बैकको जागिर छाडेर व्यावसायिक कृषि
भक्तपुरः भक्तपुरको दुवाकोटका तीन युवा बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा लागेका छन् । बैंकको वातानुकूलित मेसिनयुक्त सुविधाजनक कोठा छाडेर उनीहरू घामपानीमा काम गर्न कम्मर कसेर लागेका हुन् ।
बैंक अफ काठमान्डू लुम्बिनीको मुख्य कार्यालय कमलपोखरीमा काम गर्ने नवीन न्यौपाने, भक्तपुर शाखामा काम गर्ने सुरेन्द्र न्यौपाने र सिटिजन्स् बैंक भक्तपुर शाखामा काम गर्ने अनिल न्यौपाने जग्गा भाडामा लिएर व्यावसायिक कृषिमा लागेका हुन् ।
न्यौपाने बन्धु कृषि फार्म सञ्चालन सुरु गरेका उनीहरूले बैंकको जागिरबाट किन कृषिमा होमिनुपर्यो त ?‘भारतको नाकाबन्दीले हामीलाई सोच्न बाध्य बनायो, हामीले तरकारीसमेत भारतको खाइराखेका रहेछौं, अधिकांश कृषिजन्य उत्पादन भारतबाटै आयात भइरहेकोछ, निर्यात केही छैन’, उनीहरूले एकै स्वरमा भने, ‘यसले हाम्रो मन छोयो । अब हामीले कृषिमा केही गर्नुपर्छ भन्ने लागेर तीनैजनाले सल्लाह गरेर बैंकको जागिर छाडेका हौं ।’
उनीहरूले कमसेकम कृषिमा देशलाई आत्मनिर्भर बनाउन सके नेपालको विकास निश्चित भएको देखेर कृषिमा होमिएको बताएका छन् । नवीन र सुरेन्द्रले बैंक अफ काठमान्डू लुम्बिनीमा आठ वर्ष काम गरेका थिए भने अनिलले सिटिजन्स्मा सात वर्ष । यत्रो वर्ष खाएको जागिर छोड्दा तीनैजनाले घरपरिवारको हप्कीसमेत खानुपर्यो । उनीहरूका अनुसार आफ्नो खेतबारीमा काम गर्नुपर्ने बेला दुःख गर्नुपर्ला भनी उनीहरू अफिसको बहाना बनाई चाँडै घरबाट निस्किन्थे ।
‘यस्तो अवस्थाका हामीले बैंकको जागिर छाडेर कृषिमा लागेको भन्दै घरपरिवारले मार गाली गरे’, अनिल भन्छन्, ‘घरपरिवारले त बैंकको जागिर नै ठीक भनेका थिए । तर हामी कसैका कुरा नसुनी कृषिमा लाग्यौं ।’
‘भनेका बेला बिदा नपाइने, घरमा काम पर्दा पनि अफिस जानुपर्ने । खोई के ठीक भन्ने बैंकको जागिर’, नवीनले थपे । अहिलेसम्मको उपलब्धिले बैंकको जागिर छोडेकोमा कुनै पश्चाताप र पछुतो नभएको उनीहरूले बताए ।
‘जेठमा लगाएको गोलभेंडाबाट साउनसम्ममा ५० हजार आम्दानी भयो’, सुरेन्द्रले भने, ‘अहिले दैनिक २४ किलो गोलभेंडा उत्पादन भइरहेको छ । बेच्न अन्त दुःख गर्नुपर्दैन । गाउँमै बिक्री गर्न अपुग छ ।’
उनीहरूले पहिलो चरणमा दुवाकोटको सरस्वतीखेलमा तीन रोपनी खेत भाडामा लिएर व्यावसायिक गोलभेंडा खेती र माछापालन गरेका छन् । उनीहरूको खेतमा गोलभेंडासँगै तीतेकरेला, काँक्रो, बोडी, धनियाँ र सिमी पनि फलिरहेको छ ।
कृषिमा देशलाई आत्मनिर्भर बनाउन सके नेपालको विकास निश्चित भएको देखेर उनीहरू यो पेसामा होमिएका हुन् ।
२० फिट चौंडाइ र ४५ फिट लम्बाइ भएको पोखरीमा भने चार सय मुंग्री माछा पालिएका छन् । तीन महिनाभित्र तयार हुने माछा दसैंलाई बजार लान ठिक्क हुने उनीहरूले जानकारी दिए ।
दोस्रो चरणअन्तर्गत अब आउने पुसभित्र थप पाँच रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि विस्तार गर्ने योजना रहेको नवीनले सुनाए । ‘जग्गा भाडासम्बन्धी सम्झौता भइसक्यो’, उनले भने, ‘पुससम्ममा सबै काम पूरा हुन्छ ।’
थप हुने क्षेत्रफलमा गोलभेंडासँगै च्याउ, कुरिलो, मटरकोसा र खुर्सानी खेती गर्ने तयारीसाथ अघि बढेको सुरेन्द्रले बताए । उनले कृषिलाई आवश्यक प्रांगारिक मलको पूर्तिका लागि बाख्रा र गाईसमेत पाल्ने जानकारी दिए ।
करिब साढे तीन लाख रुपैयाँबाट सुरु गरिएको फार्मको लगानी पुससम्ममा दस लाख पुग्ने अनिलले बताए । सीमित लगानीबाट बढी प्रतिफल लिने आफूहरूको लक्ष्य रहेको उनको भनाइ थियो । अहिले उनीहरू तीनैजना दैनिक खटिएर लागिरहेका छन् । बढी काम हुने बेला भने खेताला लगाउने गरेका छन् । यस्तै आआफ्नो घरघरमा काम हुँदा उनीहरूबीच आलोपालो हुने तथा खेताला थप्ने गरिएको छ ।
बैंकको जागिर छोडेर व्यवसायिक कृषिमा होमिँदा पनि जिल्ला कृषि विकास कार्यालयले भने नपत्याएको भन्दै उनीहरूले गुनासो गरे । कृषिसम्बन्धी परामर्श, प्राविधिक सहयोग एवं अन्य सरकारी सेवासुविधाबारे बुझ्न जाँदासमेत कुरै नसुनी फर्काइएको उनीहरूको दुःखेसो थियो । उनीहरूले आफ्नै निजी कृषि प्राविधिक व्यवस्था गरेका छन् ।