पूर्वसांसदले मागे ज्यूनी भत्ता

पूर्वसांसदले मागे ज्यूनी भत्ता

काठमाडौंः २०४६ सालको परिवर्तनपछि गठित प्रतिनिधिसभा, अन्तरिम संसद् र संविधानसभाका करिब हजार पूर्वसभासद्ले आफूहरूलाई मर्यादित र सम्मानित जीवनयापनका लागि ज्यूनी भत्ताका रूपमा न्यूनतम सुविधा उपलब्ध गराउन माग गरेका छन् ।

राष्ट्र र जनताको सेवाका लागि समर्पणको राजनीतिक सिद्धान्त र उद्देश्यका साथ अघि बढेका राजनीतिक दलका प्रतिनिधिसमेत रहेका पूर्वसांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार भेटेर यस्तो माग राखेका हुन् । प्रधानमन्त्री दाहालले पूर्वसांसदहरूको उक्त माग सकारात्मक भए पनि पूर्वसांसदहरूको मर्यादा कायम गर्नसक्ने तर ज्यूनी भत्ता भने दिन नसक्ने बताएका छन् ।

दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मन्त्रिपरिषद्को बैठकबाट पूर्वसांसदहरूको मर्यादा कायम गरिनेछ तर ज्यूनी भत्ताका रूपमा पेन्सनलगायत सेवा र सुविधा दिन गाह्रो पर्छ । यद्यपि यस विषयमा कानुनी, राजनीतिक र नैतिक आधारमा समेत अध्ययन गर्दै आगामी दिनमा तपाईंहरूसँग बस्नेछु ।’

पुर्वसांदहरुले  प्रधानमन्त्री दाहाललाई बुधबार बिहान भेट्दै मर्यादा, पेन्सन, उपचार खर्च, यातायातलगायतको सुविधा माग गरेका हुन् । पूर्वसांसद क्लबका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा गएका विभिन्न राजनीतिक दल आबद्ध पूर्वसांसदले सरकारले पूर्वसांसदको मर्यादाक्रम समेत निर्धारण गर्नुपर्ने माग गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा पूर्वसांसदहरूले विगतमा बहालवाला सांसदपछिको बरियतामा पूर्वसांसद रहने गरेकोमा हाल त्यो व्यवस्था हटेको भन्दै दुःखेसो गरे ।

मन्त्रिपरिषद् बैठकबाट पूर्वसांसदहरूको मर्यादाक्रम निर्धारण गर्न सकिने भएकाले त्यसमा आफूले छलफल गर्ने आश्वासन प्रधानमन्त्रीले दिएको भेटमा सहभागी एमालेका पूर्वसांसद कृष्णलाल महर्जनले बताए ।

पूर्व सांसदहरुले प्रधानमन्त्री दाहाललाई बुधबार बिहान भेटेर मर्यादा, पेन्सन, उपचार खर्च, यातायातलगायतको सुविधा माग गरेका हुन्

सांसदहरूले देशको सेवा गरेका र निरन्तर जनताको काममा रहेका पूर्वसांसदहरूको अवस्थालाई ख्याल गर्दै राज्यका तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउनुपर्ने भन्दै आफूहरूले राष्ट्र र जनताका लागि गरेको सेवाको सम्मान गर्न दाहालसँग माग गरेका थिए ।

पूर्वसांसदहरूले भारतलगायत विभिन्न देशको उदाहरण दिँदै पूर्वसांसदलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, यातायातमा छूट र ज्यूनी भत्ताका रूपमा न्यूनतम मासिक पेन्सन सुविधा दिनुपर्ने दाबी गरे । सांसद महर्जनले भने, ‘क्लब सबै राजनीतिक दल आबद्ध नेताहरूको साझा फोरम भएकाले राजनीतिक दलहरूको बीचमा सहमति जुटाउन यो फोरमलाई उपयोग गर्नुपर्छ ।

सरकारले सक्नेजति सेवासुविधा दिएर संसद्को परामर्शदाताका रूपमा क्लबलाई उपयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको अध्यक्ष श्रेष्ठले बताए । ‘पूर्वसांसदहरूको अध्ययन एवं अनुसन्धानलाई मुलुकको हितका लागि राज्यले प्रयोग गर्ने गरेको विश्वव्यापी उदाहरणमा सरकार लाग्नुपर्‍यो’, उनले भने । टोलीमा कांग्रेसका श्रेष्ठ, कृष्णकिशोर घिमिरे, एमालेका देवराज घिमिरे, विष्णुबहादुर राउत, महर्जन, माओवादी केन्द्रकी उर्मिला अर्याललगायत सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.