सस्तो ब्याजको प्रतिस्पर्धा
तपाईं गाडी किन्ने सोचमा हुनुहुन्छ ? यदि गाडी किन्ने सोच छ भने ११ औं नाडा अटो शोमा अन्य समयको भन्दा बैंकहरूले १ देखि साढे एक प्रतिशत कम ब्याजमा ऋण उपलब्ध गराइरहेका छन् ।
चाडपर्वलाई मद्देनजर गरी नेपाल अटोमोबाइल डिलर्स एशोसिएशनले बढीभन्दा बढीलाई सहज र सरल प्रक्रियाबाट गाडी खरिद गराउन मेला आयोजना गरेको हो । यही मौका छोपेर गाडी किन्नेलाई ऋण प्रवाह गर्न बैंकहरू एकअर्कामा प्रतिस्पर्धी गर्ने तरिकाले आफ्ना विभिन्न योजना सार्वजनिक गरिरहेका छन् ।
नाडा अटो शोमा गाडी किन्दा ग्राहकलाई फाइनान्सिङ गर्न सजिलो हुनाका साथै अन्य समयमा भन्दा सस्तो ब्याजमा बैंकहरूले ऋणको व्यवस्था मिलाएर मेला सफल बनाउन सघाएको एशोसिएशनका अध्यक्ष अञ्जन श्रेष्ठले बताए । आम ग्राहकलाई गाडी खरिदका लागि आकर्षण गर्न विभिन्न नाराका साथ बैंकहरूले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने गरेका छन् ।
अटो लोनमा बैंकहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । ग्लोबल आइएमई, एनएमबी, हिमालयन, जनता, सिभिल, माछापुच्छे, मेगा, सानिमा तथा एनआईसी एशियालगायतका बैंकले न्यूनतम ब्याजदरमा अटो ऋण प्रवाह गर्न प्रतिष्पर्धा सुरु गरेका हुन् । मेलामा सहभागी प्राय सबै बैंकहरूको अटो लोन प्रवाह गर्ने स्किम भने उस्तै छ ।
बैंकहरूले न्यूनतम सेवा शुल्कसहित अधिकतम कर्जा अवधिमा अटो ऋण उपलब्ध गराउने योजना ल्याएका हुन् । नेपालमा वार्षिक रूपमा गाडीको व्यापार बढ्न थालेका कारण पनि बैंकहरू यो कर्जातिर आकर्षित भएका छन् ।
नेपाल ठूलो र महत्वाकांक्षी मेलामा रूपमा स्थापित अटो शोमा सिभिल बैंकले फियट र स्कोडाका कारहरूको खरिदमा ४.५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ । यसको कर्जा अवधि पनि आठ वर्षसम्म रहन सक्ने छ । सिभिलले अन्य कम्पनीका सवारीसाधनमा भने ७ प्रतिशत ब्याजदर कायम गरेको छ । अन्य समयमा सिभिलले व्यक्तिगत ऋणमा ८.९९ र व्यावसायिक ऋणमा ९ देखि ११ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् ।
हिमालयन बैंकले एनबीएल हायर पर्चेज लोनका नाममा ०.२५ प्रतिशत सेवा शुल्कमा ८० प्रतिशतसम्म अटो लोन प्रवाह गरिरहेको छ । अटो शो आयोजनाभरि गाडी खरिद गर्न चाहने ग्राहकले यो अफरअनुसार सवारीसाधन खरिद गर्न सक्छन् । कम्पनीले जुनसुकै कम्पनीका कारको खरिदमा यस्तो सुविधा उपलब्ध गराउँछ ।
हालसम्म साढ चार अर्ब अटो लोन प्रवाह गरेको ग्लोबल आइएमई बैंकले सरल कर्जामार्फत ६.९९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ । सात वर्ष सेवा सुविधा अवधि रहेको यस बैंकको सेवाशुल्क ०.७५ प्रतिशत तोकिएको छ ।
एनआइसी एशिया बैंकको व्यक्तिगत अटो लोनमा ६.२५ प्रतिशत र व्यावसायिक लोन ८.४९ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरिरहेका छन् । ब्याजदरमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधासहित सात वर्षका लागि अटो लोन उपलब्ध गराउने घोषणा गरेको छ । यसको सेवा शुल्क ०.७५ प्रतिशत कायम गरिएको छ ।
एनएमबी बैंकले पाँचवर्षे कर्जा अवधिका लागि १ प्रतिशत सेवा शुल्क लिएर ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिरहेको छ । एनएमबीको ब्याज दर ६.४९ प्रतिशत रहेको छ । यो बैंकले पनि स्पट फाइनान्सको सुविधा दिएको छ । यस बैंकले हालसम्म ४ अर्ब रुपैयाँ अटो लोन प्रवाह गरिसकेको छ ।
४३ करोड अटो क्षेत्रमा लोन प्रवाह गरेको मेगा बैंकले ७ प्रतिशतको ब्याजदरमा ०.७५ प्रतिशत सेवा शुल्क तोकेर ८० प्रतिशतसम्म अटो लोन दिने तयारी गरेको छ । यसले पनि ७ वर्षको कर्जा अवधि तोकेको छ । मेगाले २ दिनमै कर्जा प्रवाह गर्ने समेत बताएको छ ।
माछापुच्छे बैंक एमबीएल इजी कार लोन अफरसहित ०.६५ प्रतिशतको सेवा शुल्कमा ८२ प्रतिशत अटो लोन प्रवाह गर्ने भएको छ । ६.७५ प्रतिशत ब्याजदरमा बैंकले ३ दिनमा कर्जा प्रवाह गर्ने योजना बनाएको छ । कर्जा अवधि ७ वर्ष हुनेछ ।
सानिमा र लक्ष्मी बैंकले ६.९९ प्रतिशतको ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएका छन् भने सानिमाको सेवा शुल्क १ प्रतिशतमा ८० प्रतिशतसम्म अटो लोन प्रवाह गर्ने भएको छ । बैंकले ७ वर्षे कर्जा अवधि तोकेको छ । लक्ष्मीले ७ वर्षका लागि अटो लोन दिइरहेको छ भने पाँचवर्षे कर्जा अवधिका लागि ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ ।
पाँच वर्षअघि नेपालका बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेजअन्तर्गत गाडीमा ५३ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । अहिले यो कर्जामा १ खर्ब १० अर्ब रुपैयाँ प्रवाह गरिसकेका छन् ।
माछापुच्छे बैंकले ६.७५ प्रतिशत ब्याज दरमा नाडाकै लागि ऋण योजना ल्याएको छ । बैंकले गाडीको मूल्यको ८२ प्रतिशतसम्म ऋण ७ वर्षसम्मका लागि उपलब्ध गराउँछ । हिमालयन बैंकले पनि व्यक्तिगत प्रयोजनका लागि गाडी किन्नेलाई साढे ६ प्रतिशत ब्याजमै कर्जा दिने घोषणा गरेको छ । यो कर्जा ७ वर्ष अवधिसम्मका लागि पाइन्छ ।
अटो शोमा बुकिङ भएका गाडीका लागि बैंकहरूले कर्जाको ब्याज दर मात्र झारेका होइनन्, सेवाशुल्क घटाएका छन् । अन्य समयमा १ प्रतिशतभन्दा माथि सेवा शुल्क मेलामा ०.२५ प्रतिशतदेखि ०.७५ प्रतिशतसम्म यस्तो शुल्क लिने भएका छन् ।
मेलामा ग्राहकले आफ्नो रुचिअनुसारको गाडी छनोट गर्न पाउनुका साथै मासिक रूपमा रकम भुक्तानी गर्ने विशेष सुविधा भएकाले पछिल्लो समय गाडी लोन बढ्दै गएको छ । बैंकहरूमा अत्यधिका तरलताले पनि बैंकहरूलाई कम जोखिम भएको यस क्षेत्रमा लगानी गर्न प्रोत्साहन मिलेको छ ।
अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि कर्जा योजना घोषणा गरिरहेका छन् । कन्जुमर बैंकिङतर्फ सवारीसाधनमा बैंकहरू बढी फोकस भएको पाइन्छ । अन्य क्षेत्रको ऋणको ब्याजभन्दा अटो लोन तुलनात्मक रूपमा कम ब्याजदरमा बैंकहरूले ऋण उपलब्ध गराइरहेका छन् ।
अझ नाडा अटो शोमा त अन्य समयको भन्दा पनि सस्तो ब्याज दर राखेका छन् । अन्य क्षेत्रमा प्रवाह गरिएको कर्जाभन्दा अटो क्षेत्रको कर्जा कम जोखिम भएकाले पनि यसप्रति बैंकहरूको आकर्षण बढेको छ ।