गौरीफण्टाको नेपाल-भारत सीमा नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन माग
काठमाडौं: सुदूरपश्चिमाञ्चल क्षेत्रका उद्योगी, व्यवसायी, राजनीतिक दल तथा सांसदहरुको संयुक्त टोलीले कैलीलीको गौरी फण्टास्थित नेपाल-भारत सीमा नाकालाई अन्तर्राष्ट्रिय स्तरको नाका बनाउन माग गरेका छन्।
शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्इ संयुक्तरुपमा भेटेर टोलीले कैलीलीको गौरी फण्टास्थित नेपाल-भारत सीमा नाकालाई अन्तर्राष्ट्रिय स्तरको नाका बनाउन माग गरेको हो।
भेटमा प्रतिनिधि मण्डलले गौरीफण्टा नाकामा क्वारेण्टाइन चेकजाँच, रेलमार्ग, सडक संजालसहित अन्तराष्ट्रिय मापदण्डको भन्सार कार्यालय स्थापना गर्न माग गरेको हो। प्रतिनिधि मण्डलले नाकालाई ७ नम्बर प्रदेशकै प्रमुख नाका बनाउन माग गर्दै महाकालीको दोधारा चादनीमा सुख्खा बदरगाहा निर्माण एवम् सुदूर पश्चिमा१चलको समग्र विकासका लागि विभिन्न मागहरु प्रस्तुत गरेको थियो।
मागपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको विकासका लागि विशेष रुपमा पहल गर्नुपर्छ भन्नेमा आफ्नो ध्यान रहेको भन्दै गौरीफण्टा नाकाको स्तरबृद्धि एवम् सुख्खा बन्दरगाह निर्माणका सन्दर्भमा आफूले मित्र राष्ट्र भारतसँग कुराकानी अघि बढाउने बताएका थिए।