तीजलाई स्याउ टिप्दै मुस्ताङे
बेनीः स्याउको राजधानी भनेर चिनिने हिमाली जिल्ला मुस्ताङका किसानले स्याउ टिप्न सुरु गरेका छन् । हरितालिका तीजलाई लक्षित गर्दै किसानले स्याउ टिप्न सुरु गरेका हुन् । मुस्ताङको स्याउ केही दिनअघिदेखि बजारमा आएको छ । यो सिजनमा टिपेको स्याउ तुलनात्मक रूपमा कम रसिलो हुने र अमिलोपन बढी हुने भए पनि उपभोक्ताको रोजाइमा पर्दै आएको छ ।
स्थानीय किसानले व्यापारीलाई बोट हिसाबमा स्याउ बिक्री गरेपछि ठेकेदार व्यापारीले स्याउ बजार पठाउन लागेका छन् । मुस्ताङमा तीजको अवसरमा केही र त्यसको एकमहिना पछि अरू स्याउ टिपिन्छ । जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत तप्तबहादुर गुरुङले स्याउ टिप्न असोज दोस्रो हप्तादेखि उपयुक्त हुने भए पनि किसानले टिप्न थालेको बताए । ‘अहिले केही किसान र व्यवसायीले स्याउ टिप्न सुरु गरेका छन्, यो तीजको उपहारजस्तै हो’, उनले भने ।
जिल्ला कृषि विकास कार्यालयको अध्ययन अनुसार यस वर्ष स्याउ उत्पादनमा पाँच प्रतिशत कमी आउने देखिएको छ । गत हिउँदमा पर्याप्त हिउँ नपर्नु र खडेरीका कारण डिजिनम्स नामक कीराको प्रकोपले स्याउमा अपेक्षाअनुसार दाना लाग्न सकेको थिएन ।
स्याउमा बजारको समस्या नहुने र आकर्षक आम्दानी गर्न सकिने भएपछि मुस्ताङका किसान भने व्यक्तिगतदेखि सामूहिक रूपमा स्याउ खेतीमा लाग्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयको अध्ययन अनुसार यस वर्ष स्याउ उत्पादनमा पाँच प्रतिशत कमी आउने देखिएको छ । गत हिउँदमा पर्याप्त हिउँ नपर्नु र खडेरीका कारण डिजिनम्स नामक कीराको प्रकोपले स्याउमा अपेक्षाअनुसार दाना लाग्न सकेको थिएन ।
‘गत सिजनमा जिल्लाभर ४८ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो तर यस वर्ष घट्नेछ’, गुरुङले भने, ‘पकेट क्षेत्रमै कम दाना लागेको छ ।’ प्राविधिकका अनुसार मार्फा र जोमसोम क्षेत्रमा उक्त कीराले खासै प्रभाव नपारे पनि टुकुचे र ठिनी क्षेत्रमा भने निकै प्रभाव पारेको छ ।
चाडपर्वलाई लक्षित गरेर बजारमा आएको मुस्ताङी स्याउको मूल्य तुलनात्मक रूपमा महँगो छ । असोजताक प्रतिकिलो ८० रुपैयाँसम्म बजारमा बिक्री हुने स्याउलाई यो सिजनमा कम्तीमा एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
जिल्लाका मार्फा, टुकुचे, जोमसोम, लेते, कागबेनी, मुक्तिनाथ, झोङलगायतको एक हजार ६९ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने भए पनि तीन सय ६५ हेक्टरमा मात्रै व्यावसायिक उत्पादन हुने कृषि विकास कार्यालयले जनाएको छ । मार्फा र जोमसोम क्षेत्रमा सबैभन्दा बढी स्याउ उत्पादन हुने गरेको छ । जिल्लामा खासगरी रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल र रिचाटेड डेलिसियस गरी चार प्रजातिका स्याउ उत्पादन हुन्छन् ।