पूजापाठतिर एकता कपुर
![पूजापाठतिर एकता कपुर](https://annapurnapost.prixacdn.net/media/albums/Ekta-kapoor-57c92a1890da56.31258569_lNi8AMJ45Y.jpg)
भारतीय टेलिभिजनमा एकछत्र राज गर्दै आएकी बलिउड निर्देशक एकता कपुरको यतिबेला हरिबिजोग भएको छ । चारवटा धारावाहिक सिरियल र पाँचवटा चलचित्र लगातार फ्लप भएपछि उनले पूजापाठ, हवन र वास्तुशास्त्रको सहारा लिने निर्णयमा पुगेकी छन् ।
यसै वर्ष रिलिज भएको उनको चलचित्र ‘फ्लाइङ जट्ट’ को असफलताका कारण उनले आफ्नो काम गर्ने कार्यालयलाई पनि वास्तुशास्त्रअनुसार बदल्ने विचार गरेकी हुन् । उनको क्या कुल हे हम तीन, अजहर, उडता पञ्जाब, ग्रान्ड मस्ती तथा फ्लाइङ जट्टलगायत चलचित्रमा करिब ३७ करोडभन्दा बढी नोक्सान भएको छ । एकपछि अर्को चलचित्र नचलेपछि एकताको नकारात्मक टिप्पणी हुन थालेको छ ।
एक समय टेलिभिजनक दुनियाँमा रानी कहलिएकी एकताको पछिल्लो समय सुरु भएको धारावाहिक कवच, कसम, कलश, मजाकलगायतका सिरियलसमेत नचलेपछि उनी निराश बनेकी हुन् ।
यसै कारण एकताले वास्तुशास्त्रको उपाय अपनाउने भएकी हुन् । चाँडै नै उनको काम गर्ने कार्यलयमा वास्तुशास्त्रअनुसारको पूजा गरिने भएको छ । उनले कार्यालयमा पूजा, पाठ, हवन गर्ने जनाएकी छन् ।
एकताले पछिल्लो समय हातका आठवटै औलामा नवरत्नजडित औंठी लगाउँदै आएकी छिन् । नजर नलागोस् भनेर धागो पनि बाँधेकी छन् । उनी एक खास धार्मिक स्थलमा कारोबारको सफलताको कामना गर्न बारम्बार जाने गरेको पनि बताइएको छ । मानिसले उनका बारेमा गरेको टिप्पणीलाई स्वीकार्दै आफू धार्मिक कुरामा विश्वास गर्ने बताएकी छन् । तर यसलाई उनले निजी मामला भनेकी छन् ।
एकताको चलचित्र ‘ट्रिपल एक्स’ एक वर्षदेखि सेन्सर बोर्डले रोकिदिएको छ । उनको यो चलचित्र एडल्ट चलचित्र भनिएको छ, जसमा उनको ठूलो रकम फसेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)