यात्रालाई विश्वसनीय बनाउँदै पर्यटक सवारी

यात्रालाई विश्वसनीय बनाउँदै पर्यटक सवारी

काठमाडौं उपत्यका र बाहिरका गन्तव्यमा सेवा प्रदान गरिरहेका पर्यटक सवारी साधनप्रतिको यात्रामा यात्रुको विश्वसनीयता बढ्दै गएको छ । विभिन्न ट्राभल्स कम्पनीले हरियो प्लेटका सवारीसाधनबाट दिने सेवाप्रतिको विश्वसनीयता पछिल्लो समय बढ्दै गएको छ ।

अन्य सार्वजनिक यातायातको तुलनामा आफ्नै गति, निश्चित मापदण्डमा सञ्चालन हुने, चालकको लापर्वाही न्यून रहेका कारण पनि विश्वसनीयता बढ्दै गएको पर्यटन यातायात व्यवसायी संघको भनाइ छ ।

पर्यटक सवारीले आधुनिक सेवा-सुविधा बढाउन थालेका र आरामदायी सिटका साथै सवारीभित्र दिइने वाइफाई तथा एयर कन्डिसनसहितका आधुनिक सुविधासम्पन्न भएका कारण पर्यटक गाडीप्रतिको विश्वसनीयता बढ्दै गएको पोखरा जगदम्बा ग्रुपका अध्यक्ष केशव अधिकारीले बताएका छन् । यात्रुकै सुविधालाई ध्यानमा राखेर पोखरा जगदम्बा ट्राभल्सले हवाई जहाजकै सुविधामा काठमाडौं-पोखराको रुटमा दुईवटा पर्यटक गाडी सञ्चालन गरिरहेको छ ।

पर्यटक सवारीले बीचमा रोकेर यात्रु नचढाउने र नरोक्ने भएकाले गन्तव्यमा पुग्ने समय बाटोमा अवरोध नभए समय सधैं एउटै हुने ट्राभल व्यवसायी बताउँछन् । यात्रुको सुविधा लागि पहिल्यै टिकट बुकिङ गर्न सकिने, खाजा र खानाको गन्तव्यमा बाहेक अन्यत्र नरोकिने भएकाले पनि अझै यात्रुको यात्राप्रतिको विश्वसनीयता रहेको उल्लेख छ । पर्यटक गाडीको यात्राले ठगीबाट बच्चे सुरक्षित माध्यम बनेको छ । अहिलेसम्मको इतिहासमा पर्यटक सवारीमार्फत कुनै पनि ठूलो मानवीय क्षति दुर्घटना नभएको दाबीसमेत व्यवसायीको छ ।

सुरक्षित यात्रा नै अहिलेको सबैभन्दा विश्वसनीय आधार भएको ट्राभल व्यवसायीको भनाइ छ । पर्यटक सवारीले पर्यटकीय सेवालाई दृष्टिगत गरेर दिने सुरक्षित सेवा नै यसप्रतिको विश्वास भएको महालक्ष्मी भेइकलका प्रबन्ध निर्देशक रामहरि शर्माले बताए । उनका अनुसार पर्यटकीय सवारीसाधनले आन्तरिक र बाह्य दुबैलाई लक्जरियस सेवा दिने गरेका छन् ।

अन्य सवारीसाधनको तुलनामा बढी सुरक्षित र तालिम प्राप्त चालक तथा सहचालक हुनु नै यसको विशेषता हो । पर्यटक सवारीसाधन सामान्यभन्दा सुरक्षित, आरामदायी सेवा-सुविधा हुने भएकाले नै यसप्रति आन्तरिक पर्यटकको पनि रुचि बढेको बुझाइ शर्माको छ । हरिया नम्बर प्लेटका सवारीले विशेषगरी पर्यटक बोक्ने नै अनुमति पाएका छन् । पर्यटकीय गन्तव्यमा जाने आन्तरिक तथा बाह्यक दुबै पर्यटकलाई यी सवारीले सुविधा दिने गरेका छन् ।

अहिले उपत्यका मात्रै पर्यटकीय सेवाका सवारीसाधन सानाठूला गरी १ हजार पाँच सय भन्दा बढी छन् । ठूला लक्जरियस बसको संख्या करिब १ सयवटा रहेको सम्बन्धित पर्यटन व्यसायीको भनाइ छ । टुरिस्ट भेइकल एसोसिएसन अफ नेपाल (एनटीभीए) अन्तर्गत रहेका १५ सय सवारीसाधन रुटमा चल्दैनन् ।

यी सवारीसाधन नेपाल आउन पर्यटकलाई विमानस्थल आइपुगेपछि लिन जानेदेखि पर्यटकीय गन्तव्य घुम्ने र फिर्ता जाने बेलासम्मको सुविधामा खटिने गरेका छन् । नेपाल पर्यटन यातायात संघअन्तर्गत रहेका करिब २ सय बस भने विभिन्न ट्राभल कम्पनीका सवारीसाधन हुन् । यी सवारीसाधन काठमाडौंबाट पोखरा र चितवन, काठमाडौं-दिल्ली, पोखरा-दिल्लीसहितको रुटमा चल्ने गरेका छन् ।

जहाज सरहकै सुविधामा पर्यटक सवारी

गत वर्षदेखि नेपालमा पोखरा जगदम्बा ट्राभल्सले जहाज सरहकै सुविधामा पर्यटक सवारी सञ्चालन गरिरहेको छ । यो कम्पनीले गत वर्ष असोज १५ गतेबाट दुईवटा सवारीसाधन अत्याधुनिक सेवा र सुविधामा सञ्चालन गरिरहेको छ । यो कम्पनीले काठमाडौं पोखरामा सेवा दिइरहेको आधुनिक सेवा सुविधाका दुईवटा सवारीसाधनमा जहाजमा एयरहोस्टेज जस्तै गाडीका लागि बस क्रु राखेर सेवा दिइरहेको छ ।


बस क्रु हुने यो गाडीमा यात्रुले रिमोट कन्ट्रोलबाट सञ्चालन गर्न मिल्ने आरामदायी सिट, वाईफाई, एसी, खाना र खाजाको व्यवस्थासहित गाडीभित्रै मिनी बारको समेत सुविधा दिइएको पोखरा जगदम्बा ट्राभल्स तथा मोडर्न इरा टुर्स एन्ड ट्राभलका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए । उनका अनुसार यो गाडी सेवा र सुविधा हिसाबले दक्षिण एसियाकै उत्कृष्ट रहेको छ ।

काठमाडौंबाट पोखरा र चितवन सञ्चालन भइरहेको यो गाडीले जम्मा २ हजार रुपैयाँ लिने गरेको छ । काठमाडौंबाट पोखरासम्मको यो शुल्कमा यात्रुले आफ्नै सिटमा चिया, कफी, कोल्ड ड्रिङ्स, खाजासहितको सुविधा पाउँछन् भने बाटोमा हुने खानाको व्यवस्था पनि टिकेटमै जोडिएको छ । गाडीमा बस होस्टेज (लेडी क्रु) राखिएको छ ।

थप सुविधाका पाँच गाडी थपिँदै

पोखरा जगदम्बा ट्राभल्सले दुईवटा सुविधासम्पन्न पर्यटक गाडी सञ्चालन गरेको एक वर्षमा नै थप पाँचवटा गाडी भित्र्याउने भएको छ । आगामी असोज १ गतेबाट सञ्चालनको तयारी भइरहेको थप पाँचवटा गाडीमा भित्रै शौचालय र खाना, चिया तथा कफीका निम्ति टेवुलको सुविधा थपिएको छ ।

हाल २१ सिट क्षमताको सवारी सञ्चालन गरिरहेको यो कम्पनीले २८ सिट क्षमताको नयाँ गाडी ल्याउने भएको छ । सिट क्षमता बढेकाले सेवा र सुविधा थप भए पनि यात्रुले तिर्ने टिकेट भने ५ सय घटाएर १५ सय रुपैयाँ बनाउने पनि अधिकारीले बताए ।

पाँचवटा थप गरेर दुईवटा काठमाडौं-पोखरा, दुईवटा विराटनगर—काठमाडौं र एउटा आवश्यकताअनुसारको गन्तव्यमा सञ्चालन गर्ने गरी रुट तय भएको पनि अधिकारीले बताए । आधुनिक सुविधाका यी गाडी एउटैको करिब डेढ करोड रुपैयाँ पर्ने अधिकारीले बताए । कम्पनीले विगत आठ वर्षदेखि पोखरा-दिल्लीसम्म नियमित सेवा दिइरहेको छ ।

पछिल्लो समय यात्रु सेवामा आधुनिक सुविधा प्रदान गर्दै अरू ट्राभल व्यवसायीले पनि एसीसहित भित्रै ट्वाइलेट भएको गाडी सञ्चालन गर्न थालिसकेको पर्यटक बस व्यवसायी संघले जानकारी दिएको छ । एक हजार रुपैयाँ शुल्क लिएर सुविधासम्पन्न गाडीबाट सेवा दिने कम्पनी हरेक वर्ष बढ्दै गएको पनि संघको भनाइ छ ।

ग्राण्ड टुर गराउँदै गोचाली ट्राभल

अघिल्लो वर्षको भूकम्पपछि नेपालमा चिनियाँ पर्यटकको बजार कम भएकाले स्थलमार्गबाटै चिनियाँ ल्याएर प्रवर्धनको अभियानका निम्ति गोचाली ट्राभल एण्ड टुर्सले ग्राण्ड टुर आयोजना गर्ने भएको छ ।

यो ट्राभलले आगामी सेप्टेम्बर १३ मा चीनको केरुङबाट रसुवा हुँदै ३५ देखि ६० वटा गाडीमार्फत कम्तीमा १ सय ५० जना पर्यटक ल्याउने भएको छ । आफैं सवारी हाँकेर आउने यो चिनियाँ टोली सीधै बन्दीपुर र पोखरा घुमेर काठमाडौं आउने र सेप्टेम्बर २१ मा फर्कने गरी योजना बनेको गोचालीका प्रबन्ध निर्देशक भागीरथ सापकोटाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.