रिस फेर्न झूटो उजुरी र नक्कली पात्र

रिस फेर्न झूटो उजुरी र नक्कली पात्र

काठमाडौंः रूपन्देहीका पशुपति भुजले भाइ नाता पर्ने राजकुमार भुजसँग लेनदेन मुद्दा हारेपछि रिस फेर्न प्रहरीमा मानव बेचबिखनको उजुरी दर्ता गरेको पाइएको छ ।
पशुपतिले नक्कली पात्र खडा गरेर राजकुमारविरुद्ध मानव बेचबिखनजस्तो गम्भीर अपराधमा उजुरी दिएको तथ्य मंगलबार खुलेको हो । राजकुमारले भारतमा लगेर बेचिएको भनिएकी सुशीला भनिने कविता पुडासैनीले चार लाख रुपैयाँ पाउने प्रलोभनमा आफूले झूटा व्यहोराको मुद्दा प्रहरीमा दर्ता गराएको बयान प्रहरीमा दिएकी छन् ।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार पशुपतिले आफ्ना चिनजानका देवराज पुडासैनीलाई ६ लाख रुपैयाँको कार दिने प्रलोभन देखाएर कवितालाई प्रहरीमा उजुरी दिन लगाएका थिए । ‘राजकुमार भुजले दिल्लीमा पुर्‍याएर बेच्यो, पाँच वर्ष नारकीय जीवन बिताएर नेपाल फर्किएँ । उसलाई कारबाही गर्नुप¥यो’, भनेर कविताले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान गर्दा घटनाले अर्के मोड लिएको छ ।

राजकुमारलाई मानव बेचबिखनका दलालको आरोप लगाउँदै कविताले आफूलाई कलंकी, भैरहवा, दमौली हुँदै दिल्ली पुर्‍याएको बताएकी थिइन् । गम्भीर प्रकृतिको मुद्दा भएकाले प्रहरीले सूक्ष्म अनुसन्धान गरेको थियो । प्रहरीले उजुरीका आधारमा राजकुमारलाई साउन १२ गते पक्राउ गरेको थियो । तर उनले कवितालाई चिन्दै नचिन्ने र आफूमाथि लगाइएको मुद्दा झूटा भएको बयान प्रहरीमा दिए ।

पीडित भनिएकी कविताले प्रहरीमा उजुरी दिँदा गोरखपुरको रेलको टिकटसमेत समावेश गरेकी थिइन् । प्रहरीले कविताले उजुरीमा उल्लेख गरेको रेलको टिकटका बारेमा बुझ्न रूपन्देही प्रहरीमा पत्राचार गर्दा उक्त रेकर्ड फेला परेन । कविताले दिल्ली-गोरखपुर-रक्सौल हुँदै काठमाडौं आएको जानकारी प्रहरीमा गराएकी थिइन् । ‘काठमाडौंबाट राति ११ बजे भैरहवा पुगियो ।

बिहान तीन बजे सुनौलीमा राखेर के औषधि खान दियो थाहा भएन ब्युँझिँदा त दिल्लीमा रहेछु’, कविताले उजुरीमा उल्लेख गरेकी थिइन् । ‘रेलको टिकटको रेकर्ड फेला नपर्नु र कविताले सुनौलीबाट एकैचोटि दिल्ली पुगेर ब्यँझिएको कुराको मेल नखाएपछि अनुसन्धान तीव्र पार्दा उनी झुटा साबित हुन पुगिन्’, परिसरका मुद्दा शाखाका डीएसपी रवीन्द्र रेग्मीले भने ।

अनुसन्धानका क्रममा देवराजले बहिनी मानेकी कविता साँच्चै हुन् कि होइनन् भन्नेमा शंका लागेर प्रहरीले उनको घर पत्ता लगाएको थियो । देवराजको डेरा चाबहिल चुच्चेपाटीमा पुगेर बुझ्दा उनको एउटा दिदीमात्रै रहेको र बहिनी नभएको पत्ता लागेपछि पीडित भनिएकी कविताको उजुरीमाथि प्रहरीले शंका गरेको थियो । ‘देवराजको डेरामा पुगेर परिवारसँग सोधपुछ गर्दा उनको बहिनी रहिनछिन्, तबमात्रै हामी निष्कर्षमा पुग्यौं । यो घटनाभित्र कुनै रहस्य छ’, डीएसपी रेग्मीले भने ।

प्रहरीले देवराजलाई पुनः टेकुमा ल्याएर ‘तपाईं झूटो उजुरी लिएर आउने’ भनेर प्रश्न सोधेपछि उनी झस्किए । उनले ‘साँचो कुरा भन्छु’ भन्दै सबै कहानी प्रहरीमा सुनाइदिए । पशुपति ढुंगेअड्डा डेरा गरी बस्दै आएका बेला उनीसँग चीनजान भएको बयान देवराजले प्रहरीमा दिएका छन् ।

‘पशुपति भुज र भाइ नाता पर्ने राजकुमारबीचको लेनदेन मुद्दा केही महिनाअगाडि अदालतमा चलेको रहेछ । राजकुमारले मुद्दा जितेपछि पशुपति रिस फेर्ने दाउमा थिए । मलाई सबै कहानी बताएपछि बहिनीको नाटक गर्न कवितालाई मनाए’, देवराजको बयान उल्लेख गर्दै डीएसपी रेग्मीले भने । देवराजले प्रहरीमा बयान दिएअनुसार मानव बेचबिखन मुद्दामा राजकुमार जेल परेपछि उनलाई ६ लाख रुपैयाँको कार किनिदिने आश्वासन पशुपतिले दिएका थिए ।

‘मलाई तिमी दाजु बन र एउटी बहिनी पात्र खोजेर राजकुमारविरुद्ध प्रहरीमा मानव बेचबिखनको मुद्दा हाल, कार किनिदिन्छु भन्यो, त्यही भएर यी योजना बुनेको हुँ’, देवराजको बयान उद्धृत गर्दै डीएसपी रेग्मीले भने । देवराजले प्रहरीमा बयान दिएअनुसार उनी बुहारी नाता पर्ने एक महिलाको हत्या अभियोगमा नौ वर्ष जेल सजाय काटेर गत जेठ १५ गते छुटेका थिए ।

प्रहरीले मंगलबार मात्रै कवितालाई पक्राउ गरेको छ । कविताले चार लाख पाउने आसमा देवराजले भनेअनुसार बहिनी र नयाँदिल्लीमा बेचिएको नाटक गरेको बयान प्रहरीमा दिएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.