ओरालो लाग्यो जलविद्युत् र होटेल समूहको सेयर

ओरालो लाग्यो जलविद्युत् र होटेल समूहको सेयर

काठमाडौंः धितोपत्र बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीलाई तत्काल हकप्रद र एफपीओ ल्याउन प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । प्रत्येक्ष नियामक निकाय नभएका जलविद्युत् र होटेल समूहका सेयर भाउ बुधबार ओरालो लागेको छ ।

बोर्डको हस्तक्षेपको सबैभन्दा बढी प्रभाव जलविद्युत् कम्पनीमा परेको छ । जलविद्युत् समूहको सूचक बुधबारमात्रै १०३.३१ अंकले घटेको छ । यसपछि बढी असर देखिएको होटेल समूहको सूचक पनि २९.३८ अंकले तल झरेको छ । सेयर बजार लगातार माथि गइरहेका बेला बोर्डको हस्तक्षेपपछि जलविद्युत् र होटेल समूहमा भने ब्रेक लागेको हो ।

जलविद्युत् क्षेत्रमा प्रत्यक्ष नियमनकारी निकाय छैन । नियामक नहुँदा कम्पनीहरूले आफूखुसी निर्णय गर्दैआएका छन् । सञ्चालक समितिको निर्णयका भरमा पुँजी बढाउने, बोनस र नगद लाभांश दिने काम हुँदै आएको छ ।

यसबाहेक हकप्रद तथा एफपीओ ल्याउन पनि सञ्चालक समितिको निर्णय र साधारण सभाले अनुमोदन गरे पुग्छ । अधिकांश जलविद्युत् होटेलमा सञ्चालक समितिको बहुमत सदस्यमा नातेदारकै हालीमुहाली हुने गरेको छ ।

उचित कारणबिना हकप्रद र एफपीओ ल्याउनेलगायतका घोषणा हुन थालेपछि पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले तत्कालका लागि नियामक नभएका पब्लिक कम्पनीमाथि हकप्रद र एफपीओमा रोक लगाएको हो । यस्ता कम्पनीलाई कुन मोडालिटीका आधारमा हकप्रद र एफपीओ ल्याउन दिने भनेर अध्ययन गर्न बोर्डले विज्ञसम्मिलित एक समिति पनि गठन गरेको छ ।

यो समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ । सोही प्रतिवेदनका आधारमा हकप्रद, एफपीओसहितका पुँजी वृद्धिका योजना ल्याउन दिने रणनीति बोर्डको छ ।

बुधबार स्टक एक्सचेन्जमा सूचीकृत सबै जलविद्युत् कम्पनीको सेयर भाउ घटेको छ । सबैभन्दा धेरै अपि जलविद्युत् र सानिमा माई जलविद्युत्को भाउ घटेको छ । बोर्डको निर्देशनले प्रभाव पार्ने सबै कम्पनीको भाउ घटे पनि ओरियन्टल होटेलेको मूल्य भने बुधबार पनि २१ रुपैयाँले बढेको छ । अपि जलविद्युत्ले १ः२ अनुपातमा हकप्रद ल्याउने तयारी गरेको छ । हकप्रद ल्याउन कम्पनीले धितोपत्र बोर्डमा आवेदनसमेत दिइसकेको छ ।

उता, सानिमा माई जलविद्युत्ले १ः१ अनुपातमा हकप्रद ल्याउने प्रस्ताव साधारण सभासमेत बोलाइसकेको छ । यस्तै, बुटवल पावर कम्पनीले एफपीओ ल्याउने तयारी गरेको थियो । यसबाहेक अन्य जलविद्युत् कम्पनीले पनि एफपीओ र हकप्रदको योजनामा थिए ।

बाेर्डको निर्देशनपछि होटेललाई पनि तत्काल पुँजी वृद्धि गर्न समस्या भएको छ । बोर्डको नयाँ नियम आएपछि मात्र यी कम्पनीले पुँजी वृद्धि योजना अघि सार्न पाउनेछन् । होटेल सोल्टीलगायतले पुँजी वृद्धि गर्ने योजना बनाएका खबर आएका थिए ।

होटेल र जलविद्युत् समूहको सूचकमा भारी गिरावट आए पनि बुधबार बजारमापक नेप्से परिसूचक भने ९.३७ अंकले बढेर १७९७.४५ विन्दुमा पुगेको छ । बैंकिङ र बिमा समूहले बजारलाई उचालेका हुन् । कारोबार रकम पनि एक अर्ब २५ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

जलविद्युत् र होटेल समूहको बुधबारको सेयर भाउ


कम्पनी घटेको सेयर मूल्य प्रतिकित्ता (रुपैयाँमा)
अपि जलविद्युत् -७०
सानिमामाई जलविद्युत् -५२
बुटवल पावर कम्पनी -३८
बरुण जलविद्युत् -३७
चिलिमे जलविद्युत् -३५
अरूण भ्याली जलविद्युत् -२०
रिडी जलविद्युत् -११
नेसन जलविद्युत् -४
सोल्टी होटेल -९
तारागाउँ -७
स्रोतः नेपाल स्टक एक्स्चेन्ज


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.