बढ्दै छ स्कुटर मोह 

बढ्दै छ स्कुटर मोह 

एउटा यस्तो समय थियो, स्कुटर भन्नेबित्तिकै केटीमात्र चढ्ने बुझिन्थ्यो । सडकमा पनि फाट्टफुट्ट स्कुटरहरू कुदेको देखिन्थ्यो । केटाहरू स्कुटर चढे गिज्याउँथे । तर, समय परिवर्तन भइसकेको छ । अब स्कुटर केटीको मात्र रहेन, केटाहरूको पनि रोजाइमा पर्न थालेको छ । अहिले स्कुटर चलाउने युवायुवतीहरू बराबर देखिन्छन् ।

पछिल्लो समय स्कुटर सबैको रोजाइमा पर्न थालेको छ । स्कुटर ‘फेमिली ट्रान्सपोर्टेसन’ बन्न पुगेको छ । महिला पुरुष दुवैका लागि उपयुक्त, चलाउन सजिलो र समान राख्न मिल्ने हुँदा स्कुटरमा आकर्षण बढेको हो । अझ विवाहित जोडीहरू संयुक्त रोजाइ बन्न थालेको छ, स्कुटर । कतिपय युवाहरूले विवाहपछि बाइक बेचेर स्कुटर किन्ने गरेका छन् ।

नेपालमा मनै लोभ्याउन स्कुटरहरू भित्रिएका छन् । डिजाइन, पावर र कलरमा बाइकलाई चुनौती दिने स्कुटरहरू बजारमा भेटिन्छन् । युवाका लागि भनेर पावरफुल स्कुटर आइरहेका छन् । तीन सय सीसीसम्मका हेभी स्कुटर नेपाली बजारमा छन् । नेपालमा स्कुटरको बिक्री बढेपछि व्यवसायीहरू पनि नयाँनयाँ स्कुटर भित्र्याउने होडबाजीमा उत्रिएको देखिन्छ ।

अहिले एक दर्जनभन्दा बढी कम्पनीले स्कुटर बिक्री गर्छन् । यी कम्पनीका झन्डै तीन दर्जन मोडलहरू उपभोक्तलाई प्रस्तुत गरेका छन् । जसको मूल्य एक लाख २५ हजारदेखि साढे ६ लाख रुपैयाँसम्म रहेको छ । ग्राहकले रोजीरोजी स्कुटर खरिद गर्न सक्ने टीभीएसका बिक्रेता बताउँछन् । स्कुटरमा पनि पावर, स्टाइलिस, ग्राफिक्स कलर, उच्च माइलेज, मोबाइल चार्जिङ पोर्टलगायतका सुविधाहरू थपिँदै गएपछि बजार बढ्दै गएको उनको भनाइ छ ।

पहिला बाबुआमाले छोरालाई रोजीरोजी बाइक किनिदिन्थे । तर, छोरीलाई स्कुटर किन्दिन मान्दैनथे । अहिले छोराछोरीलाई बराबर हेर्न थालिएको छ । छोरीलाई पनि स्कुटर किन्दिने परिपाटी बढेको छ । युवतीहरू पनि स्कुटरलाई आफ्नो प्यासन बनाउन थालेका छन् । यसले पनि स्कुटरको बिक्री बढाएको व्यवसायीको अनुभव छ ।

कलेजमा पढ्ने युवती होऊन् वा अफिसमा काम गर्ने महिला, उद्यम व्यवसाय गर्ने महिलादेखि गृहिणीसम्मले स्कुटर कुदाउँछन् । ग्राहकहरूबीच पनि अरूको भन्दा आकर्षक स्कुटर चढ्ने होडबाजी चलेको देखिन्छ । यसमा पुरुषहरूले पनि साथ दिइरहेका छन् । पुरुषहरूमा पनि स्कुटर मोह बढ्दै गएपछि हेभी स्कुटर भित्र्याएको टाइवानी एसवाइएम स्कुटरका बिक्रेताले बताए । एसवाईएमले तीन सय सीसीको स्कुटर भित्र्याएको छ । जसको मूल्य साढे ६ लाख रुपैयाँ रहेको छ ।
नेपालमा बाइकको तुलनामा स्कुटर बिक्रीको वृद्धिदर उच्च रहेको व्यवसायी बताउँछन् । नेपालको दुईपांग्रे बजारमा स्कुटरको हिस्सा २५ प्रतिशत नाघिसकेको छ । स्कुटरको बजार हिस्सा बढ्ने क्रम जारी छ ।

स्कुटर बिक्री गर्ने कम्पनी

अहिले होन्डा, हिरो, टीभीएस, यामाहा, बेला, भेस्पा, यूएम, महिन्द्रा, सुजुकी, एसवाईएम, स्कोमादी, कम्पनीले स्कुटर बिक्री गरिरहेका छन् । केही चिनियाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर पनि नेपाल भित्रिएका छन् । हरेक वर्ष नयाँ ब्रान्डका स्कु नेपाल आइरहेको व्यवसायी बताउँछन् ।

स्कुटरले इन्ट्रिलेभल बाइकको बजारसमेत खोसिदिएको छ । नेपालमा डेढ लाखदेखि दुई लाख रुपैयाँसम्मका बाइकलाई इन्ट्रिलेभल मानिन्छ । यो मूल्यमा सबैभन्दा राम्रो स्कुटर खरिद गर्न सकिन्छ । नेपालमा धेरैजसो स्कुटरको मूल्य पौने दुई लाखको हाराहारीमा पर्छ । सस्तो बाइकभन्दा त्यही मूल्यमा आउने आकर्षक स्कुटरमा युवाहरूको ध्यान मोडिएको छ ।

गत वर्षमात्र नेपाल भित्रिएको हो, इटालियन भेस्पा स्कुटर । छोटो समयमै भेस्पाले नेपाली युवतीहरूको ध्यान खिचेको छ । तुलनात्मक रूपमा महँगो भए पनि अहिले सडकमा भेस्पाको उपस्थिति बाक्लो देखिन्छ । भेस्पाका भीएक्सएल, एसएक्सएल र इलिजेन्ट गरी तीनवटा मोडल छन् । जसको मूल्य न्यूनतम दुई लाख ७० हजार नौ सय ४६ देखि तीन लाख पाँच हजार नौ सय ४६ रुपैयाँसम्म रहेको छ ।

भेस्पाप्रतिको आकर्षणले नेपालमा स्कुटर पारखीहरू बढेको स्पष्ट हुन्छ । भेस्पाले चल्तीमा रहेका ब्रान्डहरूको बजार खोसिरहेको बिक्रेता बताउँछन् । भेस्पाको युनिक डिजाइनले ग्राहकलाई आकर्षित गरेको हो । भेस्पाले स्कुटरमात्र उत्पादन गर्दै आएको छ ।

नेपालमा बढी बिक्री हुने होन्डा स्कुटर हो । होन्डाको डीओ मोडलले बजारमा एकछत्र राज गरिरहेको छ । उत्कृष्ट डिजाइन र आकर्षक ग्राफिक्स कलरका कारण डीओले सबैको ध्यान मोडेको हो । होन्डाको एभिएटर र एक्टिभा पनि ग्राहकको रोजाइमा पर्छन् ।

नेपालमा महिन्द्राको रोडियो उजो, गस्टो र फ्लाइट गरी तीनवटा मोडल उपलब्ध छन् । सबै मोडलहरू १२५ सीसीका हुन् । गस्टो ११० सीसीमा पनि उपलब्ध छ ।

यामाहाले हालसालै भित्र्याएको फ्यासिनोले अहिले बजार तताएको छ । फरक डिजाइनमा रहेको फ्यासिनो सर्वाधिक बिक्री हुनेमा पर्छ । यसले होन्डाको डीओलाई चुनौती दिइरहेको छ । यामाहाले अटो मेलामा नयाँ मोडल रे जेडआर सार्वजनिक गरेको छ । यसअघि भित्रिएको जेडआर लोकप्रिय मोडल हो ।

सुजुकीका एक्सेस र लेट्स गरी दुईवटा मोडल छन् । एक्सेस १२५ सीसी र लेट्स ११२ सीसीको स्कुटर हुन् । त्यस्तै, हिरोको तीनवटा मोडलमध्ये प्लेजर सर्वाधिक लोकप्रिय छ । प्लेजर १०२ सीसीको स्कुटर हो । डुयट र ड्यास १०१ सीसीका स्कुटर हुन् ।

टीभीएस कम्पनीको स्टार सिटी, विगो रिफ्रेस, जुपिटर र जेस्ट गरी चारवटा मोडल छन् । सबै मोडल ११० सीसीका हुन् । जसको मूल्य न्यूनतम एक लाख ६३ हजारदेखि एक लाख ७३ हजारसम्म रहेको छ ।

इटालियन ब्रान्ड बेलाले इलेक्ट्रिक स्कुटर भित्र्याएको छ । बेलाका सातवटा मोडल नेपालमा उपलब्ध छन् । पछिल्लो समय इलेक्ट्रिक स्कुटरको पनि बजार बढिरहेको बताइन्छ । खासगरी चीनमा एसेम्बल गरिएका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा पाइन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.