उदारीकरणले बढाएको व्यापार
खिचापोखरीमा बाल्यकाल बिताउँदा अरुण चौधरीले फाट्टफुट्ट गाडी देख्न पाए । काठमाडौंको व्यस्त बजार न्युरोडमा पनि सडकको छेउ मात्र हैन, बीचैमा पनि गाडी पार्किङ गरेको देखिन्थ्यो ।
अहिले पार्किङ गर्न ठाउँ नपाउने भनेरै न्युरोड जानबाट बच्ने अवस्था छ । २०३६ सालतिर चौधरी ग्रुप सुजुकीको आधिकारिक बिक्रेता हुँदा पनि काठमाडौंका सडकमा सवारीको चाप थिएन । प्राइभेट कार/जीप चढ्ने त एकदम कम– सरकारी निकायका उच्चपदस्थले चढ्ने, अलिअलि धनाढ्य थिए ।
आक्कलझुक्कल गाडी बिक्ने भएकाले शो रुम बनाएर गाडी राखिन्थेन । क्याटलग हेरेर ग्राहकले गाडी बुक गर्थे । ग्राहकको हातमा गाडी पर्न कम्तीमा ६ महिना लाग्थ्यो । जापानबाट 'सिपमेण्ट' भयो भनेपछि ग्राहक खुशी भएर फर्किन्थे । कोलकाता बन्दरगाह आइपुगेको बताउँदा ग्राहक हँसिलो अनुहार हेर्नलायक हुन्थ्यो । सहरमा आफूले बेचेका गाडी देख्दैमा कसको हो थाहा हुन्थ्यो ।
अवस्था फेरिएको छ । उत्पादक समय घण्टौं जाममा परेर खेर फाल्नु नियमितजस्तै हुन थालेको छ । गाडीको खपत यसरी बढ्नुको सम्बन्ध उदारीकरणसँग छ । अर्थशास्त्री रामेश्वर खनालका अनुसार पञ्चायतमा आयात निर्यात नियन्त्रित थियो । अलि ठूलो व्यापार÷व्यवसाय गर्न दरबारियासँग सम्बन्ध गाँस्नुपथ्र्यो । व्यवसाय थिएन, सीमित व्यक्तिको हातमा पैसा थियो । गार्मेण्ट उद्योग फस्टाए पनि त्यसमा लगानीकर्ता धेरै विदेशी थिए, कामदारमात्र नेपाली ।
मुलुकमा उदारीकरणको सुरुवात २०४३ सालमै सुरु भयो । बैंक, वित्तीय लगायतका क्षेत्र निजी क्षेत्रका लागि खुला गरियो । अरब बैंक, ग्रिण्डलेज र इण्डोस्वेज बैंकले यहाँ बैंकमा लगानी गरे । जसले गाडी चढ्नेको संख्या बढायो । २०४८ सालमा त आक्रामक रूपमै पहिलो पुस्ताको उदारीकरण सुरु भयो । जसले व्यापार सबैका लागि खुला गर्यो ।
उदारीकरणमा सरकारले राहदानीमा उदारनीति अपनायो । अब नेपाली नागरिक राहदानी लिने हकदार बने । यसले नेपालीलाई वैदेशिक रोजगारीको बाटो खुल्यो । मानवशास्त्री सुरेश ढकालका अनुसार उदारीकरण भनेको विश्व बजारको हिस्सा हुने हो । तर,त्यसमा सहभागी हुन केही न केही चाहियो । पुँजी लगानी गर्न सकिएन । उत्पादन गर्ने, वितरण गर्ने क्षमता थिएन । 'हामीले मानव श्रममार्फत विश्व बजारमा सहभागिता जनायौं', ढकाल भन्छन्, 'सहभागिताको तरिका यही नै भयो ।'
उदारीकरणले दिएको यो बाटोबाट धेरै अदक्ष श्रमिक विदेशिए । कृषिले युवालाई रोक्नुपथ्र्यो । कृषिको व्यवसायीकरण नारामात्र भयो । कृषिले धान्न नसक्ने भएपछि उपाय पनि देखिएन, उपभोग गर्न लायक पनि थिएनौं । रेमिट्यान्सले उपभोगयोग्य बनायो । रेमिट्यान्सले यसरी खपत बढायो बजारमा अटोमोबाइल बजार ह्वात्तै बढ्यो । चावेलका गौरव पोखरेल २०४३ सालतिर चावेल चौकमा बसेर सडकमा गुडेका गाडी गनेर बसेको सम्झिन्छन् ।
उनकै समकालीन सुवास अधिकारी गोगंबुचौकबाट ५ सय मिटर रिङरोड भित्रपट्टि रहेको घरबाट रिङरोडमा गाडी गुडेको छ्याङङ देख्थे । आधा आधा घण्टामा साझा बस गुडेको देखिन्थ्यो, अरू फाट्टफुट्ट देखिन्थ्यो । ती सबै अब सपनाजस्ता लाग्छन् ।
सवारीसाधन आयातको सम्बन्ध २०४६ सालको परिवर्तनसँग किन छ भने सम्पत्ति हुँदैमा राम्रो घर, गाडी राणा÷भाइभारदार खलकभन्दा बाहिरको पहुँचमा थिएन । प्रतिस्पर्धा गर्न खोजेको अर्थ लाग्न सक्थ्यो । अर्थ लागे निकालावास हुनसक्थ्यो । त्यो अवस्था पञ्चायतमा पनि निमिट्यान्न भएन । नियन्त्रित व्यवस्थामा नागरिक वैध काम गर्न पनि डराउनपर्ने अवस्था हुन्छ । शासकका आँखा लाग्ने डर हुन्छ । व्यापार, व्यवसाय गर्दा, विलासिताका वस्तु प्रयोग गर्दा शासकको आँखा लाग्ने डर पञ्चायतमा कायम थियो ।
प्रजातन्त्रले त्यो डर हटाइदियो । गार्मेण्ट उद्योग फस्टाएको काठमाडौंमा कार्पेट उद्योग छ्याप्छ्याप्ती खुल्न थाले । निर्यात व्यापार अकासियो । व्यापार चम्किन थालेपछि काठमाडौंमा टोयोटा, कोरोला चढ्नेले पजेरो चढ्न थाले । 'काठमाडौंका नवधनाढ्यमा पजेरो चलनचल्तीमै आइसकेकै कारण सरकारले भन्सार छुट सुविधा दिदा सासंदको रोजाइ बन्न पुगेको हो', खनाल थप्छन् ।
२०५३ सालमा माओवादी विद्रोह सुरु भएपछि गाउँका सम्पन्न विस्थापित भए । ती कुनै राजमार्गका बिर्तामोड, इटरी, लालबन्दी, बुटवल, कोहलपुर, अत्तरिया आदिमा बसाइ सरे, कोही काठमाडौं हान्निए । यसबाट राजमार्ग वरपरका शहरीकरण तीव्र भयो । २०५८÷५९ तिर विद्रोह यति विस्तार भयो, सहरी क्षेत्रका युवा पनि पलायन हुन थाले । यसले रेमिट्यान्सको वृद्धि ठाडो भयो । रेमिट्यान्सको कारण बसाइँसराइँ पनि भयो ।
उदारीकरण सुरु भएपछि वैदेशिक मुद्राको स्रोतमा निर्यात, वैदेशिक सहयोग र रेमिट्यान्स थियो । माओवादी द्वन्द्व चर्किन थालेपछि रेमिट्यान्स दोस्रो स्थानमा उक्लियो । अहिले पहिलो स्थानमा छ । 'अटो बजार एकदम गर्माएको पनि रेमिट्यान्स ह्वात्तै बढेपछि हो', चौधरी भन्छन् ।
माओवादी विद्रोहका कारण विस्थापन र रेमिट्यान्सको कारण जग्गाको भाउ यसरी अकासियो कि जग्गा हुनेहरू तत्काल गाडी किन्ने हैसियतमा पुगे । घरजग्गाको बिक्री गरेर गाडी खरिद भयो, कारोबार गर्नेले गाडी किने, दलाली गर्नेले पनि गाडी किन्ने हैसियत बनाए । घरजग्गाको कारोबार बढ्नुअघि जग्गा भए पनि गाडी किन्ने हैसियत हुन्थेन । काठमाडौंको काँठमा थुप्रै रोपनी, वा मधेशमा धेरै बिघा जग्गा हुनेले पनि गाडी किन्ने सपना देख्दैनथे । जग्गाको मूल्य नै थिएन । जग्गा कारोबारका कारण काठमा केही आना वा मधेशमा कठ्ठा बेचेर गाडी किन्न सकिने भयो ।
प्राध्यापक कृष्ण खनालका अनुसार परम्परागत परिभाषाअनुसार लगानी गर्न सक्नेलाई मात्र मध्यमवर्ग हो, तर परिभाषा परिवर्तन गर्नुपर्ने भएको छ । एउटा जागिरका कारण सोझै मध्यमवर्गमा छलाङ हान्ने वर्ग बनेको छ । बैंकको अफिसर तहमा जागिर पाउनेबित्तिकै ऊ हाउजिङको फ्ल्याट र कार चढ्ने हैसियतको हुन्छ । १ लाख रुपैयाँ प्लसको जागिर खाने टन्नै भएका छन् । दातृ निकायसम्बद्ध जागिर, सूचना प्रविधि यस्ता थुप्रै क्षेत्र तयार भएको छ, जहाँ रातारात गाडी चढ्ने हैसियतमा उक्लिन सकिन्छ । जसले अटो व्यापारको ठाडो वृद्धि चल्ने निश्चित छ ।