हराएका महिला र बालबालिका किन फेला पर्दैनन् ?
लिबाङ रोल्पाः भाबाङ ४ रोल्पाकी ५१ वर्षीया चन्द्रकला डाँगी २०७३ साउन ११ गते आफ्नै घरबाट बेपत्ता भइन् । पति दर्जित डाँगीले साउन १८ गते जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका सेवा केन्द्रमा खोजीका लागि जाहेरी दिए ।
माइत जान्छु भनेर घरबाट हिँडेकी ह्वामा ९ की वर्ष ३५ की खुमाकुमारी घर्तीमगर न माइत पुगिन्, न त घर फर्किइन् । उनी साउन ११ मा १२ बर्से छोरा राजन घर्ती र ७ वर्षीय छोरा विप्लवसहित बेपत्ता भइन् । पतिले माडीचौर प्रहरीचौकीमा जाहेरी दिए ।
साउन ६ गते तेबाङ ८ की २१ वर्षीया थमा पुनमगर हराइन् । उनका जेठाजु रीतमान पुनले खोजीका लागि साउन २० गते प्रहरीमा उजुरी दिए । थमा घरैबाट हराएको परिवारका सदस्य बताउँछन् । त्यसो त सुलीचौर बजार जान्छु भनेर घरबाट निस्केकी बडाचौर ९ की १७ वर्षीया हेमला विष्ट साउन १७ गतेबाट हराइरहेकी छन् । बजारबाट घर फर्कने आशामा रहेका परिवारका सदस्यले उनी तीन दिनसम्म बेपत्ता भएपछि साउन २० गते खोजीका लागि जिप्रकामा जाहेरी दिए ।
लिबाङ नगरपालिका ७ की २७ वर्षीया अनिता गिरी (नेपाली) साउन ७ घरबाट हराइन् । बुहारी धेरै दिनसम्म घर नआएपछि गाउँघरमा खोजी भयो । फेला नपरेपछि ससुरा बुद्धिराम नेपालीले साउन २८ गते प्रहरीमा जाहेरी दिए । जेदबाङ ३ रोल्पाकी ३५ वर्षीया दिलमाया कामी पनि असार २१ गते लिबाङबाट बेपत्ता भइन् । पति मोतीलाल कामीले जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका सेवा केन्द्रमा साउन ९ गते खोजीका लागि जाहेरी दिए ।
नयाँ आर्थिक वर्षको सुरुको महिनामै यसरी सातजना हराएको भन्दै खोजीका लागि प्रहरीमा जाहेरी परेको छ । प्रहरीले सातैजनाको खोजी गरिरहेको जनाए पनि अभैm कोही फेलापारेको छैन । महिला सेल र मुद्दाफाँटमा पनि असारमा जिनाबाङ ८ ओइलामका १७ वर्षीय दीपेन्द्र भण्डारी र अर्का एक पुरुष बेपत्ता भएको भन्दै खोजीका लागि जाहेरी परेको छ । भण्डारी भारतबाट घर फर्कंदै गर्दा बेपत्ता पारिएका थिए ।
जिल्लाबाट हराएकाहरू यी प्रतिनिधि घटना हुन् । जिल्ला प्रहरीको अभिलेखअनुसार तीन वर्षयता यहाँका १ सय ७६ जना बेपत्ता भएका छन् । आव २०७०/०७१ मा २४ महिला, ७ बालक र ४ बालिका हराएका थिए भने आव २०७१/०७२ मा ४२ महिला, १५ बालक र ४ बालिका हराए । अघिल्ला वर्षको तुलनामा पछिल्ला वर्षमा मानिस हराउने क्रम बढेको छ ।
आव २०७२/०७३ मा ८० जना हराए । त्यसमा महिला ४२, बालक १९ र बालिका १९ थिए । महिला सेलमा रहेको अभिलेख हो यो । पुरुष हराएको जाहेरी भने मुद्दाफाँटमा गर्ने प्रचलन छ । फाँटका प्रहरी हबल्दार केशव नेपालका अनुसार आव २०७२/०७३ मा २ पुरुष हराए । त्यसमा झेनाम ३ का वर्ष २६ का पूर्ण घर्तीमगर र सिर्प २ का दुर्भान पुन छन् ।
हराउनेहरूमा अधिकांश महिला र बालबालिका छन् । प्रहरीको रेकर्डअनुसार हराएकामा ४१ महिला, २३ बालक र १३ बालिकालाई फेला पारिएको छ । फेला पार्न नसकिएमा १ सय ६ जना छन् । त्यसमा महिला ७२, बालक २० र बालिका १४ छन् ।
किन हराउँछन ?
शान्ति प्रकियापछि पनि रोल्पाका गाउँगाउँबाट बालबालिका र महिला हराउने वा बेपत्ता हुने क्रम रोकिएको छैन। युद्धको समयमा भन्दा पछिल्ला दिनमा बालबालिका र महिला हराउने क्रम झन् बढेको छ। तर हराएका बालबालिका र महिला कमै भेटिने गरेका छन्। उनीहरु कहाँ जान्छन् ? उनीहरुलाई कसले कहाँ लैजान्छ ? रहस्यको विषय भएको छ।
धेरैजसो बालबालिका नेपाल र भारतको सिमानामा भारत जाँदै गर्दा हराएका उदाहरण छन् । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायबउपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार बालबालिका लहैलहैमा घरबाट भागेर सहरतिर र भारततिर जाने गरेको पाइएको छ । अभिभावकलाई थाहै नदिई भागेर गएका बालबालिका बेपत्ता हुने गरेका छन् ।
महिलाहरू भने घरायसी विवाद र असन्तुष्टिले गर्दा घर छाडेर बेपत्ता हुने गरेका छन् । कतिपय हराएका भनिएका महिलाले परपुरुषसँग दोस्रो विवाह गरेको पाइको छ । हराउनेहरूमा अधिकांश विवाहित महिला छन् । घरबाट भागेर भारतमा गई दोस्रो पतिसँग बस्ने गरेकाले पनि कयौं महिला फेला पर्दैनन् । बालिका भने प्रलोभन र रमाइलोको खोजीमा गाउँघरबाट भागेर अन्यत्र जानाले बेपत्ता हुने क्रम बढेको पाइएको छ ।
युद्वका बेला राज्य र विद्रोही पक्षबाट बेपत्ता बनाइए पनि शान्तिकालमा स्वंयम बेपत्ता हुने क्रम बढेको छ ।
धेरैजसो हराएकाहरू कहाँ जान्छन्, प्रहरीले समेत अहिलेसम्म भेउ पाउन सकेको छैन । कतिपयका अनुसार मानिस हराएपछि प्रहरीमा खोजीका लागि जाहेरी गर्ने र केही समयपछि घर फर्किएमा प्रहरीमा जानकारी नगराउने भएकाले पनि हराएको अभिलेखमा रहिरहेर बढी देखिएको तर्क छ । तर प्रनाउ घर्तीमगर मातहतका सबै प्रहरी युनिटमाफर्त बेलाबेला हराएको बारे अपडेट गर्ने भएकाले हराइरहेकै मान्न सकिने बताउँछन् ।
प्रलोभनमा परेर घरबाट हराएकाहरू बेचबिखनमा परेको हुनसक्ने आंकलन कतिपयको छ । केही महिनाअघि भारतमा लगेर राम्रो काम लगाइदिने भन्दै केही बालबालिकालाई केही दिन भालुबाङको होटेलमा राखी भारतीय नाकामा पुर्याएको अवस्थामा प्रहरी र सामाजिक संघसंगठनले फिर्ता गराएका थिए । केही साताअघि भारतबाट फर्कंदै गरेका किशोर भण्डारीलाई भारतमै पेप्सी खुवाएर बेहोस बनाई नेपाली भाषा बोल्ने तीनजनाले बेपत्ता बनाएको घटनाले थप आशंका जन्माएको छ ।
युद्धका बेला राज्य र विद्रोही पक्षबाट बेपत्ता बनाइए पनि शान्तिकालमा स्वयं बेपत्ता हुने क्रम बढेको छ । स्वयं हराए पनि कतै कुनै गिरोहले भूमिका खेलिरहेको त छैन, अनुसन्धान जरुरी रहेको सम्बन्धित निकायको निष्कर्ष छ ।
जिल्ला प्रहरी कार्यालयले भने हराएको उजुरी आउनेबित्तिकै हुलियासहित अञ्चल प्रहरी कार्यालय र मातहतका प्रहरी निकायमा खोजीका लागि पत्राचार गर्दै आएको जनाएको छ । प्रनाउ घर्तीमगर भन्छन्, ‘बेपत्ताको खोजीमा प्रहरी सक्रिय नै छ । तर हराएजति फेलापार्न सकिएको छैन ।’