पुरस्कारको मापदण्ड
संयुक्त राष्ट्रसंघले सन् १९८५ (विसं २०४२) लाई अन्तर्राष्ट्रिय युवावर्षको रूपमा मनाउन सबै देशलाई आह्वान गरेको थियो । सोही आह्वानअन्तर्गत नेपालमा तत्कालीन राजा वीरेन्द्र शाहले अधिराजकुमार धीरेन्द्र शाहको अध्यक्षतामा २५ सदस्यीय अन्तर्राष्ट्रिय युवावर्ष राष्ट्रिय समिति नेपाल गठन गरे । धीरेन्द्र नेतृत्वको समितिले विभिन्न २२ कार्यक्रम सञ्चालन गरेको थियो ।
तिनै २२ कायक्रममध्ये राष्ट्रिय युवासेवा कोषको स्थापना एक हो । यो कोषले अगाडि सारेका विभिन्न कायक्रममध्ये 'युवावर्ष मोती पुरस्कार' एउटा कार्यक्रम हो । राष्ट्रिय युवासेवा कोष २०४२ साल माघ १६ गते विधिवत् स्थापना भयो । यसका संस्थापक अध्यक्ष तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह हुन् भने सदस्यसचिव कमल थापा र कोषाध्यक्ष भीमबहादुर अधिकारी हुन् । धीरेन्द्रले कोषको नेतृत्व स्थापनाको चार वर्ष गरे । २०४७ सालदेखि भने कोषको नेतृत्व प्रशासक भीमबहादुर अधिकारीले गर्दै आएका छन् ।
कोषले युवावर्ष मोती पुरस्कारसँगै उत्कृष्ट युवा पुरस्कार, उद्यमी महिला युवा पुरस्कार, नारायणगोपाल युवा संगीत पुरस्कार, अरनिको युवाकला पुरस्कार, वन संरक्षण युवा पुरस्कार प्रदान गर्दै आएको छ । यस अतिरिक्त विशेष सम्मानसँगै थुप्रै पुरस्कार रहेका छन् ।
प्रेरणा मोतीराम भट्ट
युवावर्ष मोती पुरस्कार मोतीराम भट्टको सम्मानमा स्थापना भएको हो । तीन दशकमात्र बाँचेका मोतीरामले आदिकवि भानुभक्त आचार्यलाई चिनाउन गरेको योगदानको सम्मानस्वरूप मोती पुरस्कार वितरण हुँदै आएको छ । पुरस्कार स्थापना भएको ३१औं वर्ष पूरा भएको छ ।
३१ वर्षमा ५८ जना कविलाई पुरस्कार दिने घोषणा गरिएको भए पनि ०४८ मा किशोर पहाडी र ०६३ मा रामप्रसाद ज्ञवालीले अस्वीकार गरेकाले ५६ जना साहित्यकारले मात्र पुरस्कार ग्रहण गरेका छन् । १० हजार नगदबाट सुरु भएको पुरस्कारको राशि तीन दशकमा ५० हजार पुगेको छ । मोती पुरस्कारबाट पुरस्कृत साहित्यकार नेपाली साहित्यको श्रीवृद्धिमा जीवनभर लागेको देखिन्छ ।
पुरस्कृत साहित्यकार
मोती पुरस्कार पहिलोपटक ०४२ सालमा साहित्यकार दैवज्ञराज न्यौपाने (भोजपुर)लाई प्रदान गरिएको थियो । ०४३ सरुभक्त (कास्की) र ४४ मा विश्वविमोहन श्रेष्ठ (तेह्रथुम)लाई एकल रूपमा प्रदान गरिएको पुरस्कार ०४५ मा भने अशेष मल्ल (धनकुटा) र काजी रोशन (बागलुङ)लाई संयुक्त रूपमा प्रदान गरियो । ०४६ मा विष्णुविभू घिमिरे (इलाम) र ०४७ मा डा. भूपहरि पौडेल (रामेछाप)लाई प्रदान गरियो ।
०४८ सालमा किशोर पहाडी (काठमाडौं)ले अस्वीकार गरेपछि नरेन्द्रराज प्रसाईं (ताप्लेजुङ)लाई मात्र प्रदान गरियो । २०४९ सालमा दिनेश अधिकारी (सर्लाही) र शिव अधिकारी (धादिङ)लाई संयुक्त रूपमा दिइएको पुरस्कार ०५० सालमा फणीन्द्र नेपाल (संखुवासभा) लाई एकल रूपमा दिइयो ।
इतिहास रच्दै ०५१ सालको मोती पुरस्कार भने महेश र इन्दिरा प्रसाईं (मोरङ)दम्पतीले पाए । ०५२ सालमा डिल्लीराम मिश्र (तनहुँ) र विजय बजिमय (कास्की) लाई प्रदान गरिएको पुरस्कार ०५३ मा श्रीहरि फुयाँल (नुवाकोट) र अविनाश श्रेष्ठ (पर्वत)ले प्राप्त गरे । ०५४ सालमा गोविन्द गिरी 'प्रेरणा' (मकवानपुर) र प्रमोद प्रदान (मोरङ) लाई प्रदान गरिएको पुरस्कार ०५५ मा नकुल सिलवाल (सिन्धुपाल्चोक) र जीवन धमला (ओखलढुंगा)ले संयुक्त रूपमा पाए भने ०५६ मा कृष्ण धरावासी (पाँचथर) र तीर्थ श्रेष्ठ (कास्की) लाई प्रदान गरियो ।
दुवसु क्षेत्री (झापा) र श्रीओम श्रेष्ठ 'रोदन' (ललितपुर) लाई २०५७ सालमा प्रदान गरिएको पुरस्कार २०५८ मा रमेश श्रेष्ठ (कास्की) र इन्द्रकुमार श्रेष्ठ 'सरित' (सुनसरी) ले प्राप्त गरे भने २०५९ मा डा. खुमनारायण पौडेल (चितवन) र विमल भौकाजी (रामेछाप) पुरस्कृत भए । ०६० मा श्रवण मुकारुङ (भोजपुर) र लालगोपाल सुवेदी (स्याङ्जा) पुरस्कृत भए भने ०६१ मा विप्लव ढकाल (भोजपुर) र युवराज नयाँघरे (इलाम) संयुक्त रूपमा सम्मानित भए ।
त्यसैगरी ०६२ मा अमोददेव भट्टराई (ललितपुर) र भीष्म उप्रेती (झापा)लाई प्रदान गरियो भने ०६३ मा रामप्रसाद ज्ञवाली (गुल्मी)ले अस्वीकार गरेपछि मोमिला जोशी (धनकुटा)लाई मात्र सम्मान गरियो । २०६४ मा रोशन थापा 'नीरव' (काठमाडौं) र रामेश्वर राउत 'मातृदास' (सिन्धुपाल्चोक), ३०६५ मा गोवद्र्धन पूजा (चितवन) र बुनु लामिछाने (दाङ), ०६६ मा कृसु क्षेत्री (झापा) र आरएम डंगोल (नुवाकोट) सम्मानित भए ।
०६७ मा देवी नेपाल (झापा) र डा. रवीन्द्र पाण्डे 'समीर' (गुल्मी), २०६८ मा नुवाकोटका मणि लोहनी र व्याकुल पाठक सम्मानित भए भने २०६९ मा कृष्ण साह 'यात्री' (उदयपुर) र ठाकुर बेलबासे (अर्घाखाँची) सम्मानित भए ।
त्यसैगरी ०७०मा अनन्तप्रसाद वाग्ले (काभ्रे) र पुष्करराज भट्ट (बैतडी), ०७१ मा रत्नमणि नेपाल (भोजपुर) र शशी थापा पण्डित (भक्तपुर)ले पुरस्कार पाए भने ०७२ मा निमेष निखिल (सिन्धुली) र सूर्यप्रसाद लाकोजू (काभ्रे) संयुक्त रूपमा सम्मानित भए ।
यस वर्ष (२०७३)को युवावर्ष मोती पुरस्कार रमेश शुभेच्छु (पाँचथर) र गोविन्द नेपाली सार्की (जुम्ला)लाई राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५१औं जयन्तीको अवसरमा बिहीबार प्रदान गरिएको छ । राष्ट्रिय युवा कोषले वितरण गर्ने यो पुरस्कारले प्रत्यके वर्ष दर्जनौं युवा साहित्यकारको ध्यान खिच्ने गर्छ । ४० वर्ष नकटेको हुनुपर्ने मापदण्डले युवा साहित्यकारमा यसको विशेष आकर्षण देखिन्छ । मोती पुरस्कारमा संयुक्त ५० हजार नगद स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिन्छ ।
पुरस्कारको मापदण्ड
युवा वर्ष मोती पुरस्कारको पहिलो मापदण्ड लेखक, साहित्यकार हुनुपर्छ । ४० वर्ष ननाघेका युवा सहित्यकारलाई पुरस्कार दिनु कोषको अर्को मापदण्ड हो । प्रारम्भमा एकल रूपमा दिन थालिएको पुरस्कार पछिल्ला दिनमा दुई जनालाई दिइन्छ । मोती पुरस्कार पाएका साहित्यकारले नेपाली साहित्यमा विशेष पहिचान बनाएको कोषका अध्यक्ष भीमबहादुर अधिकारीको भनाइ छ ।
यो मोती पुरस्कार व्यापारिक मानसिकताका लेखकलाई भन्दा पनि बढी लेख्ने तर व्यापार र विज्ञापनको वास्ता नगर्ने साहित्यकारलाई दिएको देखिन्छ । एक वा दुई कृति प्रकाशनमा ल्याएर युवा पाठकलाई तान्न आकर्षक विज्ञापनसहित बजारमा प्रचार गर्दै हिँडेका साहित्यकार मोती पुरस्कारको मापदण्डमा समेटिएका छैनन् ।
कसैलाई छनोट गरेर गल्ती गरियो जस्तो कहिल्यै भएन भन्ने प्रश्नमा कोषका अध्यक्ष अधिकारी भन्छन्, 'छनोटमा हाम्रो संलग्नता हुँदैन तर आजसम्म त्यस्तो परेको छैन । राम्रा मान्छे छानिएछ भन्ने लाग्छ ।'
पुरस्कारका लागि सरकारको सहयोग प्राप्त भए लिने तर विदेशी सहयोग नलिने प्रावधान भएको कोषका कार्यालय सचिव भरत राई बताउँछन् । कोषले युवा परिषद्सँग सहकार्य गरेर अघि बढ्ने तयारी गरिरहेको राईले सुनाए । दुई दशक भाडाको भवनमा रहेको कोष २०६२ सालबाट निजी भवनमा छ । बबलमहलमा चारतले आफ्नै 'मोती' भवनमा रहेको कोष आर्थिक रूपमा सबल देखिन्छ ।