खै त यात्रुसँग सम्मानजनक व्यवहार ?
‘जिव्रोको गरिमा, मिठो बोलीमा’ यो बाक्याँश भएको नारासहितको निलो र सेतो रंगको स्टिकर सबारी साधानमा नारामै सिमित छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा नेपाल यातायात वस व्यवसायी संघ र मध्य उपत्यका बस व्यवसायी संघले यस्ता नारासहितको स्टिकर सार्वजनिक सबारी साधनमा टाँसेपनि नाराले भनेजस्तो व्यवहार सर्वसाधारण यात्रुले सबारी साधनमा अनुभव गर्न पाएका छैंनन् । यातायात साधनका कर्मचारीबाट यात्रुले जहिले नि मिठासभन्दा खटास पूर्ण व्यवहार खेप्नुपर्ने बाध्यता छ ।
सार्वजनिक सबारी साधनमा प्रवेश गर्न साथ सुरुमै त्यस्ता कर्मचारीबाट यात्रुले असभ्य र अशिष्ट व्यवहारको स्वागत हुन्छ । कर्मचारीको असभ्य र अशिष्ट व्यवहार सामना गर्न नसक्ने यात्रुले सार्वजनिक सबारी साधनमा यात्रा गर्न नसक्ने अवस्था आइसकेको छ । सबारी साधनमा उचित भाडा बुझाएपनि त्यसको साटो बसका कर्मचारीबाट यात्रुले जहिले पनि छुद्र व्यवहारको सामना गर्नुपर्छ ।
उपत्यकामा चल्ने सबारी साधनमा दैनिक दर्जनौंको संख्यामा यस्ता परिदृश्यहरु सबारी साधनहरुमा देख्न पाइन्छ । उचित भाडा तिरेपछि बदलामा यात्रुले पनि सम्मानजनक व्यवहार कर्मचारीबाट पाउनुपर्ने यात्रुको आश हुन्छ । ‘तर बसमा चढ्ने वितिकै कर्मचारीको छुद्र र तल्लो स्तरको व्यवहार, हप्की, दप्की र अपमान सहनुपर्छ यात्रुले,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्,‘यात्राको क्रममा बसका कर्मचारीबाट अपमान सहनु यात्रुको नियति नै बनिसकेको छ । कर्मचारीको प्रतिकार गर्न पनि नसकिने अवस्थामा यात्रु पुगेका छन् ।’
प्रतिकार गर्न खोज्दा चालक, खलासी र अन्य यात्रुपनि पीडित यात्रुमाथि नै खनिने अवस्था पनि कतिपय अवस्थामा आइरहेको छ । एउटा यात्रु अपमानित भएर हप्की दप्की खाइरहँदा अन्य यात्रुहरु भने ‘तमासे’ बन्नुमै सिमित बन्छन् । पाखुरामा टाटु, कानमा मुन्द्री, कपाल पनि लामै, प्यान्ट पनि आधी, गोजीमा सिक्रि झुण्ड्याएर उत्ताउलो र असभ्य पारामा प्रस्तुत हुने बसका गुरुजी र खलासीको यात्रुसँगको जम्काभेट नै पहिलो गाँंसमा ढुङ्गाझै हुन्छ ।
‘सार्वजनिक सबारी साधनका कर्मचारीको यिनै छाडा बिशेषताका कारण ट्राफिक, सबारी कर्मचारी र यात्रुबीच सम्बन्ध राम्रो छैन्,’ यातायात व्यवस्था बिभागका निर्देशक बसन्त अधिकारी भन्छन्,‘जसले गर्दा यात्रु र सबारी साधनका कर्मचारीबीच जहिले पनि तिक्तापूर्ण व्यवहार भइरहेको छ । बसका कर्मचारीबाट सालिनता र शिष्टतापूर्ण व्यवहारको आशाा गर्ने यात्रुहरुले पाइला पाइलामा डर मानेर बस्नुपर्ने अवस्था छ ।’
यात्रुहरुले दैनिक रुपमा यस्ता समस्याको सामना गरेपनि सरोकारवाला निकायले भने ‘सामान्य’ मान्दै निराकरणको सबालमा उपलब्धीमूलक ठोस रणनीति अवलम्बन गर्न सकेका छैंनन् । जुन स्थानबाट मन लाग्यो त्यो स्थानबाट यात्रु चढाउने, ओर्लदा भने जहाँ मन लाग्यो, त्यही ओराल्ने, यात्रुको हातै समाएर जर्वरदस्ती गाडीमा हुत्याउने, गरिव र निमुखाजस्ता देखिने यात्रुसँग मुख छाडेर कुरा गर्ने, छालाको रंगको आधारमा व्यवहार गर्ने, बसमा पुरै सीट खाली भएपनि मन नलागे यात्रु नचढाउने, सीटको क्षमताभन्दा बढी यात्रु कोच्ने, महिला यात्रुको शरीरमा विभिन्न वहानामा स्पर्श गर्न खोज्ने, भाडाभन्दा बढी रकम फिर्ता नदिने, जिस्किने, गाली गर्ने, तोकिएको भाडादर भन्दा बढी रकम असुल्न खोज्नेजस्ता समस्या अहिले दैनिक नियती नै बनिसकेको छ ।
यातायात क्षेत्रको कुरितीको बिषयमा नियमन गर्ने विभागका निर्देशक अधिकारी आफै पनि सार्वजनिक सबारी साधनको अभद्र व्यवहारबाट पीडित बनिसकेका छन् । भित्र छिड, छेउ लाग, बीचको बाटो खाली गर, बस पुरै भरेपनि लौं सिट खाली छ बसौं बसौं भन्ने तर भित्र सियो छिर्ने ठाउ हुन्न्, ब्याग झिक, कति खुद्रा(वालवालिका) लिएर बस चढे्को, खुद्रेको लागि ठाउ छैंन्, सिधा उभ्नुसजस्ता कर्मचारीको व्यवहारबाट दैनिक रुपमा युवायुवतिदेखि बृद्धबृद्धाहरु पीडित बनिरहेका छन् । तर यस्ता अभद्र व्यवहारबारे न ट्राफिक प्रहरी बोल्न रुचाउछन् त न यातायात व्यवसायीहरुको ठेक्का लिएको यातायात व्यवसायी महासंघले कुनै कदम चालेको छ ।
अधिकाँश यात्रुहरु दैनिक रुपमा यस्ता व्यवहारबाट पीडित भइरहँदा पनि सामान्य मानेर सहि दिने प्रवृतिका कारण सार्वजनिक सबारी साधनका कर्मचारीको मनोबल बढ्दै गएको छ । सातदोबाटोबाट गौशाला आउन माइक्रो बस चढेकी खुमलटारकी बन्दना उपाध्याय पनि सबारी साधनको हिंसाबाट पीडित बनेकी छिन् ।
उपाध्यायकाअनुसार सबैभन्दा बढी माइक्रो बसका गुरुजी र खलासीले अभद्र व्यवहार गरेर यात्रुवर्गलाई दुःख दिदैंआएका छन् । सबारी साधनमा बिद्यार्थी छुट माग्न सक्कली परिचय पत्र देखाउदा पनि खलासीले मानसिक रुपमा केरकार गरेर अभद्र व्यवहार गर्छन् । उनी भन्छिन,‘त्यस्तो अवस्थामा उसले भनेअनुसारको भाडा दिनु नै ठिक लागेर पैसा दिएर झर्छु ।’
बिभागका निर्देशक अधिकारीकाअनुसार सबारी साधनको कर्मचारीको बोलिबचन, शिष्टतापूर्ण व्यवहार र प्रस्तुतीकरणका बिषयमा सरोकारवाला निकायको सहकार्यमा पटक पटक प्रशिक्षण दिने कार्यक्रम सञ्चालन गर्न प्रयास गरेपनि हुन सकेको छैंन् । यातायात व्यवसायीले आफ्ना कर्मचारीलाई अनुशासन र व्यवहारका बारेमा समयमा समयमा प्रशिक्षण दिनुपर्ने उनको सुझाव छ । तर यात्रुको सम्मानका लागि सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा भने उनी केही बोल्न मानेनन् ।
उचित भाडा तिरेपछि बदलामा यात्रुले पनि सम्मानजनक व्यवहार कर्मचारीबाट पाउनुपर्ने यात्रुको आशा हुन्छ । तर बसमा चढ्नेबित्तिकै कर्मचारीको क्षुद्र र तल्लोस्तरको व्यवहार, हप्की, दप्की र अपमान सहुनपर्छ ।
सुझाव दियस्ता समस्या समाधान गर्न यातायात व्यवसायीले अनिवार्य रुपमा गुरुजी र खलासीले छुट्टाछुटटै रंगको पोशाक अनिवार्य रुपमा लगाउनुपर्ने, यात्रुसंग शिष्टता र शालिनता पूर्वक व्यवहार गर्न प्रशिक्षण दिनुपर्नेलगायतका बिषयमा ‘कोड अफ कन्डक्ट’ लागु गर्नुपर्ने सुझाव दिए । ‘यस बाहेक यातायात कर्मचारीका लागि राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई सजायको व्यवस्था पनि गर्नुपर्छ ।’
सबारी साधनका कर्मचारीले यात्रुसँग राम्रो व्यवहार नगरेको स्वीकार गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वागमति संयोजक धर्मराज रिमालले निकट समयमै सुधारोन्मुख कार्यक्रम सञ्चालनमा ल्याइने आश्वासन दिए ।
‘सबारी साधनका अधिकाँश मजदुर अशिक्षित छन्, दिनभरमा १६ घण्टासम्म काम गर्नुपर्छ, थरीथरीका यात्रुसँग जम्काभेंट हुन्छ, तनावका बीच काम गर्दैगर्दै यात्रुसँग तल्लोस्तरको व्यवहार गरिदिन्छन्,’ रिमालले भने,‘यस्ता समस्यालाई हामी क्रमिक रुपमा सुधार ल्याउने प्रयास गर्छौ।’ उनकाअनुसार उपत्यकामा मात्र करिब ३० हजार सबारी साधनमा ६० हजारभन्दा बढी गुरुजी र खलासी सबारी साधनमा काम गरिरहेका छन् ।