परीक्षण नभएका सिलिन्डर बजारमा
काठमाडौंः खाना पकाउने ग्यास सिलिन्डर उत्पादन गर्ने उद्योगीले गुणस्तरहीन सिलिन्डर बजारमा पठाउँदै आएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बनेपास्थित तीनवटा ग्यास उत्पादन गर्ने उद्योगमा गरेको अनुगमनको क्रममा यस्तो तथ्य फेला परेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार बनेपास्थित सगरमाथा, सूर्य र चण्डी ब्रान्डका उद्योगमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा सूर्य ब्रान्डमा सिलिन्डर उत्पादन गर्दै आएको उद्योगले गत् मार्च २०१६ मा हाइड्रोस्टेटिक र हाइड्रोलिक परीक्षण गर्नुपर्नेमा हालसम्म नगरी आफूखुसी उत्पादन गरेर बजारमा पठाएको फेला परेको छ । उनका अनुसार पुराना र म्याद नाघेका सिलिन्डरमा रंग पोतेर परीक्षण बिना नै बजारमा सिलिन्डर पठाइएको भेटिएको हो ।
उपभोक्तावादी माधव तिम्लिसिनाका अनुसार उद्योगीले सूर्य ग्यास उद्योगले सर्वसाधारणको ज्यान जोखिममा पार्ने गरी सिलिन्डर उत्पादन गरेको पाइयो । हाइड्रोस्टेटिक र हाइड्रोलिक परीक्षण बिना म्याद नाघेका सिलिन्डर बजारमा पठाइएको कारण आम उपभोक्ताको ज्यान जोखिममा पर्दैआएको छ । उनकाअनुसार टोलीले ग्यास सिलिण्डरको नापतौल, हाइड्रोलिक र हाइड्रोस्टेटिक परीक्षण, मर्मतसम्भारजस्ता चरम लापरबाही भएको भेटेका थिए ।
टोलीले म्याद सकेको अवस्थाको २०, मिति उल्लेख नभएको दुई र प्रष्ट मिति उल्लेख नभएको दुई थान गरी २४ थान सिलिन्डरमा सिलबन्दी गरेको छ । यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार नै भक्तपुरको झौखेलस्थित जीआर ड्रिकिङ वाटर उद्योगमा सिलबन्दी गरेको छ ।
विभागका खाद्य निरीक्षक मदन चापागाईका अनुसार उत्पादनस्थल फोहोर र अव्यवस्थित तथा पानीको प्रशोधन गर्ने प्रक्रिया शंकास्पद देखिएकाले उद्योगको प्रशोधन केन्द्रमा सिलबन्दी गरिएको हो ।