मोबाइल टावर निर्माणकार्य अलपत्र
सिन्धुलीः नेपाल टेलिकद्वारा सिन्धुलीमा निर्माणाधीन दर्जनौं टावर अलपत्र परेका छन् । दूरसञ्चार सेवा प्रदायक सरकारी संस्था टेलिकम र मोबाइल टावर निर्माण कम्पनीको लापरबाहीका कारण जिल्लाका दर्जनौं स्थानमा निर्माण हुन लागेका जीएसएम मोबाइल टावर दुई वर्षदेखि अलपत्र छन् ।
आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएका मोबाइल टावरको काम झन्डै तीन वर्ष बित्दासमेत सकिएको छैन । समयमा मोबाइल टावर निर्माण पूरा नहुँदा सेवाग्राही मारमा परिरहेका छन् ।
गत वर्ष भारतले गरेको नाकाबन्दी र तराई बन्दका कारण निर्माण कार्यमा ढिलाइ भएको भनिए पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । जिल्लाका २० स्थानमा निर्माणाधीन टावरमध्ये दुईवर्षमा पाँचवटाको मात्र का सकिएको छ भने १५ वटा अलपत्र अवस्थामा छन् । यस्ता टावर बनाउन एउटाकै एक करोड रुपैयाँ लागत छ ।
चिनियाँ कम्पनी हुवावेले २० स्थानमा टावर निर्माण गर्ने जिम्मा पाएको थियो । उक्त कम्पनीले दुई वर्षभित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माणमा लापरबाही गरिरहेको आरोप छ । टेलिकम सिन्धुलीले दिएको जानकारीअनुसार हरिहरपुरगढी, पिपलमाढी, क्यानेश्वर, कपिलाकोट, बस्तीपुर, डाँडीगुराँसे, महादेवस्थान, मझुवा, झारा, कुशेश्वर दुम्जा, खाङसाङ, भीमस्थान, लाम्पान्टार, रतनचुरा, तीनकन्या, अरुणठाकुर र कमलामाई नगरपालिकामा जीएसएम टावर निर्माण थालिएको थियो ।
नेपाल टेलिकमबाट प्रदान गरिने मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावकारी हुन नसक्दा सेवाग्राही निजी मोबाइल सेवा कम्पनी एनसेल र स्मार्ट मोबाइलतर्फ आकर्षित भएका छन् ।
झारा, कमलामाई नगरपालिकाका विभिन्न तीन स्थानका र भीमस्थानको टावर सञ्चालनमा आइसकेको टेलिकम सिन्धुलीका प्राविधिक नवराज कार्कीले बताए । उनले भने, ‘निर्माणाधीन अवस्थाका टावरको कार्य छिटो सुरु गर्न निर्माण कम्पनीलाई भनिएको छ । कार्यालयले पनि आवश्यक प्रक्रिया अघि बढाएको छ ।’ टावर निर्माण सम्पन्न भएपछि जीएसएम मोबाइल प्रयोगकर्ताले जिल्लाभरि जुनसुकै क्षेत्रमा सेवा प्रयोग गर्न सक्नेछन् ।
हाल जिल्लामा नगरपालिका क्षेत्रमा ६ र हर्षाही, दुधौली, हत्पते, भीमेश्वर, झारा, भीमस्थान र भद्रकालीमा सहित १३ वटा जीएसएम मोबाइल टावर सञ्चालनमा छन् भने मझुवा, हरिहरपुरगढी, झारा, खोलागाउँ, बेलघारी, ककुरठाकुर, महादेवस्थान गाविसमा स्काई मोबाइल टावर सञ्चालनमा छन् ।
नेपाल टेलिकम सिन्धुलीको असार मसान्तसम्मको तथ्यांकअनुसार जिल्लामा जीएसएम पोस्टपेड मोबाइल प्रयोगकर्ता पाँच सय ७६, प्रिपेड प्रयोगकर्ता ३५ हजार सात सय ९८, स्काई मोबाइलका पोस्टपेड प्रयोगकर्ता तीन सय ३६, प्रिपेडका १३ हजार चार सय ८४, सीडीएमएका पोस्टपेड प्रयोगकर्ता ९८, प्रिपेड प्रयोगकर्ता एक हजार नौ सय २२ र ल्यान्डलाइन प्रयोगकर्ता एक हजार तीन सय ६१ छनन् ।
त्यस्तै इन्टरनेट सेवा एडीएसएलका ग्राहक दुई सय ४७ र वाइम्याक्सका प्रयोगकर्ता ६६ जना छन् । जिल्लामा पछिल्लो समय नेपाल टेलिकमबाट प्रदान गरिने मोबाइल तथा इन्टरनेट सेवा प्रभावकारी हुन नसक्दा र ग्रामीण क्षेत्रमा समयमै मोबाइल टावर निर्माण कार्य हुन नसक्दा सेवाग्राही निजी मोबाइल सेवा कम्पनी एनसेल र स्मार्टको मोबाइल सेवातर्फ आकर्षित भएका छन् ।