मेसीले विश्वकप छनोटका दुई खेल गुमाउन सक्ने
काठमाडौंः सन्यासको निर्णय फिर्ता लिएर अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका स्टार खेलाडी लियोनल मेसीले चोटग्रस्त भएका छन्। मेसीमा ह्यामस्टरिङको समस्या देखिएको स्पेनिस क्लब बार्सिलोनाले पुष्टि गरेको छ।
ह्यामस्टरिङको समस्याका कारण लियोनल मेसीले उरुग्वे र भनेजुएलाविरुद्धका दुबै खेल गुमाउन सक्ने सम्भावना बढेको छ। सोमबार गरिएको परिक्षणपछि मेसीमा ह्यामस्टरिङको समस्या देखिएको हो।
बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि १–० को जित निकाल्ने क्रममा मेसी घाइते भएका थिए। मेसीले कोपा अमेरिकाको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।
तर, नयाँ प्रशिक्षकका रुपमा एगार्डो बाउजा नियुक्त भएपछि मेसीलाई भेटेरै राष्ट्रिय टोलीमा फर्कन आग्रह गरेका थिए। समर्थकहरुको चौतर्फी दबाबपछि सन्यासको घोषणाको निर्णयबाट पछि हट्दै मेसी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका हुन्।
शनिवार अर्जेन्टिनाले उरुग्वेविरुद्ध पहिलो खेल खेल्दैछ। तर, त्यो खेलमा मेसी मैदान उत्रिने सम्भावना कम रहेको छ।