अत्यधिक रक्तस्रावका कारण सुत्केरी महिलाको मृत्यु
जाजरकोटः अत्यधिक रक्तस्रावका कारण जाजरकोटमा एकजना सुत्केरी महिलाको ज्यान गएको छ। पाँच महिनामै गर्भ तुहिएपछि भएको रक्तस्राव रोक्न नसक्दा पजारु–३ की १९ वर्षीया रमिता बुढाको ज्यान गएको हो।
महिना नपुग्दै अकस्मात गत बुधवार बेथा लागेपछि केही समयमै घरमै गर्भ तुहिएको र त्यसपछि रक्तस्राव धेरै हुन थालेपछि पजारुको सेराखरेमा रहेको स्वास्थ्य चौकीमा उपचारको लागि लगेको श्रीमान खुमबहादुर बुढाले बताए। तर त्यहाँ पनि रक्तस्राव नरोकिएपछि विहिवार नेपालगञ्ज लैजाने क्रममा साल्माको खारा नजिक बाटोमै ज्यान गएको बुढाले बताए।
‘रक्तस्राव रोक्ने मात्र सेवा समयमा पाउन सकेको भए श्रीमतीको ज्यान जाने थिएन,’ उनले दुखेसो पोख्दै भने। उपचार अभावमा जाजरकोट नायकवाडाकी एक सुत्केरीको मृत्यु भएको तीन साता नवित्दै जिल्लामा अर्की सुत्केरी महिलाको समयमा उपचार नपाउँदा ज्यान गएको हो।
तर, स्वास्थ्य चौकीमा प्रसुति गृह र आवश्यक उपकरण नभएका रमिताले अकालमा ज्यान गुमाउनु परेको स्थानीयको भनाइ छ। स्वास्थ्य चौकीका इन्चार्ज विष्णु गिरीले सुत्केरीको शरिरबाट धेरै रगत वगिसकेकोले बचाउन नसकिएको बताए। स्वास्थ्यचौकीमा भएको औषधिले रक्तस्राव पनि नरोकिएपछि नेपालगञ्ज रिफर गरिएको इन्चार्ज गिरीले बताए।