तीज विकृति : रक्सी खाने र पोइल जाने !
हिन्दु महिलाको महान् पर्व तीज संघारमै आइपुगेको छ । भाद्र शुक्ल तृतीयाको दिनमा शिवको पूजाआराधना गरेर हरितालिका देवीको व्रत गरेर महिलाले तीज मनाउने गर्छन् । महान् सांस्कृतिक परम्पराअन्तर्गत तीज नेपाली नारीको महत्त्वपूर्ण चाड हो । जीवन जगत्का विविध आयामलाई गीतमार्फत व्यक्त गर्ने अभिव्यक्तिको सांस्कृतिक परम्पराको रूपमा तीज पर्व शिव उपासनाको महत्त्वपूर्ण पर्वको रूपमा नेपालमा परापूर्वकालदेखि मनाइँदै आएको देखिन्छ ।
महान् सांस्कृतिक परम्परा बोकेको तीज मनाउने प्रचलनमा दिनप्रतिदिन परिवर्तन आइरहेको छ । हुन त परिवर्तन विकासको एउटा महत्त्वपूर्ण खुड्किलो हो । बिना परिवर्तन विकास सम्भव छैन । त्यसैले विकासको समग्र परिभाषा पनि सकारात्मक परिवर्तन हो । परिवर्तन सकारात्मक कि नकारात्मक भन्ने कुरा नै मुख्य हो । विकास सकारात्मक परिवर्तन हो भनिएजस्तै हाम्रा सांस्कृतिक परम्परामा पनि परिवर्तन आउनुपर्छ तर ती परिवर्तनले सकारात्मक सन्देश अवश्य दिनुपर्छ । हैन भने परिवर्तनले विकृत र नराम्रा परिवर्तनलाई स्थापित गर्ने खतरा रहन्छ ।
यहाँ तीज मनाउने संस्कृति र परम्परामा आएका परिवर्तन र त्यसले आधुनिक समाजमा देखा पर्ने प्रभावका सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको छ । हिजोआज सहरबजार, गाउँघरमा अझै भनौं विदेशमा पनि तीज एक महत्त्वपूर्ण पर्वको रूपमा मनाइँदै आएको छ । तीज आउनुभन्दा लगभग एक महिना अघिदेखि यसको सांगीतिक माहोल तयार भइसकेको हुन्छ ।
लोकगायकका गीत सीडी र क्यासेट तयार गर्ने काम त अझै तीज आउनुभन्दा दुई तीन महिनाअगाडि नै सुरु हुन्छ । सामाजिक जनजीवनमा तीजले राम्ररी प्रभाव जमाएको देख्न सकिन्छ । पार्टी प्यालेस, घर, टोल र सडक तीजमय भएर देख्न पाइन्छ । दिदीबहिनीहरू महँगा पहिरन र गहनामा सजिएर दर खान हिँडने र डिस्कोमा जस्तै जथाभावी उफ्रिने प्रचलन हावी भएको छ ।
हिजोआज तीजमा गाइने मीठा, सामाजिक सन्देश बोकेका र गम्भीर लय तथा भाव भएका गीतहरू सुनिन छोडेका छन् । तीज महिलाको मात्र नभएर समावेशी बन्न थालेको छ । पुरुष साथीहरू महिला सँगसँगै कम्मर मर्काएर समावेशी नाचको झझल्को दिइरहेका हुन्छन् ।
तीजका गीतमा सुनिने गम्भीर भाव चेलीका अनुभूतिको मर्म, मीठो लय, आफूले प्रत्यक्ष भोगेका पीडाको अभिव्यक्ति र तिनै अनुभूतिलाई सिर्जनामा उनेर श्रोतालाई जीवनका सुखदुःख, हर्ष, विस्मात तथा आशा र निराशाको अभिव्यक्ति गर्ने एउटा सरल माध्यमलाई अहिले अलि हल्का र उत्ताउलो ढंगले प्रस्तुत गरिँदै आएका छन् । कति तीजका गीतहरू अब सांस्कृतिक, ऐतिहासिक, परम्पराको आँखाले हेर्नै नसकिने गरी विकृत भएका छन् ।
केटा र केटी अमर्यादित पाराले नाचिरहेका दृश्यहरूले टेलिभिजनका पर्दाहरू रंगिएका छन् । सामाजिक सञ्जालका भित्तामा महँगा गहना र महँगा भेषभूषालाई प्राथमिकता दिएर रंगिएका देखिन्छन् । दिन दैनिकीहरू तीज मनाउन र दर खाने प्रक्रियामा अत्यन्त व्यस्त बनेका छन् ।
तीजका गीतमा प्रकट हुने सांस्कृतिक परम्पराहरू, चेलीका मर्महरू, समाजको प्रचलनहरू आजभोलि अत्यन्त कम सुन्न र देख्न पाइन्छ । प्रविधिले अब तीजलाई चेलीको मर्म गीतमार्फत सुन्ने परम्पराबाट डिजिटल फड्को मारेर अभिनय हेर्न सकिने बनाएको छ । तीजको गीतमा गाइने 'पोइल जान पाम', 'यो केटी मैले ल्याउन पाम', 'यसपालिको तीजमा रक्सी खाइन्छ', जस्ता भड्किला थेगोहरूले तीजको गरिमालाई हलुका बनाएका छन् । तीजमा लगाइने भड्किला आभूषण, महँगा र धेरै झकिझकाउ परिधानहरूले तीज मध्यम र निम्नवर्गीय समाजमा बोझिलो पर्व बन्न पुगेको छ ।
आर्थिक हिसाबले पनि तीज झन् खर्चिलो र भड्किलो बन्दै गइरहेको छ । कहिले पार्टी प्यालेसको जमघट त कहिले नातेदारको घरमा दर खाने कार्यक्रमको होड चल्ने गरेको छ । यस्ता जमघट र तिनीहरूको खानपानमा हुने गरेको अनावश्यक र अनुपादक खर्चले समाज र राष्ट्रमा कुनै योगदान दिन सक्दैन । देखासिकी र खानपानमा गरिने फजुल खर्चलाई कुनै उत्पादनमूलक कार्य अथवा सानै भए पनि बचत प्रोत्साहन हुने कार्यमा लगानी गर्न सके पुँजी निर्माणका नयाँ आयामहरूलाई प्रोत्साहन पुग्ने थियो । त्यसलो आर्थिक उन्नतिका सम्भावनाहरू देखा पर्न सक्थे ।
भड्किला थेगोहरूले तीजको गरिमालाई हलुका बनाएका छन् । तीजमा लगाइने भड्किला आभूषण, महँगा र धेरै झकिझकाउ परिधानहरूले तीज मध्यम र निम्नवर्गीय समाजमा बोझिलो पर्व बन्न पुगेको छ ।
देखासिकी, भड्किलो फेसन, अस्वस्थकर खानपान आदिले एकातर्फ सामाजिक जनजीवनमा नकारात्मक प्रभाव पार्छन् भने अर्कोतर्फ फजुल खर्च र उपभोग्य प्रवृत्तिको विकासलाई सहयोग पुर्याइरहेको छ ।
समाजमा अझै पनि असमानता व्याप्त छ । लैंगिक असमानता, भाषिक असमानता, जातीय असमानता परिवर्तनको बाधक बनेर रहेका छन् । तीजजस्ता सांस्कृतिक परम्परा र चाडपर्वले कोसेढुंगा बनेर परिवर्तनको सम्बाहक बन्नुपर्ने हो । तर हामीले सांस्कृतिक चाडपर्वलाई त्यसरी उपयोग गर्न सकिरहेका छैनौं ।
तीजको गीतमा विभेदलाई मीठो लयमा प्रस्तुत गरिँदा
जस्तो दुःख दिन्छ्यौ बजै पराई सम्झी हामीलाई
त्यस्तै गरे कस्तो हुथ्यो तिम्री छोरीलाई,
दुःख पोख्ने ठाउँ नभएको अभिव्यक्ति गीतमा यसरी पोखिएको हुन्छ ।
चौपारीमा बसम् भने बरको हाँगो हरर
कहाँ गएर भनौ मैले मनको रहर
बाबासँग भनौ भने बाबा स्वर्गे हुनु भो
आमासँग भनौ भने पहिले रुनु भो
यस्ता मीठा सरल अनुभूतिहरू गीतका भाकामा पोख्ने र मधुर लयमा गाइने गीतहरू हिजोआज सुनिन छोडेका छन् । केही गायकगायिकाले गाएका महत्त्वपूर्ण भाव बोकेका र मीठो लय भएका गीन पनि छन् तर त्यस्ता गीतहरू भड्किला र चर्का गीतको बग्रेल्ती भीडबाट दूरबिन लगाएर खोज्नुपर्ने भएका छन् । मिडियामा उनीहरूको स्थान हुँदैन ।
समाजमा चाहना अनुरूपको परिवेश र चालचलनको विकास हुन्छ विश्वव्यापीकरणको आजको जमानामा परिवर्तनलाई नकार्न सकिँदैन । तर प्रतिस्पर्धामा सकारात्मक परिवर्तनलाई खरो उत्रन दिनुपर्छ । परिवर्तनको नकारात्मकतालाई छोड्दै जाने सकारात्मक परिवर्तनबाट नयाँ मार्गतर्फको यात्रालाई अगाडि बढाउनुपर्छ । हाम्रा महत्त्वपूर्ण सांस्कृतिक परम्परालाई सकारात्मक परिवर्तको सम्वाहक बनाउनु चेतनशील नागरिकको परम कर्तव्य हो ।