबाट ९ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान ९–९ अंक जोडेका चेल्सी र म्यानचेस्टर युनाइटेड क्रमश दोस्रो तथा तेस्रो स्थानमा छन्।