मानवअधिकारमा महँगा विदेशी

मानवअधिकारमा महँगा विदेशी

काठमाडौंः मानवअधिकारको संरक्षण र संवद्र्धन गरी पीडितलाई न्याय दिलाउन गठित राष्ट्रिय मानवअधिकार आयोगमा महँगा विदेशी कर्मचारी भित्रिएका छन् । अस्वाभाविक तलबसुविधा पाउने गरी दातृ निकायको तजबिजीमा यसरी कर्मचारीको प्रवेश भएपछि आयोगभित्रै असन्तुष्टि बढेको छ ।

मानवअधिकारका नाममा आउने ठूलो धनराशिको हिस्सा तिनै कर्मचारीका नाममा खर्च हुने भएपछि पदाधिकारीबीचमै असन्तुष्टि बढेको हो । आयोग स्रोतका अनुसार कर्मचारीको स्तरवृद्धिका लागि भरखरै डेनमार्क र स्विट्जरल्यान्डले करिब १० करोड रुपैयाँ सहयोग गरेका छन् । पहिलो चरणमा १८ महिना सञ्चालन हुने यो प्रोजेक्टका लागि उक्त रकम सहयोगस्वरूप प्राप्त भएको हो ।

रकम यूएनडीपीमार्फत आयोगमा भित्रिएको छ । उक्त प्रोजेक्टमा मासिक तलब २१ सय डलर भुक्तान गर्ने गरी यूएनडीपीले कर्मचारीका रूपमा क्रिस बेकरलाई खटाएको छ । उनलाई इन्टरनेसनल चिफ टेक्निकल एड्भाइजर भनेर तोकिएको छ । बेकर दुई साताअघि यूएनडीपीमार्फत आयोगमा भित्रिएका हुन् । उनीसँगै हजार डलर तलब बुझ्ने उनका दुईजना सहायक छन् । तलब, गाडी, ड्राइभर, फ्युल, खाजा, कार्यालय खर्च गरी कम्तीमा मासिक १० लाख रुपैयाँ उनीहरूकै नाममा खर्च हुने आयोगका अधिकारी बताउँछन् ।

अस्वभाविक तलबसुविधा पाउने गरी तजबिजमा कर्मचारीकाे प्रवेश भएपछि अायाेगभित्रै असनतुष्टी ।

कर्मचारीको स्तरवृद्धिसम्बन्धी ती कार्यक्रम पाँचतारे होटेलमा प्रायोजन हुन्छ । कानुन मन्त्रालयका अधिकारी यस विषयमा सरकारसमेत जानकार नभएको बताउँछन् । ‘यो प्रोजेक्ट समाप्त हुने बेलासम्म ४० देखि ५० प्रतिशत सहयोग रकम विदेशीकै नाममा जाने स्थिति छ । सीधै सहयोग आएको भए पीडितका हकमा केही गर्न सकिने अवस्था रहन्थ्यो’,

आयोगका ती अधिकारीले अन्नपूर्णसँग भने, ‘रकम प्रत्यक्ष रूपले आयोगलाई दिएको भए मानवअधिकारका क्षेत्रमा बढी उपयोगी हुने थियो । तर कार्यक्रमजति सबै पाँचतारे होटेलमा चल्छन् ।’ विदेशी स्वार्थमा कार्यक्रम चल्ने र व्यक्तिका नाममै रकम फिर्ता जाने भएपछि सहयोगको उपयोगिता नरहने अवस्था उत्पन्न भएको छ ।

‘आयोग पदाधिकारीबीचमै असन्तुष्टि रहे पनि चुपचाप स्वीकारेको अवस्था हो’, आयोगका ती अधिकारी भन्छन् । आयोगमा चिफ टेक्निकल एड्भाइजर रहेका बेकर विगतमा न्याय क्षेत्रसँग सम्बन्धित ‘रोलर प्रोजेक्ट’ मा पनि क्रियाशील थिए । रोलर यूएनडीपीअन्तर्गत सञ्चालित गैरसरकारी संस्था हो ।

त्यहाँ महँगो तलब भुक्तानी गर्न असमर्थता जनाउँदै तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले बेकर कायम रहेको पद नै खारेज गरेका थिए ।
उनको कार्यशैली चित्त नबुझेपछि सर्वोच्चले बिदा गरेको थियो । रोलरमा उनले विज्ञका रूपमा एक वर्ष काम गरेका थिए । त्यहाँबाट उनी दाताको सहयोगमा चलेको द्वन्द्वपीडितसम्बन्धी एनजीओ टीजेआरसीमा ‘प्रोग्राम म्यानेजर’ का रूपमा गए ।

डेढ वर्षसम्म त्यहाँ कार्यरत उनी गत जुलाईसम्म उक्त संस्थामै थिए । त्यहाँ पनि उनको कार्यशैली र अस्वाभाविक तलबमानका विषयमा असन्तुष्टि थियो । त्यहाँभन्दा महँगो तलबमा फेरि उनी आयोगमा आएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.