प्रचण्ड-गगनको अन्तिम उडान !
चर्चित युवा नेता गगन थापा मन्त्री बनेका छन् । मन्त्री कार्यकारी पद हो । कार्यकारी भनेको (बृहत् शब्दकोशअनुसार) विशेष रूपले कुनै काम गर्ने व्यक्ति हो, जसले सम्पूर्ण अधिकार उपभोग गरी काम गर्छ ।
सोलुखुम्बुका गगन थापा मात्र होइन, सुर्खेतका हृदयराम थानी, हुम्लाका जीवन शाही, रुकुमका जनार्दन शर्मा 'प्रभाकर', तनहुँका शंकर भण्डारी, दाङका दीपक गिरी, काठमाण्डौंका नवीन्द्रराज जोशी, नुवाकोटका प्रकाशशरण महत, दार्चुलाका जयदेव जोशी पनि मन्त्री बनेका छन् ।
युवाहरूले मन्त्रीको कार्यकारी पद पाएका छन् । यसले अब कार्यकारीको जिम्मेवारी युवा पुस्ताले पाएको सन्देश प्रवाहित भइरहेको छ । राजनीति गर्ने बूढो, पुरानो पुस्ता पटक-पटक मन्त्री भए । किटेरै भन्ने हो भने- सत्र, उन्नाइस र एक्काइसपटक पनि मन्त्री बनेका राजनीतिज्ञहरू छन्, तर तिनले परिवर्तनको महसुस जनतालाई कहिल्यै गराउन सकेनन् किनभने तिनले राजनीतिक कर्म गरेको फल मन्त्री बनी झन्डावाल गाडीमा गुड्न मात्र सीमित रहे ।
त्यसैले मन्त्री बन्न एक दलबाट अर्को दल र दलदलमै हिँडिरहे । हिलोमै गाडिएर पनि मन्त्री बन्न खोजिरहे । मन्त्री बन्नु नै राजनीतिक सफलताको कडी हो र मन्त्री बन्न नसके आफ्नो अस्तित्व अवशान हुने र प्राणपखेरु उडेर जान्छ भन्ने स्वभाव र प्रवृत्ति प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रकालमा पनि कायमै राखे ।
'ढिलो होस् तर छोरी नै होस्' भन्ने परिवर्तित उखान बनेजस्तै पटकपटक गरेर महिना दिन नपुग्दै मन्त्रिपरिषद्को चौथो पुनर्गठनमा युवा मन्त्रीहरू हररर लामबद्ध भएका छन् । यसले नेपाली समाजमा तरंग उत्पन्न गरेको छ । यसैको बिम्ब हुन्- गगन थापा !
०६२÷६३ को जनआन्दोलनले स्थापित गरेको र त्यससँगसँगै नेपाली राजनीतिको युवा आइकन बनेका हुन्, गगन थापा । गगन त्यस्तो युवा स्पिरिटको आइकन हो, जसले अघिल्लो कांग्रेस महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा चुनाव जितेको थियो । भर्खरै सकिएको कांग्रेसको महाधिवेशनमा गगन केन्द्रीय कार्यसमितिमा मात्र सीमित भएन ।
सत्ता र प्रतिपक्ष भन्दै मोलतोलमा विभाजित कांग्रेसीहरूबीच नयाँ पुस्ता जबर्जस्त रूपमा उम्मेदवार बन्ने अवस्था नदेखेपछि म आफैँ महासचिवको उम्मेदवार बन्छु भनेर गगन मैदानमा उत्रियो । कांग्रेसभित्रको कुलिन, लाहुरे र जेन्युइनमध्ये गगनले आफूलाई जसरी फ्याट्ट जेन्युइन कांग्रेसको कित्तामार्फत प्रस्तुत गर्यो, जबकि पदीय फाइदा लिन परम्परागत र अवसरवादी राजनीतिज्ञको लहैलहमा उसले आफूलाई लाहुरे वा कुलिन कांग्रेसको रूपमा अगाडि बढाउन सक्थ्यो, तर ऊ सचेत बन्यो ।
लाहुरे र कुलिन कांग्रेसको पारिवारिक सम्बन्धले नै गगनको नाउँमा धब्बा लागेको हो- घैंटे थापा ! गगनले आफूलाई बेलैमा सच्यायो, पारिवारिक र लाहुरे संगतमा लहसिएँ भने मैले प्रतिनिधित्व गर्ने युवा पुस्ताको शिर निहुरिन्छ भनेर ऊ झस्कियो । बारम्बार घैंटे थापा नामकरण तथा केही भूल्चुक र लेनादेनाले मूल प्रवाहबाट बाहिर हुन्छु भनेर छुटकारा पाउन गगनले ठूलो प्रयत्न गर्यो ।
आफ्नो कद घट्न लागेको महसुस गरेर गगन सार्वजनिक, जनजीविका र विविध विषयमा जबर्जस्त रूपमा देखा पर्यो । केही समय सामाजिक सञ्जालमा घैंटे थापा भनेर व्यंग्यको पात्र बनाइएको गगन कांग्रेस महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर २० प्रतिशत मत मात्र ल्याएन कि आफ्नै ससुरा महामन्त्रीमा उठ्दा पनि आफूलाई जेन्युइन कांग्रेसको कित्तामा कायमै राख्यो । जेन्युइन कित्तामा बसेर त्यसमार्फत राजनीतिलाई अगाडि बढायो ।
कांग्रेस महाधिवेशनलगत्तै भएको नेविसंघको अधिवेशन भाँडिएको जगजाहेर छ तर संघको पूर्वमहामन्त्री र सशक्त युवा राजनीतिज्ञको रूपमा गगनले विद्यार्थीहरूलाई सहमतिमा ल्याएर संघलाई सेफ ल्यान्डिङ गराउन महत्त्वपूर्ण भूमिका पनि निर्वाह गर्यो । यिनै कारणले सभापति शेरबहादुर देउवा गगनलाई मन्त्रीमा सिफारिस गर्न राजी भए । यो गगनले निर्वाह गरेको सशक्त भूमिकाका कारण नै सम्भव भएको हो ।
गगन यतिखेर चर्चित हुनुको अर्को विशेषता हो, उसले प्रदर्शन गरेको डरलाग्दो साहस ! संसदीय समितिको सभापतिबाट राजीनामा दिएर मन्त्री बन्ने चरण आउनुअघि नै गगनले अख्तियार प्रमुखविरुद्ध महाभियोग दर्ज गरेर धेरै ठूलो साहस प्रदर्शन गर्यो । यसले के स्पष्ट पार्यो भने गगन बारम्बार आफूलाई कमनरको पक्षमा उभ्याउन प्रयत्नशील छ । त्यसैले ऊ आफूलाई 'म' कमनरको च्वाइस बोक्ने व्यक्ति हुँ भनेर अगाडि आइरहेको छ । डा. गोविन्द केसीको मागमा डा. केदारभक्त माथेमा आयोगको प्रतिवेदनको पक्षमा गगन हिँडिरह्यो । यसरी अनेक मोडमा गगनले आफूलाई तिखारिरहेको छ ।
गगनको राम्रो पक्ष हो, मिडियाकर्मीसँगको सामीप्यता । युवा मिडियाकर्मीले गगनको गोडमेल र मलजल मजासँग गरेका छन् । गगनको वैचारिक स्पष्टता, वक्तृत्वकला चम्काउने अभिव्यक्तिलाई आर्टिकुलेट गरेर सघाउन भाइपुस्ताका सञ्चारकर्मीहरूले दिएको कुरा सधैं गगनले टिपेको छ । ऊ आफ्नो हित हुने कुरालाई यसरी टिप्न सक्छ, जसरी सेनाको तालिममा गुरुवाले दिएको आदेशको पालना रिक्रुटेले जसरी नै टिप्न खप्पिस छ ।
यसरी गगनले आफ्नो व्यक्तित्व बनाउने सीप र कला उजिल्याउँदै आफूलाई यो उचाइमा पुर्याउन सकेको हो । जबकि कतिपय सन्दर्भमा उसका नजिक रहेकाले बाख्रापालन होस् वा मासु पसलका नाममा आर्थिक लाभ लिएका छन् । अन्तर्राष्ट्रिय र राष्ट्रिय एनजीओको अनुदानमा र्याल काढेर गगनलाई प्रयोग नगरेका पनि होइनन् ।
अब के ?
गगन मन्त्री बनेको छ र उसले कार्यकारी अधिकार पाएको छ । संसारमै 'आइकोनिक फिगर' सँग काम गर्ने यस्तो टिम हुन्छ, जो अहोरात्र दत्तचित्त भएर सफल बनाउन लागिरहेको हुन्छ । पलपलमा मार्गदर्शन गरिरहेको हुन्छ । सिनमा गगन एउटा देखिए पनि उसको समूहमा धेरै थरी अवयव सक्रिय भइरहेका हुन्छन् । त्यसैले उसले हरेक क्षण उपलब्धि हासिल गरिरहेको हो । सिंगापुरका लिी क्यान यु, मलेसियाका महाथिर मोहम्मद, दक्षिण कोरियाका पाकचुङ ही त्यस्तै आइकन हुन् ।
रोम एक दिनमा बनेको होइन भन्ने चर्चित भनाइ नै छ । न मलेसिया, न सिंगापुर न लाखौंलाख नेपाली काम गर्नको लागि जान चाहने दक्षिण कोरिया नै एक रातमा बनेको हो । कुनै पनि देश एक वर्षमा विकसित हुँदैनन् । देश बन्न वर्षौं लाग्छ । दक्षिण कोरिया, सिंगापुर र मलेसिया बनाउने माथिका नामहरू 'टिप्स अफ द आइसवर्ग' जस्तो मात्र हुन् ! तर ती एकका पछाडि र उसभित्र यतिधेरै मान्छेका कूतुहल, उत्सुकता, समर्पण, प्रतिबद्धता भएका मानिसको जमात हुन्छ । अनि न देश बन्ने हो !
भनौं न, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मुलुकलाई समृद्ध बनाउनुपर्छ भनिरहेका छन् । यसो भनिरहने प्रचण्ड को हुन् ? चिनाइरहनु पर्दैन । उनी एउटा भरुवा बन्दुक बोकेर सशस्त्र क्रान्ति गर्नुपर्छ भनेर निस्कने आँटिला र विद्रोही जनसेनाका सुप्रिम कमान्डर हुन् । उनै अहिले देशका कार्यकारी प्रमुख छन् ।
प्रचण्डको अध्यक्षताको मन्त्रिपरिषद्मा गगन थापा ब्रिगेडियर बनेर आएका छन् । यो मन्त्रिपरिषद्मा छुटेका घनश्याम भुसाल, योगेश भट्टराई, चन्द्र भण्डारी, रवीन्द्र अधिकारी, रेखा शर्मा, विष्णु रिमाल, गुरु घिमिरे, विश्वप्रकाश शर्मा हुन् । त्यसो त नेत्रविक्रम चन्द 'विप्लव', प्रदीप पौडेल, रामकुमारी झाँक्री, विन्दा पाण्डे पनि समावेश हुन सकेको भए मुलुकले फड्को मार्ने थियो ।
प्रचण्ड दिन तोकिएको प्रधानमन्त्रीको रूपमा रहेका छन् । हिजोसम्म नौमहिने प्रधानमन्त्री भनिन्थे, आज आठमहिने भन्न थालिसके र असोज लागेपछि सातमहिने सरकार भनिनेछन् । प्रचण्ड भने भन्दैछन्, म गर्न आएको हुँ र गरेर देखाउँछु ! तर महिना दिन बितिसक्दा पनि छनक पनि देखाउन सकेका छैनन् । आउँदो दुई सातामा पनि देखाउने लक्षण देखिएको छैन किनभने दिल्ली दर्शनको तयारीमा कस्सिएर लागिरहेछन् । त्यसलगत्तै न्युयोर्क जाँदैछन् । उनको असोज र कात्तिक महिना पनि चाडपर्वको रन्कोमै सकिनेवाला छ । बरु उनले प्रधानमन्त्रीको शपथ खाएदेखि सवारी दुर्घटना र बाढीपहिरोले मान्छे मरेको मरेकै छन् ।
यस्ता कारणले प्रधानमन्त्री प्रचण्डलाई अल्मल्याइरहेको छ । मधेस आन्दोलनको काँडो 'उचुक' पल्टिएर बसिरहेछ । म्याराथुन दौड प्रतियोगितामा जस्तो 'लेट, सेट गो' जस्तो गर्न सकेका छैनन् । प्रचण्ड बेफुर्सदिला नै छन् । तर पनि प्रचण्डले गगन जस्ता जाज्वल्य युवाहरू मन्त्री पाएका छन्, आफ्नो क्याबिनेटमा !
प्रचण्ड-गगन जोडिएर क्याबिनेट बन्नु भनेको नेपाली परिवर्तनको एउटा प्रतीक हो । यो प्रतीकले गति लिएन र छाप छोडेन भने युवा पुस्ता र आन्दोलनको आवेग र संवेगले अर्को मोड लिन सक्छ, जुन शान्तिपूर्ण विकासको लागि एकदमै बाधक हुन सक्छ र यो मोड अर्कोतिर पुग्न सक्छ ।
प्रचण्ड र गगनले संयमित र जनआन्दोलनको उभारलाई अगाडि राखेर आफूलाई सिम्बोलको रूपमा प्रयोग गर्न सकेनन् भने यिनको राजनीति पनि समाप्त हुनेछ जसरी हवाईजहाज र हेलिकोप्टरको पाइलटलाई गल्ती दोहोर्याउने अवसर प्राप्त हुँदैन, त्यसैगरी प्रचण्ड र गगन पनि नेपालका त्यस्ता पाइलट हुन्, जसले मिस्टेक गरे भने जीवनमा दोस्रो उडान भर्न पाउने छैनन् !
जनताले चाहेको परिवर्तन यस्तो हो । सुशासन भनेको यस्तो हो । जनआन्दोलन र संविधान बनेपछिको सरकार भनेको यस्तो हो भन्दै जनभावना र स्पिरिटलाई क्याच गर्न उनीहरूले नयाँ योजना र कामबाट झिल्का दिन सक्नुपर्छ ।
प्रचण्ड र गगनले संयमित र जनआन्दोलनको उभारलाई अगाडि राखेर आफूलाई सिम्बोलको रूपमा प्रयोग गर्न सकेनन् भने यिनको राजनीति पनि समाप्त हुनेछ जसरी हवाईजहाज र हेलिकोप्टरको पाइलटलाई गल्ती दोहोर्याउने अवसर प्राप्त हुँदैन ।
जनआन्दोलनका सशक्त केही व्यक्ति मन्त्रिपरिषद् बाहिर रहँदारहँदै पनि लोकतान्त्रिक आन्दोलनलाई गतिदिने व्यक्तिहरूको टिम वर्तमान मन्त्रिपरिषद्मा राम्रैसँग देखिएको छ । अब प्रचण्ड-गगनले आफ्नो गतिशीलता प्रदर्शन गर्न मात्र बाँकी छ । आफूलाई परिवर्तनकारी, इमानदार, गतिशील र भिजनरी सावित गर्दै गगन र प्रचण्डको टिमले कार्यकारी भूमिका निर्वाह गर्दै जनतालाई छ्यांङसँग देखाउन सक्नुपर्छ, जसबाट आलोचकको मुखमा पनि बिर्को लागोस् ! युवा पुस्ता राजनीतिलाई बेवास्ता र घृणा होइन, सम्मान र सहभागी हुन आतुर होस् ।
पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेका सल्लाहकार तथा व्यवस्थापन विषयका युवा अध्यापक अश्विन पुडासैनीले प्रचण्ड-गगन टिमको सरकारका अगाडि दस कर्म प्रस्तुत गरे-
१.राष्ट्रिय जागरणको जग- यो सरकार सुशील कोइरालाको जस्तो भारतीय नाकाबन्दी र मधेस आन्दोलनको अवस्थामा छैन । न त ओली प्रधानमन्त्री बन्दाजस्तो नेपालीको मनोबल गिरेको जस्तो नै छ । यो त ओलीले ल्याएको राष्ट्रिय जागरणको जगमा छ । यसको लाभ यो सरकारले लिन सक्नुपर्छ ।
२.शान्तिसुरक्षा र सुशासन- योविना राष्ट्रको व्यवस्थापन हुन सक्दैन । हाम्रा सुरक्षा अंगहरूलाई राजनीतिक हस्तक्षेपविना व्यावसायिक रूपमा सञ्चालन हुन दिनुपर्छ ।
३.समय व्यवस्थापन र कार्ययोजना- हाम्रा प्रधानमन्त्री र मन्त्रीहरूको समय माला-खादा, भोजभतेर, आफन्त, बिचौलियासँग व्यतित भइरहेछ । यसलाई निशेध गरी समय, समयतालिका र कार्ययोजनाअनुसार नचलेसम्म एक कदम पनि अगाडि बढ्न सकिँदैन ।
४.अठार घन्टा काम गर- भनाइ नै छ कार्यकारीलाई आराम र निजी समय प्राप्त हुँदैन । त्यसैका लागि उनीहरूलाई स्रोतसाधन र सुविधा उपलब्ध गराइएको हो । त्यसैले यो कुरा मनन गर आन्दोलनमा जस्तै अठार घन्टा काम गर ।
५. प्राथमिकता तोक- हाम्रो कर्मचारीतन्त्र खरिद कार्यप्रणाली, पद्धति र नीतिनियममै आफूलाई सीमित गरिरहेछ । तिनमा गतिशीलता ल्याउन विज्ञ व्यवस्थापकहरूमार्फत चुस्त संयन्त्र बनाई जरुरी, महत्त्वपूर्ण र सामान्य कामको वर्गीकरण गर्ने कार्यसंस्कृति बसाऊ ।
६.चर्चा होइन, नतिजा देखाऊ -सानातिना कामलाई सञ्चारमाध्यममा छाउन लगाएर चर्चामा आउने होइन, नतिजा देखिने काम गर । जनताले प्राप्त गर्ने उपलब्धि र सहजताका लागि काम गरिएको हो भन्ने संस्कृति बसाल । कार्यकारी यसरी नै चल्नुपर्छ ।
७. सपना देखौं र कार्यान्वयन गरौं- भनिन्छ, दिउँसो सपना देख्ने र दिनरात नभनी काम गर्ने कार्यकारीले मात्र सकारात्मक परिवर्तन ल्याई नतिजा दिन सक्छ । आफूले सपना देखेका विम्बहरूलाई आँखैअगाडि देख्ने गरी राख र त्यसलाई पूरा गर्न अहोरात्र खट ।
८.व्यवस्थापकीय सीप र औजार- नेपालमा स्रोतसाधनको होइन, व्यवस्थापकीय सीप र औजार प्रयोगको अभाव छ । मानवस्रोत व्यवस्थापन र विज्ञान-प्रविधिको अत्यधिक प्रयोगले नै विकास सम्भव हुन्छ । कार्यकारीले ध्यान दिने र नेतृत्व क्षमता यसैमा देखाउने हो ।
९. जनतामा जाऊ, तिनकै प्राथमिकता कार्यान्वयन गर- यहाँ यस्तो समूह छ, जो जुन सरकार आए पनि त्यही समूह, झुण्ड र व्यक्तिहरूले शक्ति केन्द्र घेरिइरहेका हुन्छन् । त्यसैले कार्यकारीले सिर्जनशील बनेर कार्यमुखी विचार- कार्यक्रम सुझाव र समाधान दिन सक्ने व्यक्ति पहिचान गरी उनीहरूलाई सुन । खोजीखोजी समय व्यतित गर । स्तुतिगान गर्नेहरूसँग टाढै बस ।
१०. तिमीलाई तीन घन्टाको समय छ- व्यवस्थापनमा प्राथमिकता तोक्ने एउटा दर्शन छ -तिम्रो आयु तीन घन्टा मात्र छ, ल भन तिमी यति समयमा के गर्न चाहन्छौ ? हरेकले फरक जवाफ दिन सक्छन् तर प्रत्येकले तीन घन्टामा नगरिनहुने काम मात्र छान्छ र तत्कालै त्यही काम गर्छ र समयको पूरा सदुपयोग गर्छ । त्यसैले समय तोकिएको यो सरकारलाई पनि लक्ष निर्धारण गरेर चल्नुको विकल्प छैन । दायाँबायाँ गर्ने छुट पनि छैन, समय पनि छैन !