बहुतले पार्किङ आवश्यक
काठमाडौंः शंखमूल निवासी पदम पोख्रेल न्युरोडमा काम गर्छन् । उनलाई न्युरोडमा हरेक दिन बाइक पार्किङको तनावले सताउँछ । अतिव्यस्त रहने व्यापारिक केन्द्र न्युरोडमा पार्किङको अभाव छ । अलिअलि भएको ठाउँ बिहान ९ बजे नै भरिइहाल्छ । दिनदिनै बाइक पार्किङ गर्ने ठाउँ खोज्दा उनी हैरान भइसकेका छन् ।
काठमाडौं महानगरपालिकाका वरिष्ठ अधिकृत शिवराज अधिकारी गत साता स्कुटर चढेर न्युरोड गएका थिए । स्कुटर पार्किङ गर्न उनले ठाउँ खोज्दै हिँडे, तर कहीँ खाली ठाउँ भेटेनन् । अनि वसन्तपुर लगेर स्कुटर पार्किङ गरे । महानगरको कर्मचारी भएर उनलाई त्यहाँ पार्किङ गर्न दिइयो । सर्वसाधारण नागरिकको त्यहाँ पहुँच पुग्दैन ।
राजधानीको पार्किङ व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको महानगरका वरिष्ठ कर्मचारी अधिकारीले उल्टै सुनाउँदै थिए– ‘पार्किङ समस्याकै कारण न्युरोड जान नसकिने रहेछ ।’ उनीजस्तै निजी सवारी लिएर न्युरोड पुग्ने सबैलाई पार्किङको सास्ती छ । पार्किङ स्थलकै अभावले कतिपय मानिसहरू न्युरोडमा किनमेल गर्न जाने हिम्मत गर्दैनन् ।
यो त भयो न्युरोडको समस्या । राजधानीकै दरबारमार्ग, ठमेल, बानेश्वर, पुतली सडक लगायतका ठाउँमा पनि पार्किङको समस्या भयावह छ । राजधानीमा वर्षेनि गाडीहरू थपिरहेका छन् । हरेक दिन पार्किङ समस्या बढ्दै छ । तर, महानगर यस विषयमा त्यति चिन्तित देखिएको पाइँदैन ।
सवारीको संख्या बढ्दै गएपछि पार्किङ स्थल विस्तार गर्दै जानुपर्छ । यातायात व्यवस्था विभागका अनुसार बागमती अञ्चलमा आर्थिक वर्ष २०७१।०७२ सम्म ८ लाख २८ हजार सवारी दर्ता भएका छन् । यो संख्या १० वर्षअघि ३ लाखको हाराहारीमा थियो । त्यसमाथि बाहिर दर्ता गरेर राजधानीमा चलाउने गाडी पनि उत्तिकै छन् । सवारी संख्या झण्डै तेब्बर वृद्धि भएको देखिन्छ, तर पार्किङ स्थल बढेको देखिदैन ।
‘व्यवस्थित ठाउँ नहुँदा सडकमा जबरजस्ती बाइक कोच्याएर पार्किङ गर्नु परिरहेको छ’,पोख्रेलले भने- ‘यसरी पार्किङ गर्दा महँगो मूल्य हालेर किनेको बाइक स्क्रयाच भइदिन्छन् ।’ गाडीको संख्या बढ्दै गएपछि महानगर व्यवस्थित पार्किङ निर्माणतर्फ लाग्नुपथ्र्यो तर अहिलेसम्म केही निजी सपिङ कम्प्लेक्समा बाहेक अन्यत्र व्यवस्थित पार्किङस्थल छैन । विदेशमा व्यस्त शहरहरूमा बहुतले व्यवस्थित पार्किङस्थल हुन्छन् । काठमाडौंमा पनि बहुतले पार्किङको आवश्यकता छ ।
जब भयो राति, तब बूढी ताती
‘जब भयो राति, तबै बूढी ताती’ भनेझैं पार्किङको समस्याले भयावह रूप लिन थालेपछि बल्ल महानगरपालिका व्यवस्थित पार्किङका लागि तात्न थालेको छ । राजधानीका व्यस्त स्थानहरूमा बहुतले व्यवस्थित पार्किङ स्थल बनाउने योजना महानगरले अगाडि सारेको छ ।
पुरानो बसपार्कमा तीन तला पार्किङसहितको ‘भ्यू टावर’ बनाउने काम सुरु भइसकेको छ । खुल्लामञ्च र लैनचौरमा भूमिगत बहुतले पार्किङ स्थल बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । योजना स्वीकृतिका लागि स्थानीय विकास मन्त्रालयमा पठाइसकेको महानगरका सार्वजनिक निजी साझेदारी (पीपीपी) विभाग प्रमुख शिवराज अधिकारी बताउँछन् ।
महानगरले ‘पीपीपी’ मोडलमा पार्किङ बनाउन खोजेको हो । भूमिगत पार्किङका लागि ठूलो लगानी आवश्यक पर्ने हुँदा निजी क्षेत्र त्यति अग्रसर नदेखिएको अधिकारीको भनाइ छ । ‘पार्किङबाट मात्र लगानी उठाउन गाह्रो हुने रहेछ’, उनले भने ‘पार्किङको अलवा अन्य व्यापारिक गतिविधि सञ्चालन गर्ने ठाउँ दिएर भए पनि निजी क्षेत्रलाई आकर्षित गर्छौं ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बहुतले मल्टी स्टोरी पार्किङ निर्माण गरिरहेको छ । पर्यटन मन्त्रालयले सुन्धारामा नयाँ धरहरासँगै तीनतले पार्किङ स्थल बनाउने योजना सार्वजनिक गरेको छ ।
खुलामञ्च भूमिगत पार्किङ
अतिव्यस्त रहने न्युरोडमा देखिएको पार्किङ समस्या समाधान गर्न महानगरले खुल्लामञ्चमा भूमिगत पार्किङ बनाउन लागेको छ । पार्किङको स्केचसमेत तयार भइसकेको छ ।
खुलामञ्चको ४८ रोपनी क्षेत्रफलमा तीनतलाको भूमिगत पार्किङ हुनेछ । पहिलो तलामा बाइक पार्किङ र पसल, कफी सप हुनेछन् । दोस्रो र तेस्रो तलामा गाडी पार्किङमात्र हुनेछ । महानगरले १ हजारभन्दा बढी सवारी अटाउने पार्किङ स्थल बनाउन लागेको छ ।
खुलामञ्चमा पार्किङस्थल बनाउन करिब ३ अर्ब लाग्ने अनुमान छ । यहाँ तलमाथि गर्न लिफ्टसहितको पार्किङस्थल बनाउने लक्ष्य राखिएको छ । यो पार्किङ स्थल बनेपछि न्युरोड, दरबारमार्गमा देखिएको पार्किङ समस्या हट्ने विश्वास गरिएको छ ।
लैनचौर पार्किङ
महानगरले लैनचौरमा तीनतले भूमिगत पार्किङस्थल बनाउने भएको छ । यसको पनि डीपीआर तयार भइसकेको छ । मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको अधिकारी बताउँछन् । यहाँ पनि पार्किङसहित पसलहरू हुनेछन् । यो पार्किङस्थल बनाउन करीव ७५ करोड रुपैयाँ लगानी हुने अनुमान छ । यहाँ तीन सय सवारी एकसाथ पार्किङ गर्न मिल्नेछ ।
त्रिभुवन विमानस्थल
त्रिभुवन विमानस्थलमा दुई तलाको पार्किङ बनिरहेको छ । छिट्टै यो पार्किङ स्थल सञ्चालनमा आउने विमानस्थल व्यवस्थापनले जनाएको छ । विमानस्थलको अराइभल कक्षबाट सीधै कार पार्किङमा जान सकिने गरी निर्माण भइरहेको छ । अराइभल कक्षबाट यात्रुहरू लिफ्टमार्फत पार्किङ स्थल जान सक्नेछन् ।
यहाँ साढे पाँच सय कारहरू पार्किङ गर्न सकिनेछ । यो पार्किङ स्थल सञ्चालनमा आएपछि विमानस्थलमा देखिएको ट्राफिक समस्या हट्नेछ । रसुवा केडी भेन्चरले ३० वर्षसम्म सञ्चालन गर्ने गरी भाडामा लिएर पार्किङ स्थल बनाइरहेको छ । यहाँ पनि पार्किङका साथै रेस्टुराँ, सपिङ सेन्टर, स्पा लगायतका सुविधा उपलब्ध हुने बताइएको छ ।
सुन्धरा बहुतले पार्किङ
भूकम्पले भत्किएको धरहरा सरकारले भव्य रूपमा पुनर्निर्माण गरिँदै छ । आधुनिक धरहराको स्केचसमेत तयार भइसकेको छ । धरहरा चढ्न आउनेहरूको सुविधाका लागि यहाँ तीनतले पार्किङस्थल बनाउने प्रस्ताव गरिएको छ । यसका लागि गोश्वारा हुलाकको जग्गासमेत लिइने भएको छ ।
धरहरा परिसरमा बन्ने पार्किङ स्थलमा १ सय ३४ कार र ७ सय २२ मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । यसले पनि न्युरोड क्षेत्रमा देखिएको पार्किङ समस्या केही हदसम्म कम गर्न मद्दत गर्नेछ ।
काठमाडौं भ्यू टावर
पुरानो बसपार्क भएको स्थानमा महानगरपालिकाले २९ तलाको भ्यू टावर बनाउन लागेको छ । पहिलो चरणमा १२ तलाको मात्र टावर बन्नेछ । टावरमा दुई तला बेसमेन्ट अन्डर ग्राउन्डसहित तीन तलामा पार्किङ बनाइनेछ ।
टावरको अन्डरग्राउन्ड दुई तलामा ठूला बस र साना गाडी पार्किङको सुविधा हुनेछ । माथिल्लो तलामा दुईपांग्रे सवारी पार्किङको सुविधा हुने परियोजना प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार टावरमा ४ सय बाइक, २ सय साना गाडी र ४ सयकै हाराहारीमा ठूला बस पार्किङ गर्न मिल्नेछ ।
यहाँ काठमाडौं उपत्यकामा चल्ने नगर बसहरू पार्किङ गरिने भएको छ । यहाँ लिफ्ट राखेर एउटै तलामा दुई तहसम्मको पार्किङ बनाउन लागिएको काफ्लेले जानकारी दिए । टावरको नक्सा पास भइसकेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
छायाँ सेन्टर
ठमेलमा निर्माण भइरहेको छायाँ सेन्टरमा हाइड्रोलिक सिष्टमको पार्किङ स्थल बन्दैछ । यो सिष्टमबाट एउटै तल्लामा तल र माथि गरी दुई तहमा गाडीहरु पार्किङ गर्न सकिनेछ । अटोमेटेड मेसिनले ग्राहकको गाडी पार्किङ गर्ने र बाहिर निकाल्ने काम गर्नेछ ।
छायाँ सेन्टरको अन्डरग्राउन्ड दुई तलामा पार्किङको व्यवस्था हुने छ । जहाँ ३८६ गाडी र २१७ मोटरबाइक एकैपटक पार्किङ गर्न सकिने छ । यो परियोजना सञ्चालनमा आएपछि ठमेलमा देखिँदै आएको पार्किङ समस्या धेरै हदसम्म समधान हुने विश्वास गरिएको छ ।
यसअतिरिक्त निजी क्षेत्रबाट सञ्चालनमा आइसकेका भवनमा पनि भूमिगत पार्किङ सुविधा छ । निर्माण भइरहेका भवनमा पनि भूमिगत पार्किङ बनिरहेको छ । महानगरले पार्किङ नबनाए भवनको नक्सा पास गर्दैन ।
तर, कतिपय ठूला कम्पलेक्सले महानगरलाई पार्किङ देखाउने, तर पार्किङको ठाउँ व्यावसायिक प्रयोजनमा लगाउने गरेको पनि भेटिन्छ । ‘कम्पलेक्स सञ्चालकले पार्किङमा चियापसल तथा गोदाम राख्ने गरेका छन्’, महानगरका रेग्मीले भने, ‘त्यस्ता कम्पलेक्सको अनुगमन गरेर पार्किङमा पसल नथाप्न निर्देशन दिन्छौं ।’ तीनकुनेमा बनाउने भनिएको शान्ति मण्डलामा पनि भूमिगत पार्किङको सुविधा हुनेछ ।