जनताको मन जित्नैपर्ने भयो ?
नेपालमा अनेक परिवर्तन भए । एकतन्त्रीय शासनबाट बहुलवादी लोकतन्त्र आयो । एउटा राजपरिवारको रहस्यमय हत्या भयो । दुई सय ४० वर्ष पुरानो राजतन्त्र हटाइयो । राजाको हुकुमबाट बन्ने गरेको संविधान जनताबाट निर्वाचित संविधानसभाबाट संविधान बन्यो । १७ हजारको ज्यान लिएको युद्ध नजितेको व्यक्ति देशको हाकिम भयो । हिंसाबाट शक्ति कब्जा गर्र्ने बाटो लागेका कम्युनिस्टहरू लोकतान्त्रिक निर्वाचनबाट सरकारमा आए ।
प्रजातन्त्रका अगुवा भएको दल जसले कम्युनिस्टलाई पहिलो सत्रू ठान्ने गर्दथे उनीहरूकै पिछलग्गु भए । ती नेताहरू जसले एकअर्कालाई मार्न बम हानेका थिए र एक अर्काको टाउकोको मूल्य तोकेका थिए, तर सत्ताका साझेदारी भए । एउटा नेता जसले भारतको नागरिकले भन्दा चर्को स्वरमा भारतको समर्थन गर्दथे उनी राष्ट्रवादी निस्किए । अर्का नेता जसले भारतसित लड्न ट्रेन्च खन्न लगाएका थिए उनै नेतालाई भारतको आशीर्वाद प्राप्त भएको पनि देखियो । यी सब परिवर्तन कसरी हुन सक्यो भन्दा जनताको बलबाट सम्भव भयो भन्ने भनाइ छ ।
के अब नेपालको सत्तामा आउन अथवा परिवर्तन ल्याउन जनताकै मन जित्नुपर्ने भयो ? यसको माने के नेपालको प्रजातन्त्र उर्फ लोकतन्त्र यति बलियो भयो कि जनताको मन नजिति केही गर्नै नसकिने भयो ? यसो भएको हो भने राम्रै भयो । प्रजातान्त्रिक पद्धति राम्ररी नचलेको बेला पूर्व राजा ज्ञानेन्द्रले एकलौटी शासन चलाएर हेरेका थिए । त्यसबेला आफूले गर्न खोजेको र गरेको कुरा जनताका अगाडि राम्ररी बुझाउन नसकेकाले असफल भएको स्वीकार गरेका छन् ।
सत्ताबाट बाहिर भएपछि उनले जनताको मन जित्ने प्रयत्न गरेका छन् । जनताको इच्छाअनुसार नै देशको शासन र भविष्य निर्धारण हुने कुरा दोहोर्याएका छन् । उनी जहाँ–जहाँ जान्छन् त्यहाँ जनताको भीड लाग्ने गरेको छ । त्यस्तो भीडको आकार दिनहुँ बढिरहेको पनि देखिन्छ । जनताको इच्छा प्रबल भयो भने कुनै दिन राजतन्त्र फर्किने छ भन्नेमा उनको आशा छ र त्यो आशामा विश्वास गर्ने मानिसहरूको समूह पनि बढ्दै गएको छ । यसको सारांश यही निस्कन्छ कि राजाले राजा हुनका लागि जनताको मन जित्नुपर्ने नै रहेछ । यो पनि एउटा राम्रै कुरा हो ।
जनताको मन जित्नु नै पर्ने रहेछ भन्ने केपी शर्मा ओलीको प्रधानमन्त्रीकालमा पनि देखियो । उनले आन्तरिक प्रशासनमा के गर्न सके र के गर्न सकेनन् भन्ने कुरा विवादित नै रहेको छ तर भारतको सम्बन्धमा उनले राष्ट्रिय स्वाभिमानलाई जोगाएको भने निर्विवाद भएको छ । भारतले लगाएको महिनौं लामो नाकाबन्दीले नेपाली जनताले दुःख पाएको सबैले देखेको, अनुभव गरेको र व्यहोरेको तथ्य हो ।
दुःख पाए पनि यसको कारण प्रधानमन्त्री ओली होइनन् भन्ने धेरैले महसुस गरेका हुन् र त्यसैकारणले उनको विरुद्ध कुनै आन्दोलन भएन । यसको बदलामा धेरै नेपालीको मन उनले जिते । यसैकारण उनले सत्ताबाट हार खाए पनि नेपाली जनताको मन जितेर गए । यो त एउटा राजनीतिज्ञको लागि ठूलो उपलब्धि हो । यसबाट उनले महाकाली सन्धिमा भारतप्रति देखाएको झुकाउ र समर्थनबाट लागेको दाग पनि मेटाएका छन् । भनाइको मतलब एकपटक गल्ती गरे पनि जनताको मन जित्न सके जनप्रिय हुन सकिने रहेछ भनेर साबित भयो । यो पनि राम्रै भयो ।
नेपालमा टड्कारो रूपमा देखिएको यो तथ्यबाट सबभन्दा पहिले प्रधानमन्त्री पुष्पकमल दाहालले सिक्नुपर्ने हो । नेपालको राजनीतिमा अनेक नेताहरूलाई प्रधानमन्त्री बनाउँदै हिँड्दै गएका दाहालले आफैं प्रधानमन्त्री हुन भारतको पछि लागेको पनि देखियो ।
प्रधानमन्त्री मात्र भएर जनताको मन जित्न नसकिने रहेछ भन्ने अनुभव त पहिलो पटक उक्त पदमा जाँदा नै भइसकेको हो । अहिले धेरै होसियार र अनुभवी भएको छु भनेर उनले आफैं दाबी गरेका छन् । यसैको आधारमा ओलीको उदाहरणबाट अवश्य सिक्लान् भन्ने धेरैले आशा गरेका छन् । दाहाल भारतको निर्देशन र योजनाअनुसार प्रधानमन्त्री भएकै हुन भने पनि सत्तामा पुगिसकेपछि भारतको आदेश पालन गरिहाल्नुपर्ने कुनै वाध्यता छैन ।
उनले पनि ओलीले जस्तै नेपाल र नेपालीको स्वाधिनता र सार्वभौमिकताको सवालमा अडिन सक्छन् । भारतसित राम्रो सम्बन्ध हुनु भारतको चाहना पुरा गर्ने होइन बल्कि नेपालको चाहना पुरा गराउने हो भनेर उनले साबित गर्न सक्छन् । ओलीले चीनसित गरेको सम्झौतालाई अगाडि बढाउने बचन उनले संसद्मै दिइसकेका छन् । उनले आफ्नो कार्यकालमा आफूले दिएको बचन मात्र राख्न सके भने नेपाली जनताले उनलाई पनि ओलीलाई जस्तै काँधमा बोक्ने छन् ।
यदि यसपालि उनी राष्ट्रियताको सवालमा चुके भने आउँदो चुनाउमा (यदि समयमा भयो भने) उनको दल तेस्रो मात्र होइन दसौं दर्जामा ओर्लने छ । आखिर दस वर्षको युद्धले नदिएको फल नेपाली जनताले शान्ति प्रकृयामा आएपछि पहिलो दलको रूपमा जिताएका थिए । त्यो बेला बुद्धि नपुर्याएकोले दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो दलको श्रेणीमा झरेको थियो । यसबाट आखिर सत्तामा आउन जनताको मन जित्नैपर्ने सत्य प्रष्ट भएकै छ । हामीले हेर्दा त राम्रै भएको छ । उनको दृष्टिमा कस्तो देखिएको छ सो कालान्तरमा देखिहालिने छ ।
नौ महिनापछि नेपाली कांग्रेससित भएको भनिएको भद्र सहमतिअनुसार शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री हुने भएका छन् । यो पटक उनलाई काम गर्न निक्कै असजिलो पर्नेछ । किनभने उनीलाई राजतन्त्रअन्तर्गत काम गर्ने अनुभव छ तर गणतन्त्रअन्तर्गत काम गर्ने मौका मिलेको छैन । उनलाई निर्वाचनको घोषणा गर्ने अनुभव छ तर निर्वाचन गराएर देखाउने अनुभव छैन ।
तर संयोगवस भद्र सहमतिअनुसार र नयाँ संविधानअनुसार राष्ट्रिय र प्रादेशिक निर्वाचन गर्ने गराउने उनकै कार्यकालमा हुने समझदारी भएको छ । त्यसैले उनको प्रधानमन्त्रीय कालमा यी राष्ट्रिय मुद्दाहरू सम्पन्न होलान् भनेर शंका लाग्ने गरेको छ । अझ त्यो भन्दा पनि कठिन उनलाई भारत र चीनसितको सम्बन्धमा हुनेछ । महाकाली सन्धि उनकै प्रधानमन्त्रीयकालमा भएको थियो । त्यो बेला सबै ठूला दलहरू जुटेका थिए ।
त्यसमा पनि उनीभन्दा सिपालु अरू नेताहरूले यस सन्धिको समर्थन गरेका थिए । तर आज परिस्थिति बदलिएको छ । नेपालको राष्ट्रिय हितविपरीत कुनै पनि योजना भारतलाई सुम्पनु अब सजिलो छैन । ओलीले राष्ट्रिय हित कसरी जोगाउन सकिन्छ र राष्ट्रिय स्वाभिमान कसरी संरक्षण गर्न सकिन्छ भन्ने परम्परा बसालेर गएका छन् । आफूलाई अप्ठेरो पर्ला भनेर पुष्पकमल दाहालले प्रधानमन्त्री हुनेबित्तिकै फास्ट ट्र्याक सडक नेपालले आफैं बनाउने, ओलीले घोषणा गरेका विकासका अरू कार्य पनि अगाडि बढाउने र चीनबाट रेल ल्याउने प्रतिज्ञा गरिसकेका छन् ।
नेपालको राष्ट्रिय हितविपरीत कुनै पनि योजना भारतलाई सुम्पनु अब सजिलो छैन । ओलीले राष्ट्रिय हित कसरी जोगाउन सकिन्छ र राष्ट्रिय स्वाभिमान कसरी संरक्षण गर्न सकिन्छ भन्ने परम्परा बसालेर गएका छन् ।
यो हदसम्म देउवा जान सक्लान् र जालान् भन्ने लाग्दैन । किनभने उनको आत्मबल दाहालको जस्तो बलियो छैन । अहिलेसम्मको हाम्रो बुझाई यस्तै छ । तर जनताको मन जित्नैपर्ने रहेछ भन्ने तथ्य त उनले पनि देखेकै छन् । अब त अलिकति तलमाथि पर्नेबित्तिकै अर्को चुनावमा पहिलो दलबाट धेरै तल खस्किने छ । जनताको मार पर्ला भन्ने यो डर पनि रामै्र हो । हामीले हेर्नुपर्ने के छ भने यो ओली परम्परा राजनीतिमा कायम रहोस् ।
राम्रो काम गरेका शासकहरूलाई जनताले राम्ररी सम्झने गरेकै छन् । पूर्व पश्चिम राजमार्ग थालनी गरेको र कोदारी राजमार्ग बनाएको राजा महेन्द्रलाई प्रजातन्त्र खोसेको भनेर गाली गरे पनि राष्ट्रिय हित र स्वाभिमानलाई बढाएको भनेर सबैले सम्झने गरेका छन् । बाबुराम प्रधानमन्त्री हुँदा गरेका र गर्न नसकेका कामको लागि जति गाली गरे पनि काठमाडौं र अरू सहरको सडक विस्तार गरेको उपलब्धिका लागि राम्ररी सम्झने गरेकै छन् ।
केपी शर्मा ओलीले पनि चीनसित गरेको पारवहन सम्झौता र भारतीय दबाबको सामना गरेको तथ्यलाई पछिसम्म पनि सम्झनेछन् । यदि नेपालमा अहिले या संविधानले तोकेको समयभित्र निर्वाचन हुने भएमा ओली र उनको दलले भारी मत ल्याएर जित्ने छन् । त्यही कारणले पनि नेपालमा तोकिएको समयमा चुनाव हुन गाह्रो छ । आखिर नेपाली जनताको मन कसले जितेको छ भनेर राजनीतिकर्मीहरूले नबुझ्ने होइन ।
अझ राम्ररी बुझ्नैपर्ने कुरा के हो भने नेपालमा एउटा बलियो जनमत तयार भएको छ । सो जनमतले राष्ट्रियता के हो र कहाँ छ भन्ने कुरा बुझेको छ । यसले यो पनि थाहा पाइसक्यो कि नेपालका राजाहरूले जनताको मन राम्ररी जित्न नसके पनि राष्ट्रिय स्वाभिमान जोगाएर राखेका थिए । यतिसम्म कि राजा ज्ञानेन्द्रले एकलौटी शासन चलाएको बेला अनेक गल्ती गरेको ठहरिए पनि सार्वभौमिकतामा कुनै आँच पुर्याएनन् ।
बरु बाह्रबुँदे सम्झौताका हस्ताक्षरकर्ताले नेपालको सार्वभौमिकता दिल्लीलाई बुझाइदिए । जनताले नेपालको भारत र चीनसित कस्तो सम्बन्ध छ र कस्तो हुनुपर्छ भनेर पनि बुझेका छन् । यसले नेपालमा अरू मुलुकहरूको गतिविधि कस्तो छ र कसरी चलिरहेको छ भनेर पनि बुझेका छन् ।
आउने दिनहरूमा कुनै पनि राजनीतिक दल या नेताले जनतालाई झुक्याउन सक्ने छैन । नेपालमा दलीय होस् या निर्दलीय, कुनै पनि व्यवस्थाअन्तर्गत आउने शासकले यो कुरा बुझ्नुपर्छ । जनताको मन जित्नैपर्र्ने रहेछ र उनीहरूको मन कसरी जित्न सकिन्छ भन्ने कुरा नेपालको राजनीतिमा स्थापित भयो भने हामी सबैको कल्याण हुन्छ । यही सत्यको विजय होस् ।