चिनियाँ राष्ट्रपति अर्को महिना नेपाल अाउने

चिनियाँ राष्ट्रपति अर्को महिना नेपाल अाउने

काठमाड‌ाै‌ः उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपालीको महान् पर्व दसै‌मा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् । असोज २२, २३ र २४ गते (अक्टुबर ८, ९ वा १०) मध्ये एक दिन राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने प्रस्ताव पठाएका हुन् । असोज २२ गते फूलपाती, २३ गते महाष्टमी र २४ गते महानवमी पर्छ ।
भारतको गोवामा हुने चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा राष्ट्रपति सीले नेपाल भ्रमण गर्न सक्ने एक मन्त्रीले बताए । यसअघि चिनियाँ पत्रिका मर्निङ हेराल्डले ब्रिक्स सम्मेलनमा सहभागी भएर फर्कंदा चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने उल्लेख गरेको थियो । भारतको गोवास्थित पणजीमा असोज २८ र २९ मा ब्रिक्स सम्मेलन हुँदैछ ।

‘पहिले ब्रिक्स सम्मेलनपछि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भन्ने थियो, अहिले ब्रिक्स सम्मेलनपहिले नै नेपाल भ्रमण गर्ने प्रस्ताव आएको छ’, एक मन्त्रीले बिहीबार अन्नपूर्णसँग भने । ती मन्त्रीका अनुसार चिनियाँ अधिकारीहरूले आफ्ना राष्ट्रपतिको भ्रमणको मिति प्रस्ताव गरेपछि सरकारले बिहीबार चीनका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लीलामणि पौड्याललाई र भारतका लागि नेपाली राजदूतमा दीपकुमार उपाध्यायलाई पठाउने निर्णय गरेको छ ।

‘चीनका तर्फबाट राष्ट्रपतिको भ्रमण हाम्रो फूलपाती, अष्टमी, नवमीमध्ये एक दिन गर्ने गरी प्रस्ताव आएको छ,’ ती मन्त्रीले अन्नपूर्णसँग भने । नेपालमा दुई दशकपछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको हो ।

सी दशैंकाे फूलपाती,  अष्टमी र नवमीमध्ये एक दिन अाउने । 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले नेपालसँग दीर्घकालीन रणनीतिक सम्बन्ध विकास गर्न चाहेको बताएका थिए । ओलीको बेइजिङ भ्रमणका बेला भएका १० बुँदे सम्झौता र १५ बुँदे संयुक्त वक्तव्यमा राखिएका विषय कार्यान्वयनमा लैजान नेपालमा सरकार परिवर्तन हुँदैमा फरक नपर्ने विश्वास चिनियाँ विदेश मन्त्रालयले गत जुलाई २५ मा प्रेस विज्ञप्ति जारी गरी व्यक्त गरेको थियो ।

दुवै छिमेकीसँग सन्तुलनकारी कूटनीति अवलम्बन गर्ने वर्तमान सरकारको नीतिअनुसार दुवै मुलुकमा उच्चस्तरीय भ्रमण आदानप्रदान सहज बनाउन तत्काल राजदूत नियुक्त गर्ने निर्णय गरिएको ती मन्त्रीले बताए ।

‘निकट भविष्यमा चीनका राष्ट्रपति र भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । त्यहाँ हाम्रो राजदूत हुनु जरुरी हुनाले मन्त्रिपरिषद्ले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई राजदूतमा प्रस्तावित गरेको हो’, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने, ‘केही समयदेखि भारत, चीनलगायतका देशमा राजदूत छैनन् । निकट भविष्यमै हाम्रो प्रधानमन्त्रीको भारत भ्रमण हुँदैछ ।’ ओली नेतृत्वको सरकारले चीनका लागि नेपाली राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउन सिफारिस गरेको थियो भने नयाँ सरकारले अघिल्लो सरकारको निर्णय खारेज गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएलगत्तै आफ्ना विशेष दूतका रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र अर्का उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत भ्रमणमा पठाएर कूटनीतिक सन्तुलन कायम गर्ने प्रयास गरेका थिए ।

त्यति बेला पनि चिनियाँ अधिकारीहरूले अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयनबारे नयाँ सरकारसँग जिज्ञासा राखेका थिए । चीनका लागि राजदूत सिफारिस गरिएका पौड्याल नोभेम्बर २००३ देखि जुलाई २००७ सम्म ल्हासास्थित नेपाली महावाणिज्यदूत थिए ।

चारवर्षे कार्यकाल पूरा गरी थपिएको चार महिनापछि राजदूत महेश मास्के गत मे २८ मा स्वदेश फर्किएका थिए भने भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई अघिल्लो सरकारले जेठ दोस्रो साता फिर्ता बोलाएको थियो ।

चिनियाँ राष्ट्रपति सी र भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमण गराउने वातावरण बनाउन सिफारिस गरिएका राजदूत नियुक्तिका लागि संसदीय सुनुवाइ समिति पुनर्गठन गर्नुपर्नेछ । समितिमा रहेका सांसद हितराज पाण्डे स्थानीय विकास र अर्का सांसद बालकृष्ण खाँड रक्षामन्त्री भएका छन् । संसदीय सुनुवाइ समितिलाई तत्कालै पूर्णता दिई राजदूत नियुक्ति प्रक्रिया अगाडि बढाइने ती मन्त्रीले बताए ।

राष्ट्रपति सीको नेपाल भ्रमण गराउन ओलीको चीन भ्रमणमा भएका समझदारीका आधारमा नेपालमा पेट्रोलियम पदार्थ अध्ययन, पोखरा विमानस्थल शिलान्यास, पारवहन सम्झौताको प्रोटोकल बनाउने कार्यको सुरुआत, नेपालमा चिनिया बैंक खोल्ने सम्भावनाको खोजी, कोदारी राजमार्ग विस्तार र हिल्सामा पुल निर्माण प्रक्रिया अगाडि बढाइएको छ । ओलीको भ्रमणका बेला भएको संयुक्त वक्तव्यमा रहेका विषयलाई राष्ट्रपति सीको नेपाल भ्रमणमा सम्झौता हुने गरी आर्थिक प्रतिबद्धताको चरणमा पुर्‍याउन नेपाल सरकारका तर्फबाट गर्नुपर्ने गृहकार्य भने धेरै बाँकी रहेको परराष्ट्रका अधिकारीहरूले बताए ।

परराष्ट्रसचिवस्तरको बैठक बेइजिङमा भएको छ भने दुवै मुलुकका अर्थ र वाणिज्य सचिवको नेतृत्वमा सरोकारवाला सचिवसहितले संयुक्त वक्तव्यमा आएका विषयलाई राष्ट्रपति सीको भ्रमणका बेला कुन विषयलाई सम्झौतामा लैजाने, कुन विषयमा आर्थिक दायित्व कसले कति लिने जस्ता विषय टुंग्याउन बाँकी रहेको परराष्ट्रका ती अधिकारीले बताए । दुवै मुलुकका अर्थसचिवस्तरको बैठक नयाँ सरकार गठनलगत्तै स्थगित भएको अवस्था छ ।

चिनियाँ रेलवे सेवालाई नेपाली भूमिसम्म विकास गर्ने सम्भाव्यतामा चीनले सहयोग गर्ने प्रतिबद्धता र पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययनमा चिनियाँ सहयोगलाई कार्यान्वयनमा लैजान, अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणमा बनेको समझदारी कार्यान्वयन लैजाने र विशेष आर्थिक क्षेत्र निर्माण गर्ने चाहना नयाँ सरकारले पनि व्यक्त गरेको छ ।

बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा मलेसियाका लागि पूर्वराजदूत तथा अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका ऋषि अधिकारीलाई नियुक्त गरेको छ । त्यसैगरी योजना आयोगको उपाध्यक्षमा राष्ट्रबैंकका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा श्रीराम पौडेल नियुक्त भएका छन् ।

पौडेल पूर्वअर्थमन्त्री वर्षमान पुनका पनि सल्लाहकार थिए । बैठकले सचिव सरुवाका लागि प्रधानमन्त्रीको अध्यक्षतामा सामान्य प्रशासनमन्त्री तथा ल्याउने र पठाउने मन्त्री सहभागी रहेको समिति गठन गरिएको छ । सचिव सरुवाका बारेमा मन्त्रिपरिषद्मा समझदारी बन्न नसकेपछि त्यस्तो व्यवस्था गरिएको अर्का एक मन्त्रीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.