न्यायालयमा बिचाैलिया हाबीः प्रधानन्यायाधीश

न्यायालयमा बिचाैलिया हाबीः प्रधानन्यायाधीश

धनकुटाः प्रधानन्यायाधीश सुशीला कार्कीले बिचौलिया हावी हुँदा न्यायालयप्रतिको सम्मान र विश्वास जोगाइराख्न चुनौती थपिएको बताएकी छन् । पूर्वी क्षेत्रका न्यायालयहरूको अनुगमन भ्रमणका क्रममा पुनरावेदन अदालत धनकुटाको संयोजनमा हिलेमा आयोजित कार्यक्रममा प्रधानान्यायाधीश कार्कीले बिचौलिया हाबी भएको कारण न्यायकर्मी र न्यायालयका कर्मचारीमा आचरण सुधारको खाँचो आवश्यक रहेको बताइन् ।

धनकुटासहित तेह्रथुम, भोजपुर र संखुवासभाका जिल्ला न्यायाधीश र कानुन व्यवसायीको भेलामा उनले न्यायकर्मी र न्यायालयका कर्मचारीहरूलाई खानपान र बसउठमा ख्याल गर्नसमेत सचेत गराइन् ।

न्यायमा महिलाको पहुँच स्थापित गराउन महिलाका लागि अदालती शुल्क मिनाहा गर्नेबारेमा आफूले सोचिरहेको उनको भनाइ थियो । उनले भनिन्, ‘सुशासन कायम गर्न अदालतले मात्र नसक्ने भएकाले कानुन व्यवसायी, सरकारी वकिल र सेवाग्राही सबैको भूमिका हुनुपर्छ ।’

अदालतमा वैतनिक वकिलको व्यवस्था गरिएको, आधुनिक प्रविधिको प्रयोग गर्न थालेको र सूचनाको हकलाई स्थापित गरेकाले सुशासन कायम हुन थालेको भन्दै उनले खुसी प्रकट गरिन् ।

सम्पूर्ण न्यायाधीशलाई फैसला समयमा नै दिनसक्ने वातावरण तयार गर्न आग्रहका साथ पहाडी जिल्लामा मेलमिलाप गराउने कार्यको प्रशंसा गर्दै प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘काठमाडौंमा मेलमिलाप गराउने कार्यमा सन्तुष्टि छैन । यहाँ राम्रो रहेछ, खुसी लाग्यो ।’

न्याय क्षेत्रमा लागेको आरोपबाट मुक्त हुनका लागि न्यायिक सुशासनको आवश्यकता रहेको उनले बताइन् । प्रधानन्यायाधीश कार्कीले न्यायाधीशहरूलाई निर्देशन दिँदै ढिलो हुने फैसलालाई छिटो हुने वातावरण मिलाउन आग्रह गरिन् ।

गाउँमा आउटरिज कार्यक्रम गर्दाचाहिँ जनतासँग घुममिल हुनेभन्दा पनि कर्मचारी लोकल कुखुरा खोज्ने गरेको गुनासो आएको हुँदा आफ्नो आचरणमा सुधार गर्न कर्मचारीलाई उनले निर्देशन दिइन् । देश भूकम्प र बाढीपहिरोको पीडामा रहेको बताउँदै प्रधानन्यायाधीश कार्कीले सीमित स्रोतसाधनको सदुपयोग गरेर भए पनि सेवाग्राहीहरूलाई सेवा दिन आग्रह गरिन् । अहिले पनि नेपालमा ५ देखि १५ प्रतिशतसम्ममात्र न्यायमा पहुँच भएकाले सबैको सहयोग भएमा मात्र न्याय क्षेत्रमा जनताको पहुँच पुग्ने कार्कीले बताइन् ।

सोही अवसरमा पुनरावेदन अदालत धनकुटाअन्तर्गत रहेका धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्ला अदालतले गरेका कार्य प्रगतिका विषयमा जिल्ला न्यायाधीशहरूले प्रस्तुति गरेका थिए । त्यस अवसरमा जिल्ला अदालतमा परेका मुद्दाको फैसला अवस्था, मेलमिलापको अवस्था र न्याय दिन हुने कठिनाइको विषयमा जानकारी दिइएको थियो ।

त्यस अवसरमा सर्वोच्च अदालतका रजिस्ट्रार श्रीकान्त पौडेल र पुनरावेदन अदालत धनकुटाका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाले बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.