भाषाको खुट्टो होइन, शिर काटिँदैछ

भाषाको खुट्टो होइन, शिर काटिँदैछ

कक्षा ७ मा पढ्ने छोराले एक दिन सोध्यो, 'कक्षा ६ मा पढ्दा फूल, ठूलो, तीन जस्ता शब्द दीर्घ थिए । कक्षा ७ मा आउँदा किन ह्रस्व भए बाबा ? सरलाई सोधेको जवाफ नै दिनु भएन ।' जवाफ त मसँग पनि थिएन । नयाँ बानेश्वरको एउटा चिया पसलमा प्लस टुका केही विद्यार्थी आफ्नै तालमा गफ गर्दै थिए, 'हाम्रो नेपाली मास्टर हावा छ यार ।

ह्रस्व दीर्घ पढाउनै जान्दैन । कुन ठीक भनेर सोध्यो भने दुवै ठीक भन्छ ।' मन चसक्क भयो । लाग्यो, यिनीहरू मलाई नै गाली गर्दैछन् । नेपाल प्रहरी स्कुल साँगाको मूल प्रवेशद्वारनजिकै राखिएको साइन बोर्ड खुइलियो । साइन बोर्डमा लेख्नुपर्ने 'विद्यालय'लाई अब कसरी लेख्ने ? 'विद्यालय' या 'विद्यालय' ? भाषाका डासा (डाक्टर साप) हरूसित सम्पर्क गर्दा निष्कर्ष निस्कियो – जुन लेख्दा पनि हुन्छ । मनमा उब्जेका प्रश्नको धारले आफैंलाई झटारो हान्यो– दुवै ठीक हुने भए परिवर्तन किन गरेको ?

यस्ता केही विवाद छँदै थिए । त्यसमाथि भाषाका हाम्रा केही डाक्टरलाई सर्जनले बिरामी चिरेजस्तै चिरफार गर्ने रहर लागेछ क्यारे । तर, चिर्नु पो के र ? आफ्नै अंग चिर्न भएन । कटारी, खुँडा, बन्चरो, तरबार, खुकुरी सबै एकैचोटि प्रहार गरेर नेपाली भाषा चिर्न थाल्नुभयो । विचरा अक्षरहरू खुट्टा काटिएर रक्तमुछेल भए । नपत्याए प्रज्ञाको नयाँ शब्दकोश, पाठ्यक्रम विकास केन्द्रको कक्षा ७, ८, ९ र साझाको ११ कक्षाका नेपाली किताब अनि केही अखबार हेर्नुहोस् ।

'नेपाली भाषा बचाऔं अभियान' र सामाजिक सञ्जालका पोस्टहरूमा हेर्नुहोस् । त्यहाँ घाइते र अर्धमर्छित अक्षरहरू छटपटाइरहेको पाउनुहुनेछ । भाषालाई विचारको पोसाक भनिन्छ तर भाषालाई नै किन नांगेझार पारिँदैछ ? आखिर किन यतिविधि खेलवाड हुँदै छ नेपाली भाषामाथि ? भाषाका यी महान् परिवर्तनकारीहरूको तर्क छ— नेपाली भाषा पढ्न, पढाउन अनि बुझ्न, बुझाउन गाह्रो भयो । त्यसैले सरल पारेको ।

यस्ता (कु)तर्कहरूको घोडा चढेर आज नेपाली भाषाको चीरहरण गर्ने काम भएको छ । यो तर्कविहीन परिवर्तनविरुद्ध बौद्धिक जगत्मा व्यापक बहस र परिचर्चा हुन थालेका छन् । विरोधका गगनभेदी स्वरहरू चौतर्फी रूपमा उठिरहेका छन् । भाषा परिवर्तनका हिमायतीहरू भने 'दुईचार जनाको भीडले भन्दैमा केही हुँदैन, हामीजस्ता विद्वान्को शब्द ढुंगामा खोपेको अक्षर हो, अरूले अरण्य रोदन गर्नुको तुक छैन, अखबार र सडकमा कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन' जस्ता तर्कविहीन अभिव्यक्तिहरू पोखिरहनुभएको छ ।

पछिल्लो नियम मान्ने हो भने 'प्रधानमन्त्री'लाई पर्धान्मन्तरि, 'गृहमन्त्री' लाई 'गिर्हमन्तरि' लेख्नुपर्ने हुन्छ । त्यस्तै 'प्रधान सम्पादक' – 'पर्धान्सम्पादक्' बन्छ भने 'पत्रकार' – 'पत्रकार' । नेपाली भाषाबारे सामान्य ज्ञान राख्ने र त्यही भाषाका माध्यमबाट मास्टरी गरी पेट पाल्ने मजस्तो साधारण मानिसलाई पनि चित्त बुझाउन नसक्ने आधारहीन 'परिवर्तन' को के अर्थ ? किन स्वीकार्नुपर्ने हामीले ? के सत्ताशक्तिको नजिक भएको एउटा झुण्डले गरेको निर्णय नै सर्वसत्य र सर्वोपरि हुने हो ?

मेरो आग्रह छ— बलमिच्याइँ गरेर भाषामाथि खेलवाड नगरियोस् । हो, भाषा परिवर्तनशील छ । त्यसो त भनाइ नै छ— खोला तरेपछि घाँटी बटारिन्छ । स्थान र समयसँगै भाषा फेरिँदै जान्छ । तर यो परिवर्तन कसैको सनक र रहरमा भने हुँदैन । अर्कोतर्फ भाषा केवल अक्षर र शब्दको गठजोडमात्र होइन; यो इतिहास, संस्कृति र पहिचानसित गाँसिएको हुन्छ । बोल्ने, लेख्ने र प्रयोग गर्ने क्रममा भाषा आफैं परिवर्तन भएर आउने कुरा हो ।

यस्तो परिवर्तन समयसंगत, तर्कसंगत र सर्वस्वीकार्य हुन्छ । केही 'शक्तिसम्पन्न' व्यक्तिहरूको समूहले निहित गरेको जबरजस्त परिवर्तन आफैंमा मान्य हुँदैन । त्यस्तो परिवर्तन बाध्यकारी भएर लागू हुन सक्ला । तर, बाढीमा बाटो बिराएको नदी हिउँदमा पुरानै बाटोमा फर्केजस्तै जबरजस्त गरिने परिवर्तन अमान्य हुन्छ । केवल समय, स्रोत र शक्तिको खर्चमात्र हुन्छ । त्यसैले विसं २०६९ साउन २३ गते तत्कालीन माननीय शिक्षामन्त्रीज्यूको हस्ताक्षरसहित 'संयुक्त अक्षरलाई खुट्टो काटेर लेख्नका लागि दिइएको आदेश'लाई तुरुन्त खारेज गर्नुको अर्को विकल्प छैन ।

यो तथाकथित परिवर्तनबारे बजारमा नानाभाँतीका आशंका पनि पोखिन थालेका छन् । कतै यो नेपाली भाषालाई समाप्त पार्न पर्दापछाडिबाट खेलिएको खेल त होइन ? यो सन्दर्भमा एउटा लोकोक्ति पनि स्मरण भएको छ । 'पहिला मृगको सिकार गर्न सिंह आफैं आउँथ्यो । अहिले मृगको सिकार गर्न सिंहले मृगलाई नै पठाउँछ रे ।' कतै हाम्रा भाषाका डासाहरू भाषाविद्को भेषमा भाषाकै सिकार त गर्दै हुनुहुन्न ?

भाषा र आमा उस्तै हुन् । भाषा विचार आदानप्रदान गर्ने परम्परित र प्रचलित माध्यम हो । भाषा सामाजिक सम्पर्कको माध्यम हो । यसको सम्बन्ध भावसित हुन्छ । सबैलाई ज्ञात नै छ— नदी समुद्रतिर बग्छ, भाषा सरलतातिर । त्यसैले त भाषा परिवर्तनशील हुन्छ । भाषा कसैले नियम बनाएर, दण्ड तोकेर या निर्देशन गरेर परिवर्तन हुने विषय होइन । भाषालाई जबरजस्ती परिवर्तन गरी लाद्न खोजियो भने त्यो विस्फोटक हुन्छ ।

भाषा र आमा उस्तै हुन् । भाषा विचार आदानप्रदान गर्ने परम्परित र प्रचलित माध्यम हो । भाषा सामाजिक सम्पर्कको माध्यम हो । यसको सम्बन्ध भावसित हुन्छ । सबैलाई ज्ञात नै छ— नदी समुद्रतिर बग्छ, भाषा सरलतातिर ।

जसरी नदीको बहाव रोक्न खोज्दा वा परिवर्तन गर्न खोज्दा त्यसले डुबान, कटान र विपत्ति निम्त्याउँछ, त्यसैगरी भाषाले पनि सुरुमा समस्या निम्त्याउँछ अनि पछि आफैं समस्यामा पर्छ । अहिले नेपाली भाषाले त्यस्तै दुर्दशा भोग्दैछ ।

नेपालमा ०६२/६३ को राजनीतिक परिवर्तनपछि समाजका अनेक तह र तप्कामा परिवर्तन अपेक्षित थियो । सायद त्यही भएर 'भाषाविद्'मा पनि परिवर्तनको भूत सवार भयो । परिवर्तनका नाउँमा भाषालाई गिँडेर, ठुन्क्याएर, भाँचेर कुरूप पारिएको छ । श, ष आउने सबै आगन्तुक शब्दमा 'स' प्रयोग गर्ने र इकार उकारमा पनि ह्रस्व प्रयोग गर्ने नियम बसालियो । त्यही मान्यताले शहीद पातलिएर सहिद भयो । शहर दुब्लाएर सहर भयो ।

क्षतिपूर्ति दीर्घीभवनको प्रावधान हटाउनेभन्दा बगैंचाको फूल कुखुराको फुलमा परिवर्तन भयो । चार अक्षरभन्दा बढीका समस्त शब्दलाई एउटै डिकोमा नलेख्ने भनियो । व्यञ्जनान्त दुई अक्षरी वा सोभन्दा बढी अक्षरका नामयोगीलाई पनि छुट्टै लेख्ने भनियो । त्यसैकारण अनुसार, अनुरूप, बमोजिम, बाहेक आदिलाई पदवियोग गर्न भनियो ।

त्यसमाथि पछिल्लो समयमा थोपरिएको संयुक्त अक्षरलाई खुट्टो काटेर लेख्नुपर्ने निर्णयले नेपाली भाषामा लेखपढ गर्ने शिक्षक, विद्यार्थी, लेखक, पत्रकार, कानुन व्यवसायी, प्रकाशक आदिलाई असर पर्न थालेको छ । नेपाली भाषासित जोडिएको सिंगो वाङ्मय र संस्कृतिमाथि नै यसले प्रहार गरेको छ । गर्न त यहाँ खुट्टो काट्ने निर्णय गरिएको हो तर यसले भाषाको शिर काट्दैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.