दसैंलाई ४९ हजार खसीबोका र च्याङग्रा
काठमाडौंः दसैंलाई लक्षित गरेर उपत्यकाको बजारमा यसपटक ४९ हजारभन्दा बढी खसीबोका र च्याङ्ग्राको व्यापार हुने भएको छ । दसैंका लागि सरकारी स्वामित्वको नेपाल खाद्य संस्थान र निजी क्षेत्रको चौपाया खरिदबिक्री सेवा संघले ४९ हजार पाँच सय खसीबोका भित्र्याएर बिक्री गर्ने लक्ष्य राखेका छन् । यसैगरी दसैं अवधिभर तीन हजारको संख्यामा च्याङ्ग्राको पनि बिक्री गरिनेछ । गत वर्ष नाकाबन्दीका कारण दसैंको अवधिमा साढे ४१ हजार खसीबोका र च्याङ्ग्राको व्यापार भएको थियो ।
संस्थानले विभिन्न जिल्लाबाट स्वदेशी उत्पादन भित्र्याएर एक हजार पाँच सयको संख्यामा खसीबोका र सोही संख्यामा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । यसैगरी चौपाया खरिदबिक्री सेवा संघले दसैंका लागि ४५ हजार खसीबोका र एक हजार पाँच सय च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ ।
संस्थानका प्रवक्ता पवन कार्कीका अनुसार संस्थानले लाहान, हेटौडा, नेपालगन्ज र सुर्खेतस्थित कार्यालयमार्फत स्थानीय जातका एक हजार पाँच सय खसीबोका खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ । यसैगरी मुस्ताङबाट एक हजार पाँच सय च्याङ्ग्रा पनि भित्र्याइनेछ ।
उनका अनुसार घटस्थापना दुई दिनअघि भिœयाएर मूल्य सूची तय गरी घटस्थापनादेखि आम उपभोक्ताका लागि बिक्री खुला गरिनेछ । गत वर्ष दुई हजार पाँच सय खसीबोका बिक्री गर्ने लक्ष्य राखिए पनि नाकाबन्दीका कारण संस्थानले सात सय ५० गोटा खसीबोका र ६ सय ९२ गोटा च्याङ्ग्रा भिœयाएर बिक्री गरेको थियो ।
‘तर यसपटक अहिलेसम्म कुनै पनि आन्दोलन र सडक अवरुद्धजस्ता कार्यक्रम नभएकाले लक्ष्यअनुसार भिœयाएर बिक्री गर्छौ’, उनले भने । संस्थानले तीन वर्ष अघिसम्म करिब चार हजारको संख्यामा खसी बोका बिक्री गरे पनि समयमा बजेट उपलब्ध नहुँदा कम संख्यामा खसीबोका भिœयाएर बिक्री गर्दैआएको छ । संस्थानले बजार मूल्यभन्दा केही सस्तो मूल्य कायम गरेर सर्वसाधारणलाई बिक्री गर्ने गरेको छ ।
चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष दिपक थापाका अनुसार दसैंका लागि यसपटक निजी क्षेत्रले स्वदेशी बजारसँगै भारतकोे लखनउ, बहराइच, काल्पी, जसविरनगर, कानपुर र हरियाणालगायतका स्थानबाट लाम्काने र जमुनापारी जातका खसीबोको भित्र्याउन लागेको छ । संघले तीज सकेपछि खसीबोका भित्र्याउने काम सुरु गर्नेछ ।
यसैगरी मुस्ताङबाट एक हजार पाँच सय च्याङ्ग्रा पनि ल्याउनेछ । उनका अनुसार आन्तरिक बजारबाट सडक मार्गका कारण ढुवानी गर्न समस्या हुने भएकाले उपत्यका हुने कुल खपतको ८५ प्रतिशत भारतबाट आयात हुन्छ ।
‘नेपालको आफ्नै स्वदेशी जातका खसीबोकाको मासु मिठो भए पनि ढुवानी र संकलन गर्न ठूलो समस्या भएकाले भारतबाट ठूलो परिमाणमा आयात गर्न बाध्य छौं, अर्कोतर्फ मागअनुसार स्वदेशमै उत्पादन नहुने भएकाले पनि समस्या भएको हो’, थापाले भने ,‘यसले नेपालको ठूलो रकम भारत भित्रिने गरेको छ ।’
घटस्थापना दुई दिनअघि भित्र्याउने र मूल्य सूची तय गरी घटस्थापनादेखि आम उपभोक्ताका लागि बिक्री खुला गरिनेछ ।
दसैंको समयमा उपत्यकामा करिब चार अर्ब मूल्य बराबरको ४५ देखि ५५ हजार गोटा खसीबोकाको कारोबार हुने गर्छ । यस अवधिमा १२ लाख किलो खसीबोकाको मासु खपत हुन्छ । वार्षिक करिब १५ अर्बको खसीबोकाको खरिदबिक्री हुन्छ । यसमध्ये १० अर्ब मूल्य बराबरको भारतबाट आयात हुँदै आएको अध्यक्ष थापाले जानकारी दिए ।
निजी क्षेत्रले भिœयाउने खसीबोका र च्याङ्ग्रा घटस्थापनादेखि दशमीसम्म बिक्री गर्ने लक्ष्य राखेको छ । संघले भारतबाट प्रतिकिलो चार सय ५५ रुपैयाँका दरमा खसीबोका खरिद गर्ने गरेको छ ।
सामान्य दिनमा उपत्यकामा दैनिक आठ सयदेखि एक हजार गोटासम्म खसीबोका भित्रिने गरेकोमा दसैंका लागि दैनिक तीनहजारको संख्यामा खपत हुन्छ । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयका अनुसार दसैंको समयमा सामान्य दिनभन्दा सात गुणा बढी खसीबोकाको मासु खपत हुन्छ । सप्तमीदेखि प्रतिव्यक्तिको उपभोगदर दैनिक २८ ग्रामबाट बढेर औसत दुई सय १२ ग्राम पुग्ने गर्छ ।
नेपालमा हाल प्रतिव्यक्ति प्रतिवर्ष ११ किलो मासु खपत हुन्छ । तर, सरकारले नयाँ मापदण्ड बनाउँदा प्रतिव्यक्ति खपत १४ किलो प्रतिवर्ष पुर्याउने लक्ष्य राखेको छ । विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्यका लागि प्रतिव्यक्ति ३७.९ किलो मासु प्रतिवर्ष खपत खानुपर्ने मापदण्ड निर्धारण गरेको छ ।