कृषिमा बढ्यो बैंकको लगानी

कृषिमा बढ्यो बैंकको लगानी

गत आर्थिक वर्ष २०७२/७३ मा कृषि क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ७८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । सो लगानी अघिल्लो आव २०७१/७२ को तुलनामा करिब २१ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाले कृषिक्षेत्रमा ६५ अर्ब १५ करोड कर्जा प्रवाह गरेका थिए ।

नेपाल राष्ट्र बैंकले २०७०/७१ को मौद्रिक नीतिमार्फत सोही आवको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कृषि र ऊर्जाक्षेत्रमा १२ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरेपछि बैंकहरूको यस क्षेत्रमा लगानी बढेको सम्बन्धित विज्ञले बताएका छन् । लगानीका अन्य क्षेत्रभन्दा तुलनात्मक रूपमा यो क्षेत्र कम जोखिमयुक्त हुनुका साथै समयमै कर्जा असुली हुने भएकाले बैंकले लगानी त्यसतर्फ बढाएका हुन् ।

कृषि विकास मन्त्रालयले देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन समय नै तोकेर विभिन्न सुविधा तथा अनुदानको व्यवस्था गरेपछि यो व्यवसायप्रति व्यवसायी तथा किसानको आकर्षण बढेको छ । ‘यस्ता व्यवसायमा बैंक लगानी गर्न हिचकिचाउँदैनन् किनकि उनीहरूको लगानी बिनाजोखिम सहजै समयमै उठ्छ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता थानप्रसाद पंगेनीले भने । राष्ट्र बैंकले गरेको व्यवस्था तथा लगानीका अन्य क्षेत्र खुम्चिरहेका बेला लगानीका लागि कृषि क्षेत्र उपयुक्त भएको उनको ठम्याइ छ ।

गत आवमा कृषिमा वित्तीय क्षेत्रको लगानी बढे पनि त्यसअन्तर्गतकै चियामा भने लगानी एक दशमलब सात प्रतिशतले घटेको छ । पछिल्लो समय चिया व्यवसायी तथा कृषक चियाभन्दा कृषिकै अन्य व्यवसायप्रति आकर्षित भएपछि चियामा वित्तीय क्षेत्रको लगानी घटेको हो । चियामा अघिल्लो वर्षसम्म तीन खर्ब ४७ करोड रुपैयाँ रहेको बैंक तथा वित्तीय क्षेत्रको लगानी गएको वर्ष पाँच करोड रुपैयाँले घटेर तीन अर्ब ४२ करोडमा सीमित भएको छ ।

चिया व्यवसाय तथा खेतीबाट कम फाइदा हुन थालेपछि चियाको पकेट क्षेत्रका व्यवसायी (इलामी) चियाको सट्टामा अलैंची, अम्रिसो, अकबरे खुर्सार्नीलगायतका खेतीतर्फ आकर्षित भएकाले चियामा बैंक तथा वित्तीय क्षेत्रको लगानी घटेको हो । केही वर्षअघिसम्म पहाडमा अर्थोडक्स चियाको उत्पादनमा साना किसान आकर्षित थिए र यस क्षेत्रको लगानी थोरै भए पनि बढेकोे थियो । तर, गत वर्षमा भने चिया उत्पादक चियाले लागत मूल्यसमेत नपाएको भन्दै उदासीन देखिए ।

वित्तीय संस्थाहरूले कृषिका अन्य व्यवसायमा भन्दा पशुपालन व्यवसायमा लगानी बढाउँदै गएका छन् । अघिल्लो वर्षको भन्दा गएको वर्षमा यस क्षेत्रको लगानी ३८.७ प्रतिशतले वृद्धि भएको छ । कृषिक्षेत्रअन्तर्गत पशुपालन क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी सबैभन्दा बढी रहेको छ । अघिल्लो वर्ष २० अर्ब ७३ करोड रुपैयाँ लगानी गरेका वित्तीय संस्थाहरूले गएको वर्षको अन्त्यसम्म आइपुग्दा लगानी वृद्धि गरेर २८ अर्ब ७६ करोड रुपैयाँ पुर्‍याएका छन् ।

गएको वर्ष कृषि फार्मिङ/सेवातर्फ पनि बैंक तथा वित्तीय क्षेत्रको लगानी २९.४ प्रतिशत बढेर १० अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो लगानी सात अर्ब ९९ करोड रुपैयाँ थियो । कृषिकै अन्य व्यवसायभन्दा फार्मिङ व्यवसाय केही जटिल र बढी जोखिम हुँदा यस व्यवसायप्रति आकर्षण बढ्न नसकेको हो ।

लगानीका अन्य क्षेत्रभन्दा तुलनात्मक रूपमा कृषि क्षेत्र कम जोखिमयुक्त हुनुका साथै समयमै कर्जा असुली हुने भएकाले बैंकले यसतर्फ लगानी बढाएका हुन् ।

वन, माछापालन र मासुमा अघिल्लो वर्षसम्म घटेको लगानी गएको वर्ष वृद्धि भएको छ । अघिल्लो वर्ष त्यसअघिको वर्षमा भन्दा ६९.४ प्रतिशतले लगानी घटेर एक अर्ब ७६ करोडमा सीमित भएको थियो । तर, गएको वर्ष अघिल्लो वर्षको तुलनामा १३.६ प्रतिशतले लगानी वृद्धि भएर दुई अर्बभन्दा माथि पुगेको छ ।

अछिल्लो वर्ष यस क्षेत्रमा खासै लगानी बढ्न नसके पनि गएको वर्ष भने लगानी बढेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । कृषि विकास मन्त्रालयले युवालाई स्वरोजगार बनाउने तथा देशकै स्रोत र साधन परिचालनबाट देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित युवालक्षित विभिन्न कार्यक्रम अघि बढाएको छ । सोही कारण युवा यस व्यवसायप्रति आकर्षित हुँदै जाँदा वित्तीय क्षेत्रको लगानी बढ्दै गएको हो ।

त्सस अवधिमा भएको लगानीमध्ये कृषि सेवा तथा कृषिकै अन्यमा ९.८ प्रतिशत लगानी वृद्धि भएको देखिएको छ । अघिल्लो वर्ष यस क्षेत्रमा वित्तीय क्षेत्रको लगानी ३१ अर्ब १८ करोड रहेकोमा गएको वर्षमा सो लगानी बढेर ३४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । पछिल्लो समय बैंकबाट कर्जा लिएर यस्तो व्यवसाय सञ्चालन गर्नेको संख्या वृद्धि हुँदै गएकाले अघिल्लो वर्षको तुलनामा लगानी बढेको हो ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.