रेटिङ एजेन्सी सञ्चालनको तयारी
काठमाडौंः नयाँ रेटिङ एजेन्सी सञ्चालनको अन्तिम चरणमा पुगेको छ । नेपालको वित्तीय क्षेत्र सुधारका लागि नयाँ रेटिङ एजेन्सी आवश्यक भएको भन्दै नेपाल धितोपत्र बोर्डले ‘नेपाल रेटिङ एजेन्सी’ सञ्चालनको अन्तिम तयारी गरेको हो ।
‘जतिसक्दो चाँडो एजेन्सी सञ्चालन अनुमति दिन सबै कागजात डेस्कमा अध्ययन भइरहेको छ,’ बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘नेपालमा अहिलेसम्म यस्तो कम्पनी एउटामात्र भएकाले एकाधिकारको अन्त्य गर्न पनि रेटिङ कम्पनी सञ्चालन आवश्यक छ ।’ नेपाल र अमेरिकी संयुक्तलगानीमा स्थापना हुन लागेको नेपाल रेटिङ एजेन्सीले सञ्चालनका लागि बोर्डसँगै अनुमति माग गरेको हो ।
वित्तीय क्षेत्र सुधार गर्न दुई सय देशमा सेवा दिँदै आएको अमेरिकी कम्पनी डन एन्ड ड्राबस्ट्रिटको संयुक्त लगानीमा नेपालमा कम्पनी सञ्चालनमा आउँदैछ । कम्पनीको एजेन्सीमा ६० प्रतिशत लगानी छ भने २४ प्रतिशत लगानी वाणिज्य बैंकको र बाँकी लगानी व्यवस्थापन समूहको हुनेछ । एजेन्सीले कम्पनीको सेयर तयार पारिसकेको छ । कम्पनीको अनुमानित संरचना तयार भइसकेको छ ।
‘बोर्डबाट सञ्चालन अनुमति पाउँने वित्तिकै एजेन्सी सञ्चालन हुन्छ,’ नेपालको संयुक्त लगानी कर्ता अनलराज भट्टराई भने, ‘कम्पनी सञ्चालनका लागि सबै तयारी भइसकेको छ ।’ देशको आवश्यता अनुसार पहिलानै सञ्चालन अनुमति पाइसक्नु पर्ने भए पनि सम्बन्धित निकायको अलमलका कारण कम्पनी सञ्चालन गर्न ढिलो भएको उनले बताए ।
‘मैले विदेशी साझेदारलाई भूकम्प, नाकाबन्दी र राजनीतिक स्थिरताले सञ्चालन अनुमति पाउन ढिला भएको बताउँदै आएको छु,’ उनले भने ‘ एजेन्सी सञ्चालनमा आएपछि नेपालको साख विश्व बजारमा बढ्छ ।’ छिमेकी मुलुक भारत र बंगलादेशमा सरकारले बोलाएर कम्पनी स्थापना गर्न लगाउँछन्’ उनले थपे, ‘नेपाल व्यक्तिको पहलमा ल्याउन खोजे पनि विभिन्न व्यवधान आइरहेका छन् ।’ नेपालमा त्यस्तो कम्पनी आवश्यक छ भनी सरकारलाई बुझाउनै दुई वर्ष लागेको भट्टराईले बताए ।
यो कम्पनी आएपछि नेपालमा साना व्यवासायीको कर्जामा पहुँच बढ्ने, नेपालको व्यापारलाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी संसारभरि व्यापारको वातावरण सिर्जना गरिदिने उनले बताए । कम्पनीले वित्तीय क्षेत्रको मूल्यांकन गर्ने भएकोले नेपालको वित्तीय क्षेत्रमा सुशासन ल्याउने तथा विदेशी लगानी भि त्र्याउन मद्दत गर्ने उनको भनाइ छ ।
एक सय ८० वर्ष पुरानो अमेरिकी कम्पनीको संयुक्त लगानीमा स्थापना हुने ‘नेपाल रेटिङ एजेन्सी ज्वाइन्ट भेञ्चर विथ डीएनभीले कम्पनीको रेटिङका साथै अन्य वित्तीय सेवा पनि उपलब्ध गराउनेछ । डन एन्ड ड्राबस्ट्रिटले वित्तीय क्षेत्रसँग सम्बन्धित तालिम तथा अनुसन्धानको काम पनि गर्दै आएको छ । यसले नेपालका हरेक वित्तीय क्षेत्रमा सहयोग गरेको भट्टराईले बताए । नयाँ कम्पनी आएसँगै नेपालमा उसले प्रयोग गर्ने जनशक्ति र सूचना प्रविधि पनि भित्रिने उनले जानकारी दिए ।
नेपालमा अहिले एउटा मात्र क्रेडिट रेटिङ एजेन्सी सञ्चालनमा छ । इक्रा नेपालका नामबाट सञ्चालनमा रहेको कम्पनीले अहिले बैंक तथा वित्तीय संस्था तथा सेयरको निस्कासन गर्ने कम्पनीको रेटिङ गर्दै आएको छ ।
इन्फोवित्तीय क्षेत्र सुधार गर्न दुई सय देशमा सेवा दिँदै आएको अमेरिकी कम्पनी डन एन्ड ड्राबस्ट्रिटको संयुक्त लगानीमा नेपालमा कम्पनी सञ्चालनमा आउँदैछ ।