अन्तर्राष्ट्रिय उडानका वायुसेवामा वर्षमा चार लाख सिट खाली
काठमाडौंः नेपालमा अन्तर्राष्ट्रिय उडान गरिरहेका विभिन्न २९ वटा वायुसेवा वार्षिक चार लाख सिट खाली लिएर उड्ने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएका यी वायुसेवाको वार्षिक सिट उपयोग क्षमता ३६ लाख १३ हजार छ । सबै वायुसेवाले पूर्णक्षमतामा उडान गरिरहेको जानकारी प्राधिकरणमा दिइएको भए पनि नियमित उडानमा रहेका २९ वटा वायुसेवाले वार्षिक ३२ लाख १७ हजार सिट क्षमता मात्रै उपयोग गरेको तथ्यांकले देखाएको छ ।
प्राधिकरणले नेपालमा उडान गरिहेका सबै वायुसेवालाई साताको एकदेखि २१ वटासम्म उडान अनुमति दिएको छ । नेपाल आउने विदेशी वायुसेवाले आफ्नो उडान क्षमता र यात्रुसंख्याका आधारमा मागेको उडान तालिका अनुसार प्राधिकरणले अनुमति दिने हो । प्राधिकरणले दिएको यस्तो अनुमतिबाट वार्षिक सबै सिट क्षमताको प्रयोग गरेर अन्तर्राष्ट्रिय उडान हुने हो भने अन्तर्राष्ट्रिय उडानका वायुसेवाले एक वर्षमा ३६ लाख यात्रुलाई सेवा दिन सक्छन् । प्राधिकरणको तथ्यांकअनुसार यी वायुसेवाले मुस्किलले ३२ लाखलाई मात्रै सेवा दिइरहेका छन् ।
तथ्यांकअनुसार नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवामा भुटान एयरलाइन्सले सातामा एउटा मात्रै भुटान–काठमाडौ सीधा उडान गर्ने गरेको छ । यो वायुसेवाले सातामा चारवटा उडान अनुमति पाएको भए पनि बाँकी तीनवटा उडान भने भुटानबाट दिल्ली हुँदै काठमाडौं आउने गरेका छन् । यसरी एउटा गन्तव्यमा जाँदा यात्रु अर्को गन्तव्यमा झार्ने र ओराल्ने विधिलाई उड्डयन भाषामा पाँचौ ट्राफिक स्वतन्त्रता भनिन्छ । नेपालमा हाल यो अधिकार प्रयोग गरेर उडान गर्नेमा भुटानी वायुसेवा मात्रै छ ।
नेपालमा हाल अधिक उडान गर्ने विदेशी वायुसेवामा कतार एयरलाइन्स छ । यो वायुसेवाले एउटै गन्तव्यबाट सातामा २१ वटा उडान गर्दै आएको छ । कतारबाट काठमाडौंमा सीधा उडान गर्दै आएको यो वायुसेवाले सातामा विभिन्न प्रकारको सिट क्षमता भएको जहाजबाट १० हजार आठ हजार ५७ जनालाई सेवा दिने क्षमता राख्छ । एउटै गन्तव्यमा उडान गर्ने यो वायुसेवा बाहेक एउटै जहाजबाट नेपालमा धेरै उडान गर्ने वायुसेवामा एयर अरेविया पनि छ । यो वायुसेवाले यूएईको सारजाह र अबुधाबीबाट सातामा २३ उडान गर्ने गरेको छ ।
नेपालले विभिन्न ३८ वटा देशसँग हवाई सेवा सम्झौता गरेको छ । सम्झौता भएकामध्ये मुस्किलले १५ वटा देशबाट मात्रै नेपालमा नियमित उडान भइरहेको छ ।
नेपालमा आउने विदेशी वायुसेवामा धेरै यात्रुलाई सेवा दिने र जहाज संख्या धेरै प्रयोग गर्ने भारतीय वायुसेवा हो । भारतले विभिन्न गन्तव्यबाट दैनिक पाँचवटा वायुसेवा सञ्चालन गर्दै आएको छ । भारतले सातामै ३० हजार यात्रुलाई सेवा दिन पाउने गरी अनुमति पाएको भए पनि वार्षिक एक डेढलाखलाई मात्रै सेवा दिइरहेको छ ।
‘नेपालमा उड्डयन प्राधिकरणले दिएको यो उडान क्षमता अधिकतम हो’, नेपाल वायुसेवा निगमका कर्पोरेट विभाग निर्देशक तथा प्रवक्ता रामहरि शर्माले भने । उनका अनुसार दैनिक उडान तालिका र तोकिएको सिट क्षमता संसारमा नै कुनै वायुसेवाको पनि हुँदैन । कुनै पनि वायुसेवाको अधिकतम सिट प्रयोग क्षमता ९० प्रतिशतसम्म हुनु पूर्णक्षमताको प्रयोग भएको शर्माको बुझाइ छ ।
अन्तर्राष्ट्रिय वायुसेवामा ७५ प्रतिशतभन्दा बढी यात्रु भएमा थप उडान गर्ने गरिएको छ । कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवाको ७५ देखी ८० प्रतिशत अकुपेन्सी हुनुलाई लाभमा संचालन भएको मानिने बुझाइ पनि शर्माको छ ।
वायुसेवा निगमले पनि गत एक वर्षमा उडान विश्वसनियता ९८ प्रतिशत बनाउन सफल भएको थियो । यो उडान अनुसार निगमले यात्रु उडानमा तीन लाख ९८ हजार जनाको लक्ष्य लिएको भए पनि ७८ प्रतिशतको लोड क्षमता र ७३ प्रतिशतको सिट क्षमता प्रयोग गरेर तीन लाख ४४ हजार यात्रुलाईमात्रै सेवा दिन सकेको उल्लेख छ ।
उड्डयन प्राधिकरणबाट उडान अनुमति लिँदा सातामा कुन क्षमताको जहाजबाट उडान गर्ने खुलाउनु पर्ने हुन्छ । वायुसेवा निगमले हाल एक सय ५६ सिट क्षमताको एयरवस र एक सय ९० सिट क्षमताको बोइङ जहाज प्रयोग गरिरहेको छ । अन्य अन्तर्राष्ट्रिय वायुसेवाले पनि आफ्नो अनुकूलता र यात्रु मागअनुसारको जहाजबाट नेपालमा उडान गर्ने गरेका छन् ।
नेपालमा हाल सबैभन्दा ठूलो क्षमताका यात्रु उडान गर्नेमा कतार, कोरिया, मलेसिया, टर्किसलगायतका मुलुक पर्छन् । यी देशका वायुसेवाले एउटै जहाजमा एकैपटकमा तीन सयभन्दा बढी यात्रु क्षमता भएको वाइडबडी नामक जहाजबाट उडान गर्ने गरेका छन् ।
सरकारले उडान गरिएका अन्तर्राष्ट्रिय वायुसेवालाई वार्षिक ७२ लाख सिट क्षमता उपलब्ध गराएको छ । उपलब्ध गराएको सिट क्षमताको आधा मात्रै वायुसेवाले प्रयोग गर्ने अनुमति लिएकामा वास्तविक प्रयोग भने ३२ लाख मात्रै भएको तथ्यांकले देखाएको छ । नेपालले विभिन्न ३८ वटा देशसँग हवाई सेवा सम्झौता गरेको छ । सम्झौता भएकामध्ये मुस्किलले १५ वटा देशबाट मात्रै नेपालमा नियमित उडान भइरहेको छ ।
नेपालमा धेरै उडान गर्ने र सिट क्षमता उपयोग गर्ने देशमा भारत, चीन, यूएई, मलेसियालगायतका मुलुक भए पनि व्यवहारिक रूपमा भने निकै कम मात्रै उडान हुने गरेको प्राधिकरणले जानकारी दिएको छ ।