लामखुट्टे हटाऔँ रोगबाट बचौं

लामखुट्टे हटाऔँ रोगबाट बचौं

काठमाडौं: जनकपुरकी २३ वर्षीया प्रमिला साहलाई लामखुट्टेको टोकाइ सामान्य लाग्थ्यो । कोठामा होस् या करेसाबारी उनलाई लामखुट्टेले टोक्दाको कुनै प्रवाह थिएन । 'टोक्दा एक छिन दुख्थ्यो त्यसपछि बिर्सिहाल्थेँ', पाटन अस्पतालमा उपचार गरिरहेकी प्रमिलाले भनिन्, 'बल्ल थाहा भयो लामखुट्टे कति घातक हुने रहेछ ।'

प्रमिलालाई केही समयअघि जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ । जुन रोग लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । त्यसबारे जानकारी नहुँदा प्रमिलालाई काठमाडौंसम्मको यात्रा गर्र्दै अस्पताल भर्ना हुनुपर्‌यो । उनकी चार वर्षीया छोरीलाई पनि पटकपटक कडा ज्वरो आउँछ । आफैं बिरामी परेपछि उनले छोरीको ख्याल गर्न समेत पाएकी छैनन् । प्रमिलाजस्ता धेरै मानिस जसले लामखुट्टेलाई बेवास्ता गरेको पाइन्छ । एक/दुई लामखुट्टेले टोक्दैमा के नै होला र ? भन्नेहरू धेरै छन् । तर यसको टोकाइ घातक हुने भएकाले बच्न सबै किसिमको उपाय अपनाउन चिकित्सकले बिरामीलाई सुझाव दिन थालेका छन् ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका ट्रोपिकल मेडिसिन फिजिसियन डा. अनुप बाँस्तोलाका अनुसार अस्पतालमा धेरै बिरामी आउने गर्छन् । जसलाई लामखुट्टेको टोकाइ सामान्य लाग्छ । परामर्शपछि भने बेलैमा ख्याल नगरेको पछुतो गरेर घर फर्कन्छन् ।

फोहोरमैलाको व्यवस्थापन नहुन, सडक वा घरवरपर खाल्टाखुल्टीमा पानी भरिनु र झाडी बढ्नुजस्ता कारणले अहिले तराई वा गर्मी हुने स्थानबाट लामखुट्टे सरेर पहाड वा हिमालतिर समेत पुग्न थालेका छन् । ती लामखुट्टे आफूमात्र गएका छैनन् विभिन्न संक्रमणजन्य रोगसमेत बोकेर जान थालेका छन् । जलवायु परिवर्तका कारण लामखुट्टेको प्रजननदर बढेको पाइन्छ । लामखुट्टेको टोकाइ बढ्नु तर त्यसको नियन्त्रणमा कुनै चासो नदिँदा वा सामान्य उपायसमेत अपनाउन नसक्दा मानिसहरू रोगको सिकार बन्न थालेका छन् ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले बढ्दो लामखुट्टेको टोकाइ घातक हुने र धेरैको ज्यान लिने खतरासमेत बढेको देखाएको छ । चिकित्सकका नेपालमा डेंगु, मलेरिया, जापानिज इन्सेफलाइटिस, चिकनगुनियाजस्ता घातक रोगहरू लामखुट्टेको टोकाइबाट फैलिएको र यसबाट प्रभावित हुनेहरू बढ्दै छन् ।

लामखुट्टेले मानिसलाई टोकेर कडा ज्वरो, एलर्जी, वाकवाकी गराउने तथा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने गरेको छ । बिरामी भने यो अरू नै कारणले देखिएको समस्या होला भन्दै बस्ने गरेका छन् । थला परेपछि मात्रै चिकित्सक खोज्दै अस्पताल जाने गरेको पाइन्छ । 'पहिले गर्मी मौसममा मात्र लामखुट्टे पाइने गरेको थियो र उनीहरूको टोकाइ पनि त्यति विषालु थिएन तर हिजोआज जताततै र जुनसुकै मौसममा पनि लामखुट्टे पाइने गरेका छन् । जसको टोकाइ घातक बन्ने गरेको छ', डा. अनुप बाँस्तोलाले भने ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एनोफिलिस, मिनिमस, एनोफिलिस, फ्लुभिएटिलिस, एनोफिलिम म्याकुलेट्स र एनोफिलिम एनुलासिस लाखुट्टेहरू नेपालमा बढिरहेका छन् । यसलाई रोग फैलाउने कडा लामखुट्टेका रूपमा हेर्ने गरिएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया निर्देशक डा. पुनम क्षेत्रपालले लामखुट्टे अत्यन्तै घातक बन्दै गएकाले यसबाट बच्न व्यक्तिसँगै सिंगो मुलुकले सावधानी अपनाउनु पर्ने बताइन् ।

लामखुट्टेले टोकेर नेपालसहित विश्वमा प्रत्येक वर्ष सात लाख २५ हजार मानिसको ज्यान लिइरहेको तथ्यांक छ । यस्तो समस्या नेपालसहित दक्षिणपूर्वी एसियामा बढ्दै गएको छ । लामखुट्टेले ठूलो संख्यामा ज्यान लिन सक्ने चेतावनी पनि संगठनले दिएको छ । नेपालमा यसबारे यकिन तथ्यांक छैन । बिरामी पर्ने र मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

बिरामीको संख्या बढ्नु र रोगको वाहक मानिएको लामखुट्टेलाई बेवास्ता गर्नु वा त्यसबारे जानकारी नलिनु मुलुकको लागि ठूलो चुनौती भएको छ । संगठनका अनुसार यी रोगका कारण दक्षिणपूर्वी एसियामा मात्रै एक अर्ब ४० करोड मानिसको स्वास्थ्य, आर्थिक र सामाजिकस्तर खस्किएको छ । डा. क्षेत्रपालले भनिन्, 'जिका भाइरस र यल्लो फिवरसमेत निम्त्याउने संक्रमित एडिस एजेप्टाई लामखुट्टे फैलिने क्रम बढेको छ ।'

वर्षायाममा लामखुट्टे नियन्त्रण गरिएन भने त्यसबाट प्रकोप उत्पन्न हुने जेखिम रहन्छ । लामखुट्टेको प्रजनन दर घटाउन र संक्रमित गराउने लामखुट्टेको नष्ट गर्ने अभियान तीव्र बनाउनुपर्ने देखिन्छ । 'लामखुट्टेको टोकाइबाट फैलिने रोगहरूले यो क्षेत्रलाई ठूलो चुनौती दिएको छ । सहरी भेग होस या ग्रामीण', डा. क्षेत्रपालले भनिन् ।

नेपालले लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्ने, झुल वितरण गर्नेलगायत कार्यक्रम गर्दै आएको छ । तर पर्याप्त नभएको विज्ञहरू टिप्पणी गर्छन् । उनीहरू यस्ता कार्यक्रमले मात्र लामखुट्टेको टोकाइबाट बच्ने दीर्घकालीन उपाय नहुन सक्नेमा जोड दिन्छन् । लामखुट्टेको टोकाइबाट सर्ने गरेको र नेपालका लागि सबैभन्दा पुरानो मानिएको मलेरिया रोगको संक्रमणलाई ३० प्रतिशतसम्म घटाउने लक्ष्य स्वास्थ्य मन्त्रालयले लिएको छ । नेपालमा पुष्टि नभएका तर चुनौती दिइरहेको जिका भाइरसको संक्रमण रोक्नसमेत लामखुट्टे नियन्त्रणको अभियान तीव्र बनाउनु पर्नेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, 'उपत्यका होस् या अन्य क्षेत्र योजनाबिनै बढिरहेको अव्यवस्थित सहरीकरणका कारण फोहोरमैला अत्यधिक निस्कन थालेको छ । सही व्यवस्थापन गर्न नसक्दा लामखुट्टेको संख्या वृद्धि भएको छ ।' उनका अनुसार अन्य नयाँ संक्रामक रोग फैलिन नदिन लामखुट्टेको संख्याका भएको वृद्धि र यसको टोकाइको प्रभावबारे सरकारले थप अनुसन्धान गर्न आवश्यक छ ।

मौसम परिवर्तन हुनासाथ लामखुट्टेको टोकाइबाट होस् चाहे अन्य कीटजन्य रोग तत्कालै अन्य मानिसमा फैलन सक्छ । त्यसैले हरेक समय लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनुपर्छ ।

कसरी बच्ने ?

स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण महाशाखाका प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु भनेको भयानक रोग लाग्नुबाट बच्नु हो । अनाकमा उपचार खर्च बेहोर्नबाट समेत बच्नु हो । हामीले दैनिक जीवनमा महत्त्वपूर्ण कुरामा ख्याल गर्नुपर्छ । घरमा हुँदा होस् या बाहिर निस्कँदा शरीर ढाकिने गरी कपडा लगाउनुपर्छ ।

घर वा सडकहरूका खाल्डाखुल्डीमा पानी जम्छ र त्यहाँ लामखुट्टेले बच्चा हुर्काउने ठाउँ पाउँछ । फोहोर पानीमा हुर्कन वा बाँच्ने लामखुट्टेको टोकाइ घातक हुन्छ । यस्ता ठाउँमा पानी जम्न दिनुहुन्न । घर वरपरका अत्यधिक झाडी पनि लामखुट्टेको बासस्थान बन्छ । यसलाई हटाउन ढिलो गर्नु हुन्न । बेलाबेलामा लामखुट्टे मर्ने औषधि छर्कनुपर्छ ।

सधैं नै झुलको प्रयोग गर्नुपर्छ । लामखुट्टे नियन्त्रणका लागि बजारमा विभिन्न किसिमका औषधि पाइने गरिन्छ । उचित तरिकाले प्रयोग गर्ने हो भने लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । तेल अथवा लोसनहरू हातखुट्टामा लगाएर काम गर्दा लामखुट्टेले टोक्न पाउँदैन । रोग लागिसकेपछि पछुताउनुभन्दा यसबाट बच्नु उत्तम उपाय हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.