रैथाने बीउ जोगाउन भण्डार गृह निर्माण
लमजुङः रैथाने र उन्नत जातका बाली जोगाउन लमजुङमा पाँचवटा सामुदायिक बीउ तथा अन्न भण्डार गृह निर्माण भएका छन् । गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण कृषकले भण्डारण गरेको अन्न बालीमा क्षति पुग्दा बीउमा समेत समस्या भोग्नुपरेपछि भूकम्प प्रतिरोधी सामुदायिक बीउ गृह निर्माण भएका हुन् ।
मध्यनेपाल नगरपालिकाको चर्दी, सुन्दरबजारका पाउँदी र परेवाडाँडा, राईनास नगरपालिकाको हर्राबोट र चक्रतीर्थमा बीउ तथा अन्न भण्डार गृह निर्माण भएका छन् । यी क्षेत्रमा खेतीयोग्य जमिन प्रशस्त छ भने उत्पादकत्व पनि बढी छ ।
यी भण्डार गृह कृषियोग्य क्षेत्र र कृषकलाई पायक पर्ने मुख्य नाकामा बनेका छन् । अब कृषकले आफूले उत्पादन गरेका बालीका बीउ सुरक्षित राख्न भूकम्प प्रतिरोधी सामुदायिक बीउ भण्डारण गृहमा राख्न पाउनेछन् ।
एउटा बीउ भण्डारण केन्द्रका लागि ३० लाख खर्च भएको भवन निर्माणमा संलग्न डेपटेक नेपालका इन्जिनियर तथा परियोजना संयोजक सुवेश श्रेष्ठले जानकारी दिए । ‘जिल्लाका सबै सामुदायिक बीउ भण्डारण गृह निर्माणका लागि एक करोड ५० लाख खर्च भएको छ’, उनले भने, ‘बा“की अन्य सामग्री समेत थप्दा खर्च बढ्न सक्छ ।’
भण्डार गृह निर्माणका लागि डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डीएफएलडी) यूकेएड प्रोजेक्टको आर्थिक सहयोग एवं सामथ्र्य नेपाल र डेपटेक नेपालको प्राविधिक सहयोग रहेको सामथ्र्य नेपालका प्राविधिक सल्लाहकार इन्द्रराज पाण्डेले जानकारी दिए ।
उनले स्थानीय क्षेत्रमा पाइने उन्नत जातका रैथाने बालीको विविधतालाई घरखेत स्तरमै संरक्षणका लागि र अत्यन्त लोपोन्मुख बालीलाई दीर्घकालीन रूपमा संरक्षण गर्ने नीतिअनुरूप भण्डारगृह निर्माण गरेको बताए ।
भवन तापक्रम अनुकूल गर्ने ‘क्याबिटी वाल सिस्टम’ प्रविधिबाट निर्माण गरिएको छ । भवनमा बीउ र अन्न भण्डारण गर्ने कोठा छुट्टाछुट्टै रहेको परियोजना संयोजक श्रेष्ठले बताए । उनले भने, ‘१७ सय स्क्वायर फिटमा बनेको भवनमा एकएकवटा अन्न भण्डारण, बीउ भण्डारण, कार्यालय र ड्राइङ फ्लोर छन् ।’
गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण कृषकले भण्डारण गरेको अन्न बालीमा क्षति पुग्दा बीउमा समेत समस्या भोग्नुपरेपछि भूकम्प प्रतिरोधी सामुदायिक बीउगृह निर्माण भएका हुन् ।
उनका अनुसार गृहमा कार्यालयलाई आवश्यक पर्ने गोदाम खाट (प्यालेट), अफिस फर्निचर सेट, जोख्ने मेसिन, शौचालय र बत्तीका साथै आवश्यक सामग्री जडान गरिनेछ । सोही भवनबाट कृषकले मलबीउ किनबेच, उत्पादित वस्तु बिक्रीवितरण गर्न समेत सक्ने व्यवस्था हुनेछ ।
मध्यनेपाल नगरपालिकास्थित चर्दीको भवनमा स्थानीय रम्घा सूर्यपाल उन्नत बीउ उत्पादक कृषक समूहलाई हस्तान्तरण गरिएको छ । बाँकी गृह कृषकलाई सञ्चालन तालिम दिएर हस्तान्तरण गर्ने तयारीमा रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।
भवनको अभावमा बीउ र अन्न भण्डारणमा समस्या खेप्दै आएका कृषक भवन निर्माणपछि खुसी भएको सुन्दर बीउ उत्पादक कृषि सहकारी संस्था सुन्दरबजारका अध्यक्ष चन्द्रप्रसाद पोख्रेल बताउँछन् । भण्डारगृह स्थापना भएपछि त्यसको सञ्चालन प्रक्रिया र दिगोपनाका लागि कृषकले अन्तत्र्रिmया गर्न थालेका छन् । संस्थाले लमजुङसहित तनहुँ र मकवानपुमा पनि पाँचपाँच भण्डारगृह निर्माण गरेको छ ।