मिङ्सको संगीत नशा

मिङ्सको संगीत नशा

सेलिब्रेटीको संघर्ष

मिङ्स लामा । नेपाली सांगीतिक क्षेत्रमा उदाउँदो नाम । मानिसलाई संख्यात्मकभन्दा गुणात्मक कामले चिनाउँछ । गायिका लामाले पनि संख्यात्मक रूपमा एक दर्जनमात्रै गीत गुनगुनाएकी छन् । तर उनको ‘कस्तो माया बस्यो’ बोलको गीतले उनलाई सांगीतिक क्षेत्रमा राम्ररी चिनाइदियो । सुगम संगीत र पप गायनमा विशेष दक्खल राख्ने मिङ्सले त्यसपछि लगातार एक दर्जन गीत गाइन् ।

‘सानैदेखि गीत संगीतमा धेरै रुचि थियो’, मिङ्सले भनिन्, ‘अब त नशा नै भएछ । केही गरे छोड्न सक्दिनँ ।’ २०३४ सालमा बुबा ज्ञानबहादुर लामा र आमा माया लामाको कान्छी छोरीका रूपमा जन्मिएकी उनी यतिबेला गीतसंगीतमै चुर्लुम्म छिन् । ‘एक समय ब्युटिपार्लर पनि चलाएकी थिएँ’, उनले भनिन्, ‘संगीत क्षेत्रमा लागेपछि त्यो पेसा छोडिदिएँ ।’

त्यसपछि उनले ‘च्याङ्वा हो नाचौं’ बोलको गीत ल्याइन । जसले सांगीतिक क्षेत्रमा उनलाई राम्ररी चिनाइदियो । ‘च्याङ्बा बोलको गीतले मलाई थप हौस्यायो’, उनले भनिन् । यतिबेला मिङ्सको ‘सम्झना’ बोलको गीत चर्चामा छ । सिद्धि मनकामना वानेश्वरबाट प्रवेशिका पास गरेकी उनले अध्ययनमा निरन्तरता दिन सकिनन् । सानै उमेरमा प्रेमविवाह गरेकी उनले संगीत क्षेत्रलाई भने निरन्तरता दिइन् ।

‘विद्यालयका हरेक स्टेज कार्यक्रममा सहभागी हुन्थे, धेरै पुरस्कार र अवार्ड हात पारेकी छु’, गायिका मिङ्सले भनिन्, ‘दर्शक/ श्रोताको त्यही स्नेह मायाले होला सायद यो क्षेत्र मेरा लागि अभिन्न भयो ।’ उनी पहिलो पटक ओमविक्रम विष्ट, मीरा राणा, तरा थापासँग स्टेजमा उभिएर राष्ट्रिय गीत गाएको क्षण कहिल्यै बिर्सिन्नन् ।

आफ्नै स्वरमा रेकर्ड गराएको उनको पहिलो गीत भने कमलमान सिंहको शब्द संगीत रहेको ‘कस्तो माया बस्यो’ नै हो । त्यसपछि उनले आफ्नै शब्द संगीतमा सुरज श्रेष्ठसँग ‘पहिलो माया’ बोलको गीत गाइन् । ‘इट्स ह्यापेन एट टु बी’ एल्बमपछि उनले ‘सम्झना’को तयारी गरिरहेकी छन् ।

नवीनमान लोनको शब्द/संगीतमा रहेको ‘सम्झना’को म्युजिक भिडियो पनि अन्तिम चरणमा पुगेको उनले बताइन् । लामो समयदेखि संगीत क्षेत्रमा लागे पनि यो क्षेत्र निकै कठिन भएको उनले बुझेकी छन् । ‘आर्थिक रूपमा त टिक्नै गाह्रो छ’, उनले भनिन्, ‘मेरो घर र माइती दुवैतिर संगीत क्षेत्रमा लागेका आफन्त भएकाले यो क्षेत्रलाई बुझेका छन् । होइन भने गाह्रो यात्रा हो ।’ जीवन एक यात्राका रूपमा व्याख्या गर्न चाहने गायिका मिङ्स भन्छिन्, ‘आरोह अवरोह भइरहने यात्रा त हो नि जिन्दगी ।’ समयले जहाँ पुर्‍याउँछ त्यही पुगिन्छ भन्ने विश्वास बोकेकी उनी आफूले संघर्ष, मेहनत र निरन्तरता दिइरहनुपर्ने बताउँछिन् ।

लामो समय बिरामीपछि उठेकी लामा यतिबेला पुनः सांगीतिक यात्रालाई निरन्तरता दिँदैछिन् । प्रेमलाई पूजाका रूपमा लिने मिङ्सले भनिन्, ‘प्रेम पूजा हो, साधना हो, यसलाई अन्य रूपमा व्याख्या गर्न सकिँदैन ।’ संगीत क्षेत्रले मात्रै जीविका चलाउन अहिले विभिन्न माध्यमले झन् गाह्रो बनाएको उनको बुझाइ छ । तर पछिल्लो समय कपीराइटको व्यवस्थाले केही राहत हुनेमा उनी आशावादी छन् ।

यसअघि कलाकारले भन्दा अरूले नै फाइदा लिने परिपाटीको अन्त्य हुनेमा उनी विश्वास गर्छिन् । ‘असल मनले संगीत क्षेत्रमा लागेको कलाकार देशको गहना हो, उसको आर्थिक र सामाजिक भविष्यप्रति पनि सबैले सोचिदिनुपर्छ’, मिङ्सको आग्रह छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.