योजना आयोग उपाध्यक्षमा डा. श्रेष्ठ
काठमाडौंः सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा.मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकका बाहलवाला कार्यकारी निर्देशक श्रेष्ठलाई आयोगका उपाध्यक्षको जिम्मेवारी दिइएको हो ।
केन्द्रीय बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेकाले श्रेष्ठलाई मुलुकको अर्थतन्त्रको समग्र अवस्थाका बारेमा राम्रो ज्ञान छ । वित्त, अनुसन्धान तथा योजनाका क्षेत्रमा दख्खल मानिने उनले कार्यक्रम निर्माणसँगै कार्यान्वयनमा विशेष जोड दिने बताए ।
‘बजेट र यसअघि योजनामा पारिएका राम्रा कामलाई निरन्तरता दिने र परिमार्जन गर्नुपर्ने विषयमा अध्ययन गरी अघि बढ्नेछु’,उनले भने । केही समय योजना आयोगले गरिरहेका समग्र कामका बारेमा अध्ययन गरेपछि मात्र भावी रणनीतिका स्पष्ट खाका तय हुन सक्ने उनले बताए । पूरक बजेट ल्याउनेसम्बन्धमा पनि अध्ययन गरी निष्कर्षमा पुग्ने उनको भनाइ छ ।
मुलुकको समग्र विकासको खाका कोर्ने आयोगले अर्थमन्त्रीलाई सहयोग र सल्लाह दिन विशेष भूमिका निर्वाह गर्छन् । बजेटले लिएका उद्देश्य तथा कार्यक्रमको कार्यान्वयनमा उपाध्यक्षको जिम्मेवारी महत्वपूर्ण हुन्छ ।
एमाले र माओवादीसहितको संयुक्त सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट अहिले कार्यान्वयनको क्रममा छ । यसअघिका योजना आयोगका उपाध्यक्ष डा.युवराज खतिवडा बजेटमा निकै हावी भएका थिए ।
खतिवडा गभर्नर हुँदा श्रेष्ठ पनि विश्वासपात्र रहेकाले खतिवडाले बनाएको बजेटलाई उनले कसरी अघि बढाउँछन् भन्ने चासो पनि उत्तिकै छ । बजेट र योजना आयोगले अवलम्बन गरेका राम्रा कामको निरन्तरतासँगै थुप्रै नयाँ र सुधारका कार्यक्रम अघि बढाउने आयोगका नवनियुक्त उपाध्यक्ष डा. श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले सार्वजनिक प्रशासन र राजनीति शास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गरेका छन् । यस्तै, बेलायतबाट एमबीए अनि अस्ट्रेलियाबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।