दिउँसो राखिएको राजा वीरेन्द्रको सालिक मध्यरातमा हटाइयो
नेपालगन्जः राप्रपा नेपाललगायत राजावादीहरुले नेपालगन्जको धम्बोजी चोकमा राखेको पूर्वराजा वीरेन्द्र शाहको शालिक प्रहरीले रातारात हटाएको छ।
बिहीबार बिहान राजावादीहरुले राखेको राजा वीरेन्द्रको शालिक प्रहरीले मध्यरातमा हटाएको हो। हटाइएको शालिकलाई सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
सरकारले द्वन्द्वकालमा भत्काइएका शालिक राख्ने निर्णय नगरेको कारण बिहीबार राजावादीहरुले राखेको पूर्वराजा वीरेन्द्रको शालिक हटाइएको बाँके प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए।
बिहीबार साँझ बसेको सर्वदलीय बैठकले शालिक हटाउने निर्णय गरेपछि प्रहरीले मध्यरातमा शालिक हटाएको हो। शालिक राखिएको स्थानमा नेपाली झण्डा राखिएको छ।
राप्रपा नेपालका कार्यकताले बिहीबार प्रहरीको अबरोधकबीच नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्रको शालिक रोखेका थिए। शालिक राख्ने क्रममा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ जना कार्यकर्ता घाइते भएका थिए।
२०६२÷०६३ सालको जनआन्दोलनमा आन्दोलनकारीले पूर्वराजा वीरेन्द्रको शालिक तोडफोड गरेका थिए। पूर्वराजाको शालिक हटाएपछि शुक्रबार समेत धम्बोजी चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सर्वसाधारण मित्रलाल सापकोटाले शालिक हटाएर कसैको इतिहास मेटाउन नहुने बताए।