युद्धवीरका सपना...

युद्धवीरका सपना...

हेटौंडाः माघ महिनाको चिसो सिरेटो सानो घरले छेकिरहेको थिएन । बाटोमा मान्छेहरु फाट्टफुट्ट ओहर दोहर गरिहेपनि अनुहार चिन्न सक्ने उज्यालो थिएन । प्रताप सिं बज्यु सुत्केरी बुहारीलाई खुवाउन लागि कुखुराको मासु पकाउँदै थिइन । एक्कासी ठुलो आवाज आउन थाल्यो । दिउँसो चार बजे छोरालाई जन्म दिएकी जोमुमाया बज्युको रक्तश्राव साँझ छ बजेसम्म पनि रोकिएको थिएन ।

एक्कासी गोली र बम घर वरिपरि पड्कन थालेपछि ससुरा प्रताप अत्तालिएर सुत्केरी बुहारीलाई जोगाउन सुरक्षित स्थान खोज्न घर बाहिर निस्किए । 'मेरो कान नजिकैबाट गएको गोली सिधै ससुराको निधारमा लाग्यो, हत्तनपत्त मैले आफुले ओढिरहेको ब्ल्याङ्केटले निधारबाट बगेको रगतको धारा रोक्ने प्रयास गरे', जोमुमायाले भनिन्, 'वरिपरिका घरहरुमा आकाशबाट बम खसेर पड्कन थालेपछि ज्यान बचाउन घर छाडेर खोल्चातिर दौडिए, दौडदा दौडदै बेहोस भएछु । दुईदिनपछि मैले आफुलाई घर भन्दा दुई घण्टा पर आफन्तकोमा पाएँ ।'

उनको होस खुल्दा ससुरा र जेठाजु मानबहादुरको शव वरिपरि आफन्तहरु शोकाकुल देखिन्थे । तत्कालिन नेकपा माओवादी र शाही नेपाली सेनाबीच भएको दोहोरो भिडन्तमा निर्दोश गाउँले मारिदा गाउँ नै शोकमग्न भएको थियो । तर ४८ घण्टापछि होसमा आएका जोमुमायाले छोरालाई सकुसल काखमा पाउँदा ससुरा र जेठाजु गुमाउँदाको पीडाका बीच मनमा थोरै भएपनि बाँच्ने आधार महशुस गरिन् ।

२०६२ साल माघ ८ गतेको साँझ जोमुमायाले बिर्सने हजार प्रयास गरिन् । तर छोरा युद्धबीरलाई देख्ने बित्तिकै प्रत्येक दिन मानसपटलमा त्यो साँझ घुमिरहन्छ ।

फापरबारी–१ झुरझुरेमा माओवादी र सेनाबीच दोहोरो भिडन्त भएको १७ घण्टापछि गाउँलेले जोमुमायाको छोरालाई बाँसको झ्याङ नजिक फेला पारेका थिए । 'झुप्रो घरको अगेनामा कराईमा पकाउँदै गरको मासु जस्ताको तस्तै थियो, खोज्दै जाँदा नजिकै बाँस झ्याङ मुनी एउटा शिशु भेटियो', स्थानीय बीरबहादुर वाईबाले भने, 'युद्धको भूमरीमा जन्मिएका ती शिशुको नाम हामी गाउँलेले युद्धबीर राख्यौ ।'

ती नै युद्धबीर अहिले ११ वर्षका भए । उनी स्थानीय महाबुद्ध प्राविमा कक्षा चारमा अध्ययनरत छन् । २०६३ साल मंसिर पाँच गते शान्ति सम्झौता भएपछि जोमुमाया र उनका श्रीमान् सुकबहादुर न्याय र क्षतिपूर्तीका लागि सदरमुकाम हेटौँडा धाउन थाले । 'माओवादीको गोली लागेर ससुरा र सेनाको गोली लागेर जेठाजु मान बहादुरको ज्यान गयो', जोमुमायाले भनिन्, 'माओवादी नै सरकारमा जाँदा पनि हामीले क्षतिपूर्ती र न्याय पाएनौं ।'

जहाँ जाँदा पनि द्वन्दपीडित भनेर परिचय दिने बाहेक अरु काम नभएको उनको गुनासो छ । 'युद्धको बेला जन्मेको छोरा हुर्किसक्यो तर अझै पनि युद्धका घाउहरु निको भएन', उनले दुःखी हुँदै भनिन् । कतैबाट ठूलो आवाज आएमा अझै पनि त्रसित हुने उनी त्यो साँझपछि अझैसम्म जंगलमा एक्लै घाँस दाउरामा जान डराउँछिन् ।

जोमुमायाका श्रीमान् रोजगारीको लागि एक वर्षदेखि मलेसियमा छन् । 'श्रीमान् विदेश जाँदाको दुई लाख रुपैयाँ ऋण तिरेर अझै सकिएको छैन', उनले भनिन् । जोमुमायाका जेठा छोरा र छोरीले पढाई छाडिसकेका छन् । युद्धबीर भने दाइदिदीले जस्तै बीचैमा पढाई छाड्न चहादैनन् । 'म पढेर ठूलो मान्छे बन्छु र यही गाउँको विकास गर्छु', उनले भने । 'आर्थिक अभावका कारण जेठा छोरा र छोरीलाई राम्ररी पढाउन सकिएन', जोमुमायाले भनिन्, 'कान्छो छोरालाई राम्रो विद्यालयमा पढाउन पाए हुन्थ्यो ।' आफुले भोगेको पीडा आफ्ना सन्ततीले भोग्न नपसोस् भन्ने उनी चहान्छिन् । 'द्वन्दका घाउहरु मेटाउन दलहरु गम्भिर छैनन्, देशमा फेरी अशान्ति होला की भन्ने चिन्ताले सताईरहन्छ', जोमुमायाले भनिन्, 'छोरा युद्धबीरलाई पढाएर असल मान्छे बनाउने मेरो सपना छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.