संसदीय समितिमा गृहमन्त्री निधि र रावलबीच डेढ घण्टा चर्काचर्की

संसदीय समितिमा गृहमन्त्री निधि र रावलबीच डेढ घण्टा चर्काचर्की

काठमाडौँः उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र प्रमुख प्रतिपक्षि एमालेका सांसदबीच संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार डेढ घण्टा चर्काचर्की चल्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले निधीमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको भनिएको ‘विवादित पत्र’ सार्वजनिक गर्ने/नगर्ने बिषयमा सभासद्हरु विभाजित देखिए ।

एमाले सांसदहरुले निधिमार्फत् संविधान संसोधन जस्तो संसदको विरुद्ध आन्तरिक बिषयलाई भारतीय नेतृत्वसँग छलफल गरिनु आपत्तिजनक भएको बताए । भारतीय पक्षलाई पत्र लेख्नु सार्वभौम संसदको अपमान भएको एमाले सांसद भीम रावलले बताए ।

उपप्रधानमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणलाई सकारात्मक र आफूले गरेको भारत भ्रमणलाई विवादित बनाउन खोजेको भन्दै उपप्रधानमन्त्री निधि एमाले सांसदमाथि खनिएका थिए ।

केही दिन अघि एमाले उपाध्यक्ष रावल र उपप्रधानमन्त्री निधीबीच प्रधानमन्त्री निवास वालुवाटारमा निधिकै भारत भ्रमणको बिषयलाई लिएर चर्काचर्की भएको थियो ।

बैठकमा उपप्रधानमन्त्री निधीले एमाले सांसदलाई माक्र्सवाद र लेनिनवादबारे आफूले एमाले सांसदलाई भन्दा बढी जानकारी रहेको दाबी गरे ।

बैठकमा उपप्रधानमन्त्री निधिले एमाले पार्टीले आफूले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको पत्र सार्वजनिक गर्ने बिषय संस्थागत रुपमा छलफल गरेको मिडियामा पढेर थाहा पाएको र त्यो अनुचित रहेको बताए ।

‘नेपालमा माक्र्सवाद, लेनिनवादी पार्टीको प्रवृत्ति थाहा छ । कुनै पार्टीको बैठकमा चीनमा बिशेष दूत पठाइनु उपयुक्त तर भारतमा बिशेषदूत पठाउनु अनुपयुक्त भनेको कुरा मिडियामा पढेर मैले थाहा पाएँ । यो उहाँहरुको कस्तो राष्ट्रवाद हो? ’ निधिले एमालेलाई कटाक्ष गर्दै भने । यसो भनेपछि एमालेका सांसद रावल उत्तेजित बने ।

‘हामीले भारतसंग पनि सम्बन्ध सुमधुर बनाउनुपर्छ भनेका छौँ । चीनतिर बिशेषदूत जानु सही र भारततिर जानु गलत भनेका छौँ । यो निधीजीले गलत कुरा राख्नुभयो’ रावलले भने ।

रावलले ‘यो संसदीय समितिको बैठक हो कुनै कांग्रेस र एमाले पार्टीको बैठक होइन’ भन्दै मन्त्री निधीले आफ्नो पदीय मर्यादा र हैसियत बिर्सेर माक्र्सवाद, लेनिनवाद र विपीका सिद्दान्तका कुरा बैठकमा ल्याएको भन्दै आपत्ति जनाए ।

‘म बिपीको शिष्य हुँ । देशको राष्ट्रिय स्वार्थ, हित र सार्वभौमिकता के हो मलाई राम्रो संग थाहा छ । तपाईँहरुले सिकाउनु पर्दैन’ निधिले भने ‘मलाई माक्र्सवाद, लेनिन र उनीहरुका चेलाको राष्ट्रवाद थाहा छ । म बिपीको चेलालाई राष्ट्रवादको पाठ सिकाउनु आवश्यक छैन ।’

‘मोदीलाई लेखिएको पत्र संसद र यस समितिसमक्ष उपलब्ध गराउनुपछ । अन्यथा मिडियामा सार्वजनिक भएझैँ संबिधान संसोधनको बिषय पत्रमा उल्लेख गरिएको भन्ने आशंका गर्ने ठाउँ रहन्छ’ रावलले भने ।

रावलले बिशेषदूत बनाउन मन्त्री निधीलाई भारत र अर्का उपप्रधानमन्त्री कृष्ण बहादुर महरालाई चीन पठाइएता पनि देशका लागि खासै उपलब्धी नभएको बताए ।

‘बिशेष दूतहरु कुनै बिशेष अवस्थामा, दुई देशबीच संकट आइलागेका बेला समस्या समाधान गर्न पठाउने हो । तर अहिले नेपालमा कुनै बिशेष अवस्था छैन। छिमेकसंग संबन्ध सामान्य रहेको अवस्थामा किन बिशेषदूत पठाइयो भन्ने कुराको औचित्य के हो? यसबाट सरकारको अपरिपक्वता झल्केको छ’ रावलले भने ।

रावलको प्रतिवाद गर्दै उत्तेजित मुद्रामा प्रस्तुत भएका गृहमन्त्री निधीले प्रधानमन्त्रीको पत्र लिएर गएको र कुटनीतिक संवेदनशीलताका कारण त्यसलाई संसदमा पेश गर्न या सार्वजनिक गर्न नमिल्ने बताए ।

‘मैले सामान्य कुटनीतिक प्रचलन अनुशार बिशेष दूतको हैसियतमा प्रधानमन्त्री र राष्ट्रपतिको दुइृवटा पत्र लिएर गएको हुँ । तिनमा नेपालको संबिधान संसोधन संबन्धि आन्तरिक बिषय उल्लेख गरिएको छैन’ उनले भने । प्रधानमन्त्रीको पत्र कुनै एउटा बिदेशी राजदूतले राष्ट्रपतिसमक्ष पेश गर्ने ओहदाको प्रमाणपत्र जस्तो खालको रहेको उनले बताए ।

मन्त्री निधीले आफ्नो भ्रमणबाट प्रधानमन्त्री दाहालको भदौ ३० देखिको भारत भ्रमण, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र राष्ट्रपति बिद्या भण्डारीको भारत भ्रमण निश्चित भएको बताए । ‘भारतीय राष्ट्रपतिको नेपाल भ्रमण र हाम्रा राष्ट्रपतिको भारत भ्रमणको मिति तय हुन बाँकी छ’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.