तीजका सांस्कृतिक चुनौती
मानव समाजको इतिहासदेखि नै मानव जीवन कुनै न कुनै सांस्कृतिक धरातलमा रहेको हुन्छ । चाडबाड, रीतिरिवाज, खानपान, रहनसहन, विवाह, व्रतबन्ध, लवाइ, धर्म इत्यादि वा मानव जीवनसँग सम्बन्धित कुनै पनि पक्षहरूका संगठित नाम संस्कृति हो । चाडपर्व सांस्कृतिक पाटो हो ।
सभ्यताअनुसार संस्कृति फरकफरक हुनु स्वाभाविक हुन्छ । समरियन, इजिप्ट, ग्रिस, रोम आदि सभ्यतादेखि नै चाडपर्व मनाउँदै आएको परम्परा भएजस्तै संसारकै पुरानो धर्म मानिने हिन्दु धर्मले पनि विभिन्न सांस्कृतिक गोरेटोमा विविध चाडपर्व अँगाल्दै आएको कुरा पौराणिक कथाहरू साक्षी छन् । जो सामाजिक सांस्कृतिक मान्यताको रूपमा स्थापित हुँदै आएका छन् । तिनै चाडपर्वमध्येको एक महत्त्वपूर्ण हिन्दू नारी पर्व हो हरितालिका तीज ।
पौराणिक कथा/मिथ
हिन्दु पौराणिक कथाअनुसार पर्वत राजा देवताकी छोरी परी पार्वतीको बिहेको लागि बुबा पर्वत राजाले देवता विष्णुसँग बिहे गरिदिने निधो गरे । जुन पार्वतीको इच्छाविपरीत थियो । उनीलाई मन परेको थिएन । यसको कारण पार्वतीले महादेव शंकरलाई पति बनाउने ठूलो इच्छा रहेछ । यसर्थ पार्वती विष्णुसँग बिहे गर्नुभन्दा आत्महत्या गर्न तयार भइन् । पार्वतीलाई साथीहरूले बचाउनका लागि एक गोप्य ठाँउमा लगेर लुकाए ।
बुवा पर्वतराज भने विवाहको बर्बादी र छोरी हराएको पीडाले शोकमग्न हुँदै जंगलजंगल डुले । पार्वती भने त्यही बनमा गोप्य रूपमा साथीहरूसँग बसेर भाद्र शुल्क तृतीयाका दिन व्रत उपवास गरी आफ्नो कामनाको अभीष्ट पूरा गरिन् किनकि बुवाले महादेव शंकरसँग बिहे गरेर छोरीको इच्छा पूरा गरिदिए ।
यसरी पार्वती (परी)ले भाद्र शुल्क तृतीयको दिन व्रत बसी लक्ष्य पूरा गरेको उपलक्ष्यमा खुसियालीका साथ भजन, कीर्तन र गीतसंगीतपूर्ण मनोरञ्जन गरिएको थियो । यही परम्परा हिन्दू महिलामा कायम रहँदै आएको छ । इतिहासदेखि वर्तमानसम्म आइपुग्दा यसको रूपमा भने निकै काँचुली फेरिएको छ ।
सकारात्मक पक्ष
यस्तो खालको व्रत उपवासको सकारात्मक पक्षलाई दुई ढंगले लिन सकिन्छ, वैज्ञानिक र मनोवैज्ञानिक । वैज्ञानिक पक्षमा मान्छे शारीरिक र मानसिक रूपमा स्वस्थ वा रोगमुक्त हुन सहयोग पुग्छ । बेलाबेलामा उपवास बस्नु शरीरको स्वास्थ्यमा राम्रो सुधार ल्याउँछ । मेडिटेसनपूर्वक उपबास बस्दा मानसिक स्वच्छता प्रदान गर्छ ।
मनोवैज्ञानिक रूपमा पर्ने प्रभावमा ध्यानपूर्वको परिश्रम गरेर धैर्यधारण गरी लगनशील भएमा खोजेको कुरा प्राप्त हुँदो रहेछ भन्ने हो । मानव जातिले गर्ने जुनसकै काममा पनि यस्तो तपस्या, त्याग र योगदानको खाँचो छ । त्यो पूरा भएमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मार्गनिर्देशनको रूपमा लिन सकिन्छ । देव शक्तिको भक्ति गर्ने पक्षले आफूलाई अनुशासनमा राख्न अर्को सकारात्मक भूमिका निर्वाह गर्छ ।
यसबाहेक तीज वर्षमा धूमधामका साथ एकपटक मनाइन्छ । यस अवसरमा हाम्रो समाजमा गरिब, धनी, सबैले मान्ने चलनअनुसार टाढाटाढा विवाह गरेर दिएको चेलीबेटीहरू जसरी पनि माइत ल्याउने र जाने गरिन्छ । यसले घरमाइतको सम्बन्धलाई पुनः रिन्यु गर्छ र सम्बन्ध झन् प्रगाढ बनाउँछ । मनका धुलोमैलो तथा मनमुटावलाई समेत पखाल्ने काम गर्छ । दुवै पक्षका नातागोताबीच विच्छेदित हुँदै गएको छ सम्बन्ध भने पनि तीजको भेटघाटले पुनर्जीवित गर्छ ।
सरसफाइ, नुहाइधुवाइ गरी राम्रा र चोखा कपडाले राम्रै प्रभाव पार्छ । एकआपसमा सहयोग, सद्भाव र सुमधुरता बढाउने काम सबै भेला भएर नाचगान गर्नु मीठोनमीठो भोजन गर्नुले गर्छ । वर्षभरिका मनमा दबिएको पीडा, मर्म, वेदना र दुःखका थुप्राहरू गीतसंगीतको माध्यमबाट प्रस्तुत हुने हुँदा मानसिक शान्तिमात्र होइन सिर्जनशीलता र मौलिकताको समेत विकास गर्न टेवा पर्याउँछ । मानव जीवनलाई काममात्रै होइन मनोरञ्जनको पनि उत्तिकै खाँचो छ, जो यसले पूरा गरिदिन्छ ।
तीजलाई चुनौती
जबजब समाज आधुनिकीकरणतर्फ गइरहेको हुन्छ, जतिजति विज्ञान र प्रविधिको विकासले नयाँनयाँ स्रोतसाधन र उपकरणको आविष्कार हुन्छ । त्यति नै बढी विकृति र विसंगति समानान्तर रूपमा हुर्कंदै र बढ्दै सँगसँगै गइरहेको हुन्छ । नारीको महान् चाड तीजलाई पनि विकृति र विसंगतिका शक्तिशाली तत्त्वहरूले चुनौती दिइरहेको पाइन्छ चाडपर्वहरू । हिजोअस्तिका पुस्ताले मनाउने तीज र आजको पुस्ताले मनाउने तीजका तौरतरिका, शैलीहरूमा आकाश जमिन फरक छन् ।
ठीक समयमा ठीक ढंगले मनाए पो त त्यो चाडबाडको मूल्यमान्यता हुने हो । महिनौं पहिलेदेखि यान्त्रिक ढंगले मनाउने गरिन्छ । आजका महिला बुझेरभन्दा पनि लहलहै र यान्त्रिक ढंगले व्रत बस्ने र पर्व मनाउने गरेका पाइन्छन् ।
तीजलगायतका चाडपर्वलाई पैसासँग गाँसिएको छ । सहरीकरण र औद्योगिकीकरणको विकासको प्रभाव सांस्कृतिक विनाशको रूपमा पर्दै गइरहेको छ । यहाँनिर जर्मन दार्शनिक र समाजशास्त्री थेअडर अडर्नो र म्याक्स हर्खिमरल संस्कृति अहिले औद्योगिकीकरणमा विकास भएको छ भन्ने भनाइ सान्दर्भिक लाग्छ । सांस्कृतिका सादा तत्त्वहरूमा औद्योगिकीकरण लागू भइसकेको छ । यसको मतलब मुनाफाको प्रयोजनले व्यापारिक चरित्र हावी भएको छ । बजारभाउ, मार्केटिङ, बिक्रीवितरण, विज्ञापन औद्योगिकीकरणका रूपमा छन् । त्यही भएको छ आजको तीज संस्कार ।
वास्तविक संस्कृतिअनुरूप मनका व्यथा, गाथा, वेदना, समाजका वास्तविक चित्रण, घर–माइतका परिवेशलाई नेपाली लोक संस्कारका बाजागाजाका साथमा गाउने गाउँबस्तीका भाकाहरू र मौलिकतालाई चटक्कै छाडेर कुसंस्कृतिका भण्डारण गरी भीडीओ र अडियो चक्काहरूका बासी गीत संगीतद्वारा नाचगान गरिने गरिन्छ । ठीक समयमा ठीक ढंगले मनाए पो त त्यो चाडबाडको मूल्यमान्यता हुने हो । महिनौं पहिलेदेखि यान्त्रिक ढंगले मनाउने गरिन्छ । आजका महिला बुझेर भन्दा पनि लहलहै र यान्त्रिक ढंगले व्रत बस्ने र पर्व मनाउने गरेका पाइन्छन् ।
गरगहना कुरीति
वास्तविकता नबुझी गहना आतंक नै चलेको छ । हुनेखानेले गरगहना प्रतिस्पर्धा गर्दा गरिब वर्गमा असाध्यै मनोवैज्ञानिक र आर्थिक असर परिरहेको छ । गरगहना, साडी लत्ताकपडादेखि हरेक सामानको विज्ञापन पहिल्यैदेखि हुने हुँदा त्यसको फाइदा उद्योगपति, साहुजी र सञ्चारमाध्यमले लिइरहेको अवस्था छ । आत्मानुशासन र संस्कृति मूल्यमान्यता तथा परम्पराको दायराभन्दा अगाडि भड्किलो, देखावटी, तडकभडक र अनुशासनहीन ढंगले सांस्कृतिक विलुप्तिको रूपमा अगाडि बढिरहेको छ ।
आध्यात्मिक आलोकले भन्दा भौतिक अभीष्टको खातिर पर्व बनाइएको छ । आफ्नो ओरिजिनालिटीबाट भागेर डुब्लिकेट संसारमा भासिएको छ तीज । सक्दो कस्मेटिक प्रयोग नै तीजको सफलता, मान्न थालिएको छ । यस्तै विकृति र विसंगतिको थुप्रो लाग्दै जाँदा महिलाको तीज पुरुषको जस्तो हुन पुगेको छ ।
महिला दिदीबहिनी आमा भाउजूहरूले मनाउने तीज आज तथानामका कलाकारहरूले मनाइदिएका छन् । सञ्चार मिडियाले मनाइदिएको छ । विज्ञापन एजेन्सीहरूले मनाइदिएको छ । हुँदाहुँदै उद्योग र सामानका कारखानाहरूबाट निर्देशित हुँदै गइरहेको छ । तीज भित्री रूपलाई लुकाएर बाह्य खोक्रो कुरूप प्रदर्शन र प्रस्तुत गर्ने पर्वमा रूपान्तरित भएको छ ।
पुख्र्यौली तीज होइन आयातीत तीज मनाइएको छ । हिन्दु संस्कृतिमात्र होइन पाश्चात्य संस्कृतिको ठिमाहा भएको छ तीज ।