सिंहदरबारमा तास खेल्ने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यालय समयमा सिंहदरबारमा तास खेल्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कार्यालय समयमै कर्मचारीले तास खेल्दै गरेको भिडियो र समाचार अन्नपूर्ण अनलाइनले सार्वजनिक गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारीले तास खेलेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै संलग्नलाई कारबाही गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै तत्काल छानबिन गरी संलग्नलाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्य यस कार्यालयमा नभएको र यस विषयमा सत्य तथ्य बुझी कार्यालयभित्र अनुशासन आचरण विपरित कार्यमा संलग्न भएका कर्मचारीलाई कानुन बमोजिम कारबाही गरी सोको जानकारी दिन सम्बन्धित मन्त्रालयलाई दिर्नेशन दिइएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ ।’
अन्नपूर्णका फोटो पत्रकार दिनेशविक्रम शाहले सिंहदरबारका कर्मचारीले तास खेल्दा खेल्दै बिहीबार खिचेको भिडियोः
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफू १० बजे नै सिंहदरबार पुगेर जनताको काम काम गर्ने बताउदै सबै कर्मचारीलाई समयमा उपस्थित भएर जनतको काम गर्न र कुनै पनि गलत काम नगर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।