जुनार पकेट क्षेत्रमा भकारो सुधार
सिन्धुलीः सिन्धुलीको जुनार पकेट क्षेत्रका गाविसमा जुनार खेती व्यवस्थापन गर्न गोठ तथा भकारो सुधार कार्यक्रम सुरु भएको छ । गोठ र भकारो सुधारले जुनार खेती प्रवद्र्धन गर्न टेवा पुर्याउने विश्लेषणसहित कार्यक्रम सुरु भएको हो ।
जिल्ला कृषि विकास कार्यालयले गोठ तथा भकारो सुधारले जुनारको व्यवस्थापनसँगै रोगकीरा नियन्त्रण भई उत्पादन वृद्धि हुने अपेक्षासहित कार्यक्रम सुरु गरेको जनाएको छ । जुनार उत्पादनको पकेट गाविस मानिएको रतनचुराका १, २, ४, ५ र ७ वडामा गोठ तथा भकारो सुधार कार्यक्रम चलिरहेको कार्यालयका कृषि प्रसार अधिकृत विजय मण्डलले जानकारी दिए ।
भकारो सुधार गर्न जिल्ला कृषि विकास कार्यालयले जुनार उत्पादन गर्ने प्रतिकिसानलाई पाँच हजार दुई सय रुपैयाँ अनुदान दिने गरेको छ । गोठ सुधारले जुनारमा लाग्ने रोगमा झन्डै ५० प्रतिशत कमी आउन सक्ने कृषि प्रसार अधिकृत विजय मण्डलले बताए । उनले भने, ‘गोठ सुधारपछि किसानले पिसाब संकलन गर्ने र त्यसमा १० प्रतिशत पानी मिासाएर नियमित बिरुवामा छरेमा रोग कीरा मुक्त हुन सक्छ ।’
भकारो सुधार गर्न जिल्ला कृषि विकास कार्यालयले जुनार उत्पादन गर्ने प्रतिकिसानलाई पाँच हजार दुई सय रुपैयाँ अनुदान दिने गरेको छ । भकारो सुधार गरी संकलित गोबर तथा पशुको पिसाब प्रयोग गर्दा जुनारमा लाग्ने रोगमा झन्डै ५० प्रतिशत कमी आउँछ ।
यस्तो प्रविधिका विषयमा किसानलाई जानकारी गराई सकिएको पनि मण्डलले बताए । रतनचुरा गाविसमा यस आर्थिक वर्षभरिमा एक सय ५० गोठ तथा भकारो सुधार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
किसानले बगैंचा व्यवस्थापन गर्न प्रांगारिक मल प्रयोग गरेको भए पनि त्यसमा आवश्यक तत्व पर्याप्त नहुँदा जुनारको बिरुवा फस्टाउन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
किसानले भकारोको व्यवस्थापन नगर्दा मलमा नाइट्रोजनलगायतका तत्व नष्ट हुने र यस्तो मलले बिरुवालाई पोषण नदिने मण्डलको भनाइ छ । भकारो सुधार कार्यक्रमले जुनार खेतीमा प्रयोग गर्न योग्य मल तयार हुन्छ । किसानले जुनार उत्पादनपछि आम्दानीको १० प्रतिशत मात्र बिरुवामा खर्च गरेमा जुनारका बोट कमजोर नहुने बताइएको छ ।
किसानले जुनार बगैंचाको उचित व्यवस्थापन गरेमा उत्पादन हुने फल गुणस्तरीय हुने र बोट पनि निरोगी बनाउन सकिने कृषिविज्ञ बताउँछन् ।
गोठ तथा भकारो सुधार गर्न आठदेखि १० बोरा सिमेन्ट लाग्ने किसानले बताएका छन् । कार्यालयले दिएको अनुदानले जुनार खेती गर्ने किसानलाई धेरै लाभ मिलेको जुनार उत्पादक रचनचुराका किसान दीपक थापाले बताए ।
पशुको मूत्रले कीरा नियन्त्रण गर्न सक्ने सुनेको भए पनि परम्परागत भकारोमा मूत्र संकलन गर्न निकै चुनौतीपूर्ण रहेको थापाको भनाइ छ । गोठ तथा भकारो सुधार भइसकेपछि पशुको मूत्र संकलन र भकारो सुधारले तत्काल जुनारका बिरुवामा निकै फाइदा पुर्याएको उनले जनाए । पशुको पिसाबलाई औषधिको रूपमा प्रयोग गरेपछि बिरुवामा लाग्ने केही कीरा देखिन छाडेको उनले बताए । सबै क्षेत्रमा किसानले गोठ सुधार गरेमा जुनार व्यवसाय फस्टाउने थापाको भनाइ छ ।